Friday, May 25, 2018

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं, जेठ ११ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसैको मैदानमा पहिलो एक दिवसीय क्रिकेट खेल्ने तय भएको हो ।

इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एकदिने ट्वेन्टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खला हुँदैछ । उक्त शृङ्खलापछि नेपालले नेदरल्यान्ड्स गएर दुईवटा एक दिवसीय खेल खेल्न लागेको हो ।

नेपालले अगष्ट १ र ३ तारिखमा नेदरल्यान्ड्ससँग दुई खेल खेल्ने तय भएको हो ।

केही महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाल अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भए पनि चार वर्षका लागि एक दिवसीय क्रिकेट खेल्ने हैसियत बनाउन सफल भएको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपालको क्रिकेट संघमाथि निलम्बन लगाएको अवस्थामा नेपाली टोलीले कहिले र कोविरुद्ध एक दिवसीय क्रिकेट खेल्छ भन्ने अन्योल थियो ।

नेदरल्यान्ड्स विरुद्धको एक दिवसीय खेलबारे आईसीसीले आधिकारिकरुपमा केही नबताए पनि क्रिकेट अनलाईनहरुले खेल तालिका सार्वजनिक गरिसकेका छन् ।

नेदरल्यान्ड्स विरुद्धको खेलका लागि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितापछि खेलाडी छनौट गरिनेछ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी आइतबार काठमाडौंमा सुरु हुँदैछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...