
हरेक बच्चाहरु प्राथमिक तहमा पढ्ने अवस्थामा भविष्यमा पढेर के बन्ने भन्ने सम्बन्धमा आफ्नो अभिव्यक्ति दिने गर्छन् । अधिकांशको अभिव्यक्ति डाक्टर, इन्जीनियर र पाईलट भन्नेनै रहन्छ । यसो हुनुमा पक्कै पनि यी पेशा वा सेवा क्षेत्रलाई समाजले सर्वोच्च निकायमा राखेर हुनु पर्छ । व्यवहार त अन्य पेशा वा व्यवसायिक क्षेत्र आर्थिक एवं प्रतिष्ठाको हिसाबले कम आंकलन गरिने क्षेत्र भने पक्कै होईनन् । अझै व्यवसायिक क्षेत्र त विश्वलाई मुठ्टीमै राख्ने क्षेत्र हो भन्दा पनि फरक पर्दैन । हरेक देशको सामाजिक एवं राजनितीक क्षेत्र व्यवसायिक क्षेत्र र यसका मालिकहरुका गतिविधिले प्रभावित छन् । नेपाल जस्तो विकासोन्मुख क्षेत्रमा त कानुनी क्षेत्र समेत व्यवसायीहरुबाट प्रत्यक्ष वा परोक्षरुपमा प्रभावित छन् । यसरी हेर्दा नेपाली समाजले प्राय आंकलन गर्ने र आफ्ना बच्चाहरुले भविश्यमा अंगाल्न चाहेको पेशा वा क्यारिएर बनाउने क्षेत्र सकभर डाक्टरी पेशा, ईन्जिनियरिङ, हवाई उडान नै होस् भन्ने रहन्छ । यद्दपी आजकल संचार क्षेत्रको विकास र विश्व परिवेशको अवस्थाबारे जानकारी एवं नयाँ सोचको विकासले गर्दा बच्चा एवं अभिवावकले समेत अन्य पेशा वा क्यारियरको क्षेत्रलाई प्राथामिकता दिन थालेको पाईन्छ । जस्तोकी वकिल, कलाकार, व्यवस्थापक, चार्टर एकाउण्टेण्ट, व्यवसायी, शिक्षक/प्राध्यापक, संचारकर्मी, सरकारी जागिरे देखि अन्य पेशा वा रोजगारीका क्षेत्रलाई रोज्न थालिएको पाईन्छ । यसो भनिरहदाँ पनि अझै हाम्रो मानसिकता भनेको सकभर साईन्स पढाएर छोराछोरीलाई डाक्टर, ईन्जिनियर वा पाईलट बनाउने र केही गरि त्यो संभव नभए अन्य बिषय विश्वविद्यालय तहमा पढाउने भन्ने रहेको पाईन्छ ।
खासगरि विदेशतिर( विकशित भनिने देशमा) भने स्कुल तहमै बच्चाहरुको ईच्छा, चाहना र क्षमता हेरेर कुन विषय हाईस्कुलमा पढेर पछि कलेजमा गएर कुन विषगत क्षेत्र रोज्ने भन्ने तय हुने गरेको पाईन्छ । यद्दपी हामी जस्तो आप्रवासीहरुले आफ्ना बालबालिकाले आफुले चाहे अनुसार पढि दिए हुने थियो, पेशा वा जागिर अंगाले हुने थियो भन्ने चाहना रहेको पाईन्छ । यसो भएपनि बालबालिकालाई अभिभावकले दबाब दिन भने सक्ने अवस्था रहदैन । वास्तवमा हरेक क्षेत्र र पेशा आ-आफ्नो क्षेत्रबाट कम छैनन् । अझै अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया लगायत विकशित देशमा हरेक कामलाई समान महत्व र हैसियतमा हेर्ने गरेको पाईन्छ । हुन सक्छ कामको प्रकृती र प्राप्त हुने आर्थिक लाभ फरक फरक पनि । यद्दपी नेपालमा जस्तो कामलाई सम्मान र हैसियत सँग दाँजेर ठुलो सानो भनेर कित्ताकट गर्ने, हाकिम र मताहतका कर्मचारी विचको दुरी एवं ज्युहजुरिया विकशित मुलुकमा खासै देखिदैन अर्थात् सबैले सबैको सम्मान गरेको पाईन्छ । मालिक र मजदुर विच उचोनिचो व्यवहार पाईदैन ।
यो स्तम्भकारले आज चर्चा गर्न खोजेको कुरा के हो भने बालबालिकामा पारिवारिक वातावरणले पार्ने प्रभाव र भविष्यमा अंगाल्न खोजेको पेशा वा अध्ययनको गन्तव्य बारे हो । यस आलेखमा स्तम्भकारको छोरीले आफ्नो अध्ययनको रुचीगत विषयलाई बदल्नु आफ्ना बाबाको लामो समय सम्मको मेरुदण्डको स्पाईनलकर्डको कारण अशक्त भएर काम गर्न नसक्दा आफ्नी आमालाई निर्वाह गर्नु परेको पारिवारिक जिम्मेवारी एउटा कारक पक्ष हो भन्न सकिन्छ । खासगरि मेरो( स्तम्भकार) कान्छी छोरी सानै देखि चित्र बनाउन, पेन्टिंग गर्न मन पराउने गर्छिन् र उनले पछि आफु ठुलो चित्रकार बन्ने ईच्छा राख्दै कलेजमा आर्ट बिषय पढ्ने भन्दै आएकी थिईन । तर आजकल उनी आफु साईन्स र म्याथमा बढि जोड दिएर पढेर एकदिन डाक्टर बन्ने सपना मनमा साँचेर अघि बढेकी छन् ।
