Saturday, April 21, 2018

जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण

काठमाडौँ, ८ वैशाख : रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ ।

पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गएिको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “अबको केही दिनभित्रै पुनःनिर्माणका क्रममा प्रयोग भएको सबै निर्माणका सामग्री हटाइने छ र आगामी जेठ १ गतेदेखि निर्माणको काम शुरु गर्ने गरी कामपाका पदाधिकारीबीच छलफल भइसकेको छ ।”

परम्परागत शैली मासिएको भनी गुनासो आएपछि गोरखा भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको थियो । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करीब तीन महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको थियो ।

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपा प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीच भएको छलफलले आधुनिक निर्माणका सामग्री हटाउने निर्णय गरेको थियो । मन्त्री अधिकारीले सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबैलाई सहयोगीरुपमा रहन आग्रह गर्नुभएको छ ।

कामपाका प्रमुख शाक्यले भन्नुभयो, “आफ्नो उद्देश्य सम्पदाको संरक्षण गर्ने हो, मापदण्डका विषयमा कुरा गरौँ, सहमति गरौँ, एउटै मापदण्डका आधारमा पुनःनिर्माण गर्नुपर्छ ।” यसअघि कामपाले विज्ञको सल्लाहअनुरुप पुनःनिर्माण गरिनुपर्ने बताउँदै आएको थियो । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गर्दै गरेको भए पनि अन्य सबै काम कामपाको जिम्मामा आएको छ । करीब ४०० वर्ष पुरानो ऐतिहासिक रानीपोखरी विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण क्षति भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...