Tuesday, May 1, 2018

रानीपोखरीको कङ्क्रिट हटाइउन रु १६ लाख

काठमाडौँ, १८ वैशाख : रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ ।

परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “अबको एक हप्तामा हटाइने आधुनिक निर्माण सामग्रीका लागि बोलपत्र आह्वान गरिने छ, ढिलोमा आगामी जेठ १५ गतेबाटै पुनःनिर्माणको काम शुरु हुन्छ ।”

परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करीब चार महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको छ । गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीचको छलफलले उक्त निर्णय गरेको थियो ।

अहिले पोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गरिरहेको छ भने पोखरीको छेउछाउमा निर्माण गरिएको पर्खाल कामपाले गरेको थियो । हालसम्मको पुनःनिर्माणका क्रममा रु दुई करोड ३० लाख खर्च भएको छ ।

भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब रु सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिनुभयो । विसं २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण शुरु गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...