आजै मात्र पनि उनी डाक्टरको नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जाँदा भर्खरै ईण्डियनमुलकी भर्खरैकी युवती डाक्टरले सोधेको वर्तमान पढाई र भविष्यमा के पढ्ने एवं के बन्ने भन्दा उनले जवाफमा आफु डाक्टर बन्न चाहेको बताईन । साथै डाक्टर किन बन्ने भन्ने प्रश्नको जवाफमा “ सर्वसाधारणलाई सेवा पुराउने “ भन्ने जवाफ दिईन । भर्खरै ५ कक्षा पढेर ६ कक्षा जाँदै गरेकी छोरीको यो जवाफ सुन्दा मेरो आँखा डाक्टर कक्षमै रसाए । आफु सधै डाक्टर हुने सपना बच्चामा साँचेको तर पछि गएर कलेजमा साईन्स समेत पढ्न नपाएको क्षण र अरुचीपुर्वक व्यवस्थापन विषय पढेको अनि त्यतिसारो राम्रोगरि पढेको विषयमा प्रगति गर्न नसकेको अवस्था स्मरण गरे ।
वास्तवमा छोरीले एकाएक आफ्नो रुचीको विषय बदल्नुमा मेरो दुईपटक सम्म मेरुदण्डको स्पाईनलकर्डको सर्जरी गर्दा समेत कुनै सुधार नहुनु रहेको र डाक्टर भएर आफुले राम्रोगरि विरामीको उपचार गर्ने भावना मनमा पलाएर हुनसक्छ जस्तो मैले अनुभव गरे । अर्को तर्फ आफ्नो बाबालाई के कति कारणले डाक्टरले ठिक सम्म उपचार गर्न सकेनन्, यसमा कमजोरी कसको हो भन्ने खुलदुली समेत उनको बाल मष्तिष्कमा परेको हुनु पर्छ । जे होस्, मुख्य कारक तत्व मेरो अस्वस्थता नै हो भन्ने लागेको छ । मेरा लागी खुशीको कुरा पनि हो कम्तिमा डाक्टर हुने सपना उनले मनमा राखेर पढाईमा बढि केन्द्रित हुने भईन, भविष्यमा डाक्टर बने पनि नबने पनि “ सपनाको शहर अमेरिकामा “ अन्य क्यारियर अवस्य राम्रो हुन सक्ने आधार बन्ने छ ।
के हामी जस्तो सामान्य आर्थिक अवस्था हुनेहरुको बच्चाले डाक्टर हुने सपना देख्नु कति सम्म यथार्थतामा हुन सक्ने संभावना छ भन्ने प्रश्न उठ्नु स्वभाविक हो तर पढ्न चाहने, मेहनेती बालबालिकाको लागी भने यो असम्भव छैन किनकी नेपालमा जस्तो हरेक क्षेत्रमा आर्थिक चलखेल एवं माफियातन्त्रको कल्पना अमेरिकामा गर्नु पनि पाप हो । अमेरिका कानुन र नियमले चलेको देश हो । यद्दपी निजी खर्चमा भने कलेजको पढाई अत्यन्त खर्चिलो छ तापनि सरकारी सुविधा एवं योग्य विद्यार्थीलाई निःशुल्क छात्रवृत्तीका साथै शैक्षिक ऋणको व्यवस्था भएको पाईन्छ । तसर्थ तीव्र ईच्छा र अविचलित रुपमा प्रयास हुनसके बालबालिकाले चाहना गरे अनुरूपको बिषय पढेर आफ्नो क्यारियर आफुले चाहे अनुरूप बनाउन सकिने देखिन्छ ।
संभावनै संभावना र यो अवसरको यो भुमिमा हामी जस्ता अप्रवासीका सन्तानले आफुले देखेको सपना साहाकार गर्न सकुन् भन्ने कामना छ । के सामान्य परिवारका बालबालिकाले डाक्टर, ईन्जिनियर हुने सपना देख्नु पाप हो र ? पक्कै पनि हैन र नेपालमा समेत निम्न आए भएका व्यक्तीका छोराछोरीहरुले विनारोक तोक उनीहरुको चाहना एवं दक्षताको आधारमा डाक्टर, ईन्जिनियर लगायत अन्य शैक्षिक विषय पढ्न जहिले सम्म पाउने छन् तव मात्र साँच्चिकै लोकतन्त्र आएको र शिक्षालाई मौलिक हकको रुपमा हेर्न खोजिएको कुरा व्यवहार त प्रमाणित हुनेछ । डा. गोविन्द के. सी. हरुले दर्जन भन्दा बढि पटक स्वास्थ्य एवं मेडिकल शिक्षा क्षेत्रको माफिया तन्त्र विरुद्ध लडेको लडाईमा जव सफलता हासिल हुनेछ तव मात्र सर्वसाधारणका बच्चाहरुले डाक्टर हुने सपना सहजै देख्न सक्नेछन् । यस तर्फ सम्बन्धित पक्षको ध्यान जान सकोस् भन्ने कामना छ ।
No comments:
Post a Comment