विराटनगर, जेठ ११ गते । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे)ले जिल्ला अदालत मोरङमा १६ पृष्ठ लामो बयान दिएका छन् ।
यही प्रकरणमा जोडिएर पक्राउ परेका ३० प्रतिवादीको बयान संलग्न रहेको १५३ पृष्ठको अभियोग पत्रमा गोरेमाथि लागेका आरोपमा उनले बयान दिने क्रम जारी छ ।
विमानस्थलबाट बाहिरिएको सुन हराएपछि त्यसको सुराकका लागि उनले अपनाएका विभिन्न विधिको विषय, छलफल र आफ्नै समूह भित्रका सदस्यलाई दिइएको यातना लगायतका आरोपमा अभियुक्त गोरेले बयान दिएका छन् ।
सुन हराएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई गरिएको सोधपुछ, भारतको अछाम पुगेका सनम र मोहन काफ्लेसहितलाई सिलिगुडीमा दिइएको यातना, सिन्धुलीको खनियाखर्कको होटलमा भएको बैठकको निष्कर्षका विषयमा गोरेले बयान दिइसकेका छन् । त्यसैगरी उर्लावारी–१ स्थित कान्छी चोकमा सनमसहितलाई दिइएको यातना, धरानको निर्वाणा कन्ट्री क्लवमा पुण्य लामासहितलाई दिइएको यातना र झापा दमकस्थित कामक्ष होटलमा नाचगान गरेको विषयसम्म गोरेले कोट्याइसकेका छन् ।
ब्यानमा आफूलाई ठूलो योजना भित्र माथिल्लो तहका मान्छेले फसाएको गोरेले दावी गरेका छन् । बयान दिने क्रममा बुधवार बाबु नेत्रप्रसाद उप्रेतीसँग भेट गरेका गोरेले आफ्नो गिरफ्तारी समेत गौरीघाटबाट नभएको बताएका छन् ।
जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा बयान दिइरहेका गोरेसँग बाबु नेत्रप्रसादले बिहीबार झण्डै ४५ मिनेट भेट गरेका थिए । भेटमा गोरेले आफूलाई बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको जानकारी बाबु नेत्रप्रसादलाई दिएका थिए ।
‘काकडभिट्टाबाट दमक आएर एकरात त्यहीँ बसेका र त्यसपछि मामाले मानव अधिकारवादीको संरक्षणमा काठमाडौं पु¥याएको बतायो’ छोरा गोरेसँग कुराकानी गरेर फर्कनु भएका नेत्रप्रसादले भन्नुभयो–प्रहरीले पक्राउ गरेको नभई आफैं प्रहरीको शरणमा पुगेको रहेछ ।
बयान लिइरहेको ६ नम्बर इजलस कक्षमा छिर्ने बितिकै गोरेले बाबुको गोडामा ढोगेका थिए । त्यसपछि आफ्नो कार्यप्रति पछुताउँदै आफूले बाबु र आमाप्रति ध्यान नदिएको भन्दै दुःखी बनेको भेटपछिको कुराकानीमा बुबा नेत्रप्रसादले बताउनुभयो ।
‘मैले बारम्बार सोध्ने पनि गरेको थिएँ, मलाई धेरै थाहा थिएन तर केही आशंका गरेको थिएँ’ उहाँले भन्नुभयो, ‘गोविन्द निरौला(पूर्व डिआईजी)ले चाहेको भए मेरो छोरो दुश्कर्ममा लाग्न पाउँदैनथ्यो ।’
निरौलाले बयानमा दिएजस्तो आफूले उनलाई घरमा बोलाएर कुराकानी नगरेको समेत नेत्रप्रसादले बताउनुभयो । गोरेसँग भेट भएपछि निरौलाले मलाई फोन गरेका थिए, नेत्रप्रसादले भन्नुभयो–‘गोरे तपाईको छोरो रहेछ नि’ भनेर उनैले सोधेका हुन् । तर, यस्तो काममा छ उस्तो काममा छ भनेर कहिल्यै पनि खबर नगरेको गोरेका बाबुको भनाइ छ ।
‘गरेको दुष्कर्मको सजाय भोग्नु पर्दछ, संलग्नहरू सबैलाई नियन्त्रणमा लिनु पर्दछ,’ उहाँले भन्नुभयो–ठूला मान्छे छन्, राज्यको गृहमन्त्रालय अन्तर्गतको संयन्त्रका मान्छे छन् सबैलाई पक्राउ गर्नुपर्दछ । आफ्नो छोरोको अहिले पनि ज्यान जोखिममा रहेको भन्दै जीवनरक्षाका लागि पहल गरिदिन नेत्रप्रसादले सबैलाई आग्रह गर्नुभयो ।
Friday, May 25, 2018
३३ किलो सुन प्रकरण अदालतमा गोरेको बयान जारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment