Sunday, May 20, 2018

जाउँ है न्युयोर्क नेपाल चिनाउन: नेपाल डे परेडको तेश्रो श्रृंखला भोली आइतबार

पुरुषोत्तम ढकाल, लसएन्जलस, ५ जेठ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको एकता, नेपाली भाषा, संस्कृतिको पहिचान र प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना हुँदै आएको नेपाल डे परेडको तेश्रो श्रृंखला भोली मे २० तारिख आइतबारको दिन विश्वकै आर्थिक राजधानीका रुपमा परिचित न्यूयोर्क शहरमा आयोजना हुने भएको छ । नेपाल डे परेडको तेश्रो श्रृंखलामा विगतमा जस्तै नेपाली अमेरिकनका संघ सस्थाहरुको पहलमा बहुल जाती र भाषा बोल्ने नेपाली समुदायको संस्कृति झल्कने झांकी सहित म्यानहटनको थर्टिएट स्ट्रीटको म्याडिसन एभिन्युबाट बिहान ११:०० बजे परेड शुभारम्भ हुने छ । नेपाली अमेरिकनको एकिकृत अभियानको यो तेश्रो श्रृंखला नेपाल परेड डे इन्कको मुख्य आयोजना र गैर आवासिय नेपाली संघ, (एनआरएनए) न्युयोर्क च्याप्टरको संयोजकत्वमा आयोजना हुँदैछ ।
एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीका अनुसार यस पटक परेडलाई लिएर समुदायमा देखिएको विवाद साम्य पार्दै नेपाली अमेरिकनको प्रतिनिधित्व गर्ने सबै संघ सस्थाहरुलाई समेटेर परेड सम्पन्न गर्न एनआरएनए न्युयोर्क च्याप्टरको संयोजनमा परेड आयोजना गर्न लागिएको हो । यस अघि गत साता च्याप्टरका अध्यक्ष अधिकारी र अभियानका मुख्य अभियन्ता नेपाल परेड डे इन्कका प्रतिनिधि लुइसाङ वाइवाले स्थानिय सुरक्षा निकाय मार्फत एनआरएनए न्युयोर्क च्याप्टरको नाम परेड संयोजकका रुपमा थपेका थिए ।
नेपाल डे परेडको तेश्रो श्रृंखलाका लागि एनआरएनएको संयोजनमा बनेको तद्धर्थ समितिले नेपाली कंग्रेसको भातृ संगठन जन सम्पर्क समिति अमेरिका, एमालेको भातृ संगठन प्रवासी मञ्च, मधेशी एसोसियसन, युएस नेपाल आर्टिष्ट एसोसियसन र नेपाल परेड डे इन्कका प्रतिनिधि गरि ५ जना कन्भेनर तोकेको छ । नेपाल डे परेडको तेश्रो श्रृंखला सफल बनाउनको लागि यसपटक पांच जना कन्भेनर राखिएको संयोजक अधिकारीले बताए ।
नेपाल डे परेडका अभियन्ता मंगलदास श्रेष्ठका अनुसार न्युयोर्क र आसपासका राज्यहरुमा बसोबास गदै आइरहेका नेपाली अमेरिकन आवद्ध संघ संस्था र अगुवाहरुको पहलमा सन २०१६ देखि न्यूयोर्कमा नेपाल डे परेडको प्रारम्भ गरिएको थियो । अमेरिकामा नेपाली र नेपालको परिचय दिने विविध कला, संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनबाट नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने र भावी पुस्तालाई नेपालको बहुल जातीको कला, संस्कृति र भेषभूषालाई चिनाउने अभियान अन्तर्गत परेडको आयोजना गरिदै आएको हो ।
नेपाल डे परेडको तेश्रो श्रृंखलामा न्युयोर्क स्थित नेपाली राजदुताबास, महाबाणिज्य दुताबास लगायत नेपालबाट आएका विशिष्ट अतिथिका साथ स्थानीय क्वीन्स बोरो प्रेसिडेन्ट मेलिन्डा केट्ज, काउन्सिलमेन जिम्मी ब्रामर, काउन्सिलमेन कोष्टा कोन्स्टाटिनटिडिज, काउन्सिलमेन डनियल ड्रम तथा न्यूयोर्क शहरका मेयर र कम्प्ट्रोलर कार्यालयका प्रतिनिधिहरु, काँग्रेसम्यान जो क्राउलीका प्रतिनिधि परेडमा सहभागी हुने मुख्य आयोजक एवं अभियन्ता लुइसाङ्ग वाइवाले बताएका छन् ।
नेपाल डे परेडका अभियन्ता लुइसाङ्ग वाइवाका अनुसार नेपाल डे परेडको तेश्रो श्रृंखला सफलताका साथ सम्पन्न गर्न रबिकिरण कोइराला, महेश मल्ल, अर्जुन बहादुर सिंह, सुमन बुडामगर र मनोज सिंह कन्भेनर नियुक्त गरिएको छ । नेपाल डे परेडको व्यवस्थापन गर्न आङछिरिङ शेर्पालाई संचार संयोजक तोकिएको छ भने समितिको सदस्यहरुमा निमा शेर्पा, मिलन शाही, बिनिता तामाङ, लक्ष्मी श्रेष्ठ, अनु खड्का, बिजया सिम्खडा, सतेन्द्र साह, राजेश सापकोटा, विश्व बस्तोला, राजन गौली, पवन योन्जन , शिव कमल पौडेल, मणी वाङ्देल राई, ब्रजेश लामा र नेपाली अमेरिकनको विभिन्न सस्थाहरुको प्रतिनिधिहरु समेत समेटिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...