काठमाडौँ, जेठ २० गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताउनुभएको छ ।
केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आज अपराह्न भएको भेटघाटमा उहाँले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र पारस्परिक लाभ नै भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अब उपरान्त आन्तरिक राजनीतिक मामिला द्विपक्षीय छलफलको विषय बन्दैन ।” उहाँले प्रकृति र संस्कृति नेपालको पर्यटनका मूल क्षेत्र भए पनि नेपालको मौलिक शान्ति प्रक्रियालाई पनि प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
परराष्ट्रमन्त्रीले चीन र भारतसँग हाम्रो कुल गार्हस्थ उत्पादनको एक तिहाइ घाटा हुनु डरलाग्दो सङ्केत भएकाले अब सन्तुलनमा ल्याउने प्रयास हुने बताउनुभयो । भारतसँगको सम्बन्ध विगतमा उतारचढाव भए पनि सन्तुलनमा ल्याउने प्रयास भइसकेको र भारतले पनि आफ्नातर्फबाट महसूस गरेको बताउँदै उहाँले भारतसँग भएका विभिन्न सम्झौता कार्यान्वयन गर्न नेपालको राष्ट्रिय दिवस अर्थात् संविधान दिवस(असोज ३ गते)को समय तोकिएकामा त्यसमा प्रगति देखिएको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली जुन महीनाको दोस्रो सप्ताहतिर छिमेकी देश चीन जाने जानकारी दिँदै सो अवसरमा क्रसबोर्डर ट्रान्समिसन लाइन, व्यापार र परिवहन, उड्डयन, पाइपलाइन, टोखा–छहरे सुरुङमार्ग तथा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका केही आयोजनाबारे ठोस काम हुने बताउनुभयो ।
उहाँले सार्क शिखर सम्मेलनको मिति लम्बिएकामा चिन्ता व्यक्त गर्दै नेपाल सार्कको विकल्प खोज्ने पक्षमा नभएको स्पष्ट गर्नुभयो । बिम्स्टेकको सम्मेलन यसै वर्षभित्र गर्ने योजना रहेको तथा नेपाल साङ्घाइ सहयोग सङ्गठनको संवाद साझेदारबाट पर्यवेक्षक बन्ने प्रक्रियामा रहेको जानकारी पनि उहाँले दिनुभयो । विश्व प्रणालीमा परिवर्तन हुनुपर्ने तथा संयुक्त राष्ट्र सङ्घमा साना राष्ट्रको पनि समयोचित प्रतिनिधित्व हुने गरी सुधार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालका विकास साझेदारहरुलाई नेपालमा सहयोग अनियन्त्रित ढङ्गले नछरी लगानी र सहयोग बढाउन आग्रह गरