
नेपाली काँग्रेस पार्टीको नायकत्वमा इतिहासकै सर्वाधिक महत्व राख्ने “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान-२०७२” को सफल कार्यान्वयनका लागि आवश्यक विभिन्न तहको निर्वाचन अनेकौं अप्ठ्यारा चुनौतिका बावजूद, निष्पक्ष, शान्तिपूर्ण र धाँधली रहित ढंगले सम्पन्न भएको छ । यो निर्वाचन सकिनुसंगै मुलुकलाई स्थायी शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गराएर नेपाली कांग्रेसको नेतृत्वको सरकारले लामो संक्रमणकालको अन्त्य गर्दै, नेपाली जनताको आंकाक्षा पुरा गरेको गौरवको क्षण छ ।त्यसैले यो वेलामा निर्वाचन पछि स्थापित भएका उपलब्धिहरूलाई संस्थागत गर्नका लागि नयाँ सरकारले सार्थक नेतृत्व गर्नसकोस भन्ने हाम्रो सदैव शुभ-कामना छ।
तर, नयाँ गठन भएको सरकारले प्रारम्भिक चरणमा नै अघिल्लो सरकारले गरेका निर्णयहरूलाई खारेज गराउँने उदेश्यका साथ प्रस्तुत हुनुले नेपाली राजनीतिलाई एकता र हार्दिकतापूर्वक अघि बढाउन नचाँहेको कुरा प्रष्ट देखिन्छ।खासगरी, राष्ट्रिय सभाको ३ सदस्यको मनोनयनका लागि तत्कालिन देउवा सरकारले गरेको सिफारिसलाई संविधानको धारा ६६ को उपधारा २ ले गरेको प्रष्ट व्यवस्था अनुरूप सम्माननीय राष्ट्रपतिले स्वीकृत गर्नु पर्नेमा, नगरी नयाँ सरकारले गरेको सिफारिसलाई तत्काल अनुमोदन गर्नाले गरिमामय संविधानको सम्माननीय राष्ट्रपति द्वारा नै उल्लंघन भएको ठहर नेपाली जनसम्पर्क समिति अमेरिकाको छ ।
आलङकारिक भूमिकामा संविधानको संरक्षक भएर तटस्थ रहनु पर्ने पदलाई, विवादित र राजनीतिककरण गरी महामहिम राष्ट्रपतिले भिन्न-भिन्न सरकारलाई हेर्ने फरक दृष्टिकोण बनाएर सकृय बन्न खोजेको प्रति नेपाली जनसम्पर्क समिति अमेरिका खेद प्रकट गर्दछ ।
त्यसकारण हजारौको वलिदान र लामो संघर्षबाट निर्माण भएको संविधानको मूल मर्म र भावना विपरित गरिएको निर्णयलाई पुन: विचार गर्न सम्माननीय राष्ट्रपति ज्यूलाई नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक अनुरोध गर्दछ । अन्यथा वाध्य भएर लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षार्थ यस्ता असंवैधानिक र अलोकतान्त्रिक गलत निर्णयहरूको बिरोधमा दवाव सृजना गर्न लोकतन्त्रको उर्वर भूमि अमेरिकाबाटै अन्तराष्ट्रिय स्थरमा नेपाली जनसम्पर्क समिति अमेरिकले आवाज वुलन्द गर्नेछ।
धन्यवाद , जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समितिअमेरिका
No comments:
Post a Comment