Wednesday, May 2, 2018

साक्षरता अभियानमा सबै पक्षको सामूहिक प्रतिबद्धता

सञ्जय मित्र, रौतहट

देशकै सबैभन्दा कम साक्षरता रहेको रौतहटको तीन नगरपालिकाका शिक्षक, प्रधानाध्यापक, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगर प्रमुख, प्रदेश साँसद र प्रतिनिधि सभाको साँसदले साक्षरता र गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिकामा नगर प्रमुख रिनादेवी साहको अध्यक्षतामा भएको कार्यक्रममा मौलापुर, देवाही गोनाही र कटहरियाका वडाध्यक्ष, उपमेयर, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, स्रोत व्यक्ति, मेयर तथा प्रदेश साँसदद्वय कुन्दन कुशवाहा, नागेन्द्र यादव र संघीय संसदका साँसद प्रभु साहका साथै उपस्थित जनसमुदायले तीनवटै नगरपालिकाको शिक्षालाई गुणस्तरीय बनाउन र नगरपालिकालाई साक्षर घोषणा गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै साँसद साहले अभिभावक, विद्यार्थी र जनप्रतिनिधि सबै मिलेर शिक्षाको गुणस्तर सुधार्नुको विकल्प नभएको बताएका छन् । जनप्रतिनिधिले शिक्षाको भौतिक पूर्वाधारलाई पूर्णता दिने, व्यवस्थापन समितिले विद्यालयलाई पढाइको वातावरणयुक्त बनाउने र शिक्षकले बालबालिकालाई इमानदारीपूर्वक पढाउने काम गरेमा विद्यार्थीले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै बाधा नहुनेमा आफू विश्वस्त रहेको साँसद साहले बताएका छन् ।
हिजोको दिनमा पहाडलाई शिक्षाको उज्यालोतर्फ डो¥याउने मधेस आफू नै अहिले पछाडि परेकोमा फेरि आश्चर्यजनक किसिमले काम गरेर अविश्वसनीय किसिमले शिक्षामा छलाङ मार्नुपर्ने आवश्यकता रहेको बताउँदै साँसद साहले शिक्षाको मामिलामा कुनै पनि बहानामा आफ्ना सन्तानलाई पछाडि नपार्न अभिभावकहरुलाई आग्रह गरेका छन् ।
प्रदेशको एकमात्र महिला मेयर रिनाकुमारी साहले नगरको शिक्षालाई गुणस्तरीय बनाउन भौतिक पूर्वाधार र विद्यार्थीको छात्रवृत्तिका साथै अन्य सामग्रीका लागि दुई करोडभन्दा बढी बजेट निकासा दिएको बताएकी छन् ।

शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको सामूहिक प्रतिबद्धताले तीन नगरपालिकाको शिक्षा उदाहरणीय किसिमले अगाडि बढ्ने आशा जागेको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले जनाएका छन् । कार्यक्रममा क्षेत्र नम्बर ३ को कक्षा ६ देखि १० सम्मका ३५ हजार बालबालिकाका लागि दैनिक प्रगति पुस्तिका पनि सार्वजनिक गरिएको छ ।

विद्यार्थीको हातमा रहने दैनिक प्रगति पुस्तिकाले शिक्षक, विद्यार्थी र अभिभावकसित त्रिपक्षीय सम्बन्ध विस्तार गर्ने र शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउने विश्वास लिएको प्रदेश साँसद कुन्दन कुशवाहाले बताएका छन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...