Friday, April 27, 2018

आर्थिक समृद्धिको आधार साना तथा घरेलु उद्योग: अध्यक्ष दाहाल

काठमाडौँ, १४ वैशाख: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको आधार तयार पार्न घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै लगानीको विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

साना तथा घरेलु उद्योग महासंघले आज यहाँ आयोजना गरेको ‘१४ औँ नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव २०७५’ को उद्घाटन गर्नुहुँदै उहाँले कृषिमा आधारित साना तथा घरेलु उद्योगमा लगानी बढाउन सकेमात्रै समृद्ध एवं आत्मनिर्भर अर्थतन्त्रको विकास हुनसक्ने बताउनुभयो ।

“धेरै लामो समयपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त भएको छ । राजनीतिक स्थायित्वका लागि पनि आर्थिक समृद्धि र विकास गर्नै पर्दछ । अब कुनै पनि बहानामा छुट पाइने र दिन मिल्ने अवस्था छैन । कृषिमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिइनु पर्दछ”, अध्यक्ष दाहालले भन्नुभयो ।

रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न पनि गाउँपालिका तहमा नै घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने र त्यसलाई क्रमशः व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली उत्पादनलाई नै बढावा दिन र प्रयोग गर्ने वातावरण बनाउन हामी सबै लाग्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “व्यापार घाटा बढिरहेको छ । त्यसलाई कम गर्न पनि नेपाली उत्पादनको प्रयोग गर्नु पर्दछ । सानो प्रयासबाट ठूलो प्रतिफल हासिल हुन सक्छ । यो नैतिक विषय पनि हो ।”

चार दिनसम्म चल्ने उक्त महोत्सवमा १८७ कक्ष रहेका छन् । ‘मेहिनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा रु १० करोडको कारोबार र एक लाख ५० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महासंघका अनुसार हाल मुलुकभर तीन लाख ४८ हजार ८७० घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ३३ हजार ५९२ उद्योग सञ्चालनमा रहेका छन् ।

मुलुकको ठूलो युवा जनशक्ति खाडीलगायतका मुलुकमा रोजगारीका लागि गएका कारण जनशक्तिको अभाव रहेको छ । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले साना तथा घरेलु उद्योगको विकासमा सरकारले सामान्य प्रयास मात्रै गरिए त्यसबाट ठूलो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...