Sunday, March 18, 2018

जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गरिन्छ : मन्त्री महासेठ

काठमाडौँ, ४ चैत : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चुनाव अगाडि जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ ।

रिपोर्टस क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा साझा घोषणापत्रमा उल्लेख गरिएका सबै लक्षित योजना सम्पन्न गरेरै छाड्ने बताउनुभयो ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले पाँच वर्षभित्रमा काठमाडौँमा रेलमार्ग निर्माण हुने दाबी गर्नुभयो ।

मन्त्री महासेठले केही दिनभित्र नै काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाडौँ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि आवश्यक योजना बनाइने जानकारी गराउनुभयो ।

अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको बताउँदै स्रोत व्यवस्थापन गरी मुलुकमा भएका साधन र स्रोतलाई अधिकतम् परिचालन गरिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यसअघि ओली सरकाले पहिचान गरेका खनिज तथा खानी उत्खनन गरिने छ, एउटा खानी उत्खनन गर्न सकेमा करिब ५० वर्षलाई पुग्छ । हामीले नसकेको काम बाहिरको सहयोग लिएर गर्न सक्छौँ ।”

मन्त्री महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमा आफूले विज्ञसँग सुझाव लिएर उचित निर्णय गर्ने बताउँदैे उहाँले भन्नुभयो, “२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा सरकार गम्भीर छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...