Saturday, February 3, 2018

विरुवाको संरक्षण गर्ने सन्देश दिँदै पूर्वमन्त्री साहले गरे गोडमेल

सञ्जय मित्र, रौतहट
सडक तथा सार्वजनिक स्थानमा लगाइएको विरुवाको सबैले संरक्षण गर्नुपर्ने सन्देश दिन साँसद एवं पूर्वमन्त्री प्रभु साहले सडक किनारमा लगाइएको विरुवाको संरक्षणको पहल शनिवार थालेका छन् । गृहनगर मौलापुर नगरपालिकाको सडकको दुवै किनारमा गत वर्ष आफ्नै पहलमा लगाइएको विरुवाको झार उखेल्ने, गोलमेल गर्ने र विरुवामा पानी हाल्ने काम साँसद साह आफैँले गरेका छन् । सडकको किनारमा लगाइएका विरुवाहरुको रेखदेख कोही नभएको भन्दै आफूले अग्रसरता लिएर आफ्नो जस्तै माया गर्दा नगरलाई हरियालीयुक्त बनाउन सकिने साहले बताएका छन् । नगरलाई वातावरणमैत्री बनाउन हरेक घरमा अनिवार्य रुपमा कम्तीमा दुइटा विरुवा रोप्नुपर्ने बताएका छन् ।

साँसद साहले नगरपालिकाको वडा नम्बर ५ को मौलापुर र पतौरा गरी दुई गाउँका हरेक घरपरिवारलाई काम लाग्ने दुई विरुवाको दरले वितरण गरेको र सबैले माया गरेर राखेको सुनिएकोले अनुगमनपछि नगरपालिकाभर विरुवा रोप्ने अभियान सञ्चालन गरिने बताएका छन् । गत वर्ष जिल्ला प्रशासन कार्यालयको अगुवाईमा करिब ८८ लाखको लागतमा गौरदेखि चन्द्रपुरसम्म मूल राजमार्गको दुवैतिर ४२ किलोमिटर विभिन्न जातको विरुवा रोपिएकोमा ९० प्रतिशतभन्दा बढी रेखदेखको अभावमा सुकेकोमा चिन्ता व्यक्त गर्दै साँसद साहले बिरुवा संरक्षणमा हरेकले स्वामित्व लिनुपर्ने वातावरण बनाउनु आवश्यक रहेको बताएका छन् ।
यसै गरी मौलापुरका व्यावसायीहरुको छलफललाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले आफ्नो व्यवसायलाई नगरपालिकामा दर्ता गराउन र व्यवसायलाई पहिचान बनाउन आग्रह गरेका छन् ।

नक्कली सामान नबेच्न र ग्राहकसित बढी मूल्य लिएर नठग्न आग्रह गर्दै साँसद साहले मौलापुर बजारलाई मौलिक पहिचान र असली तथा सफा सामानको बजारको रुपमा स्थापित गर्न सकेका सबै व्यापारीलाई फाइदा पुग्ने बताए । साँसद सहले बेपारको नाउँमा ठगी गर्नेको दिन सकिएको बताउँदै कस्तो किसिमको तालिम, प्रशिक्षण तथा भ्रमण र पूँजीको आवश्यकता रहेको छ भन्ने विषयमा नगरपालिकासित समन्वय गर्न पनि जानकारी गराएका छन् ।

मौलापुरको व्यावसायीहरुको क्षमता अभिवृद्धिका लागि ३० लाख रुपैया विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले बताएका छन् । कार्यक्रममा नगरप्रमुख कविता साह, उपप्रमुख गौरीशंकर साह, स्थानीय उद्योग वाणिज्य संघको अध्यक्ष, नगरका अन्य पदाधिकारी तथा व्यावसायीहरुको सहभागिता रहेको थियो । अधिकांश व्यावसायीले मौलापुर बजारलाई स्मार्ट सिटीको अवधारणालाई सहयोग पुग्ने किसिमले व्यवसाय गर्न आफू तयार रहेको तर नगरपालिकाले सहयोग गर्नुपर्ने बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...