Thursday, March 29, 2018

विदेशमै तीन छोरा गुमाउन पर्दा रोका परिवारमा बज्रपात

– कमल खत्री 

म्याग्दी, १५ चैत । वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन् । तर, यहाँका एक परिवारको भने वैदेशिक रोजगारीले सन्तान, सम्पत्ति र सहारा सबै खोसिदिएको छ ।

जिल्लाको मालिका गाउँपालिका–२ बेली, रुमका धन बहादुर रोका र लिलमती रोकाको परिवार वैदेशिक रोजगारीबाट ठूलो बज्रपात खेप्न बाध्य भएका हुन् । रोका दम्पतीका तीन छोराले वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गुमाउनुपरेको छ । सुन्दा नै मन थाम्न गाह्रो हुने गरी ‘एकै परिवारका तीन सन्तानको प्रवासमा निधन’ भएपछि यतिबेला रोका दम्पती सन्तान, सहारा र सम्पत्तिविहीन बनेका छन् ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका रोका दम्पतीका कान्छो छोरो धर्मलालको यही चैत १० गते राति निधन भएको हो । साढे चार वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ वर्षीय धर्मलाल कुर्चीमै मृत अवस्थामा फेला परेका थिए । यसअघि रोका परिवारका माइला छोरो भक्त बहादुर रोकाको समेत रोजगारीको सिलसिलामै करीव १२ वर्ष अगाडि कतारमा ज्यान गएको थियो । उनको निधन भएको १८ महिनापछि फेरि जेठा छोरो तम बहादुर रोकाको मलेसियामा ज्यान गयो ।

वैदेशिक रोजगारीकै क्रममा तीन छोरा गुमेपछि रोका दम्पती बिक्षिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ । आफूहरुको सहारा बनेर बिरामी पर्दा उपचार र घरखर्च प्रवासमा रोजगारी गरी जुटाउँदै आएका कान्छो छोरो धर्मलालको समेत विदेशमै मृत्यु भएको खबरले ६५ वर्षीया आमा लिलमती र ६९ वर्षीय बुबा धन बहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन् ।

जेठा र माइला छोरा गुमाएको पीडालाई केही हदसम्म लुकाउन सक्ने भएको अवस्थामा फेरि कान्छो छोरो पनि गुमेपछि रोका दम्पती विचलित बनेको र बाँकी जीवनसमेत अनिश्चिततातर्फ धकेलिएको स्थानीय राष्ट्रिय मावि रुमका शिक्षक कृष्ण पुनले बताउनुभयो ।

“यस्तो विडम्बना कसैलाई पनि आई नपरोस्, सम्पत्ति कमाउन गएको सन्तान नै गुमेपछि उनीहरुको परिवार यतिबेला दयनीय अवस्थामा छन्, काम गरेर खान सक्ने अवस्थामा नरहेका रोका दम्पतीको जीविकोपार्जनका लागि सहयोगको खाँचो छ” – शिक्षक पुनले भन्नुभयो । सामान्य कृषि खेती गरी जीविकोपार्जन गर्दैआएका रोका दम्पती जीवनको उत्तरार्धमा सन्तान वियोगको पीडा भोग्न विवश छन् । रोका दम्पतीका चार भाइ छोरामध्ये तीन जनाले रोजगारीकै क्रममा प्रवासमै ज्यान गुमाएका छन् । साइँला छोरो थमबहादुर रोका पनि हालै रोजगारीकै क्रममा मलेसियाबाट फर्किएर आएका हुन् ।

आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर आएका थमबहादुर भाइ गुमेको पीडाले विक्षिप्त छन् । “दुई दाइको पहिल्यै दुःखद निधन भएको थियो, भाइ र मैले जेनतेन घरलाई सम्हालेका थियौँ, अहिले फेरि भाइको पनि अकल्पनीय मृत्यु भयो” – थमबहादुरले भन्नुभयो । आफू फर्कने बेलामा भाइलाई भेट गरेको क्षण सम्झँदै उहाँले भन्नुभयो – “दशैँमा आएर घरजम गर्छु भन्थ्यो । अहिले यस्तो खबर सुन्नु प¥यो ।” वृद्धावस्थामा पुगेका बुबाआमाको स्वास्थ्य अवस्था समेत कमजोर छ ।

पक्षाघातको समस्याबाट पीडित घरमूली धनबहादुरलाई नियमित औषधि सेवन गर्नुपर्छ । धनबहादुरमा नौ वर्षदेखि हातखुट्टा झम्झमाउने समस्या देखिएपछि औषधोपचारबाट सामान्य हिँड्डुल मात्रै गर्नसक्ने आफन्त रामु पुनले बताउनुभयो । “यो परिवारले चौतर्फी रुपमा विपद्को सामना गर्नुपरेको छ, उनीहरुलाई आइपरेको विपत्ति टार्न त सकिँदैन, तैपनि केही सहयोग गरे दुःख बाँड्न सकिन्छ, सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्छु” – उहाँले भन्नुभयो ।

घरमा रहेका एक छोरोको आर्थिक अवस्था समेत नाजुक रहेकाले तत्काल वृद्ध बुबाआमाको नियमित स्वास्थ्य उपचारको खर्च जुटाउन समेत समस्या छ । रोका परिवारलाई सक्दो सहयोग गर्न उहाँले सबै मनकारी नेपालीहरुलाई आग्रह गर्नुभयो । मलेसियाबाट आफन्त र इष्टमित्रको सहयोगमा भाइको शव गाउँ ल्याइपु¥याइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...