Monday, March 19, 2018

‘म सेवक हुँ’ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ, ५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको आज उद्घाटन गर्नुभयो ।

चीन सरकारको रु तीन अर्ब ६० करोडको सहयोगमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा निर्मित सो प्रशिक्षण प्रतिष्ठान तीन सय १८ रोपनी क्षेत्रफमा फैलिएको छ ।

नेपाल र चीन सरकारबीच २०७१ मङ्सिर २६ गते निर्माणसम्बन्धी सम्झौता भई तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा विसं २०७१ पुस ११ गते प्रतिष्ठानको शिलान्यास गर्नुभएको थियो ।

निर्माण ठेक्का पाएको चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले विसं २०७२ वैशाख ३ गतेदेखि प्रतिष्ठानको निर्माण कार्य शुरु गरिएको थियो ।

प्रतिष्ठानमा मुख्य शैक्षिक भवन, सभाकक्ष, कभर्ड हल, फुटबल मैदान, स्किमिङ पुल, जिम हल, हेलिप्याड, बास्केटबल कोर्ट, प्रशिक्षक तथा प्रशिक्षार्थी भवनलगायत संरचना छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायको तालीम तथा प्रशिक्षणका लागि यो प्रतिष्ठानले महत्वपूर्ण भुीमका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतिष्ठान २४ महिनामै निर्माण सम्पन्न हुनु खुशीको कुरा भएको उल्लेख गर्दै उहाँले यसले अन्य संरचनाहरु समेत इच्छाशक्ति भएमा समयमै निर्माण सम्पन्न गर्न सम्भव रहेको पुष्टि गरेको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको पीरमर्कालाई केन्द्रमा राखेर ‘म सेवक हुँ’ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्ने बताउँदै सुरक्षा निकायले विपद्का बेला ज्यानको पर्वाह नगरी परोपकारी भूमिकामा गरेको कार्य निकै प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भवन परिसरको अधिकतम उपयोग गरी विज्ञ उत्पादनमा उक्त प्रशिक्षण प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानलाई सशस्त्र प्रहरी बलका मात्रै नभई अन्य सुरक्षा निकाय तथा विदेशी अधिकृतलाई समेत विशिष्टिकृत तालीम प्रदान गर्न सक्ने गरी केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं प्रतिष्ठानको संरचना विश्व उत्कृष्ट सैन्य तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानभन्दा कम नभएकाले यसलाई उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत यु होङले नेपालमा आएको भूकम्पले प्रतिष्ठान निर्माणमा असहजता निम्ताएपनि तोकिएको समयावधि अगावै प्रतिष्ठान निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचनाहरु निर्माणमा भूमिका निर्वाह गरेको भन्दै चाइना रेलवे चौधौँ ब्यूरो ग्रुप कर्पोरेसन लिमिटेडका महाप्रबन्धक ज्याङ्ग जिन जुङ्गलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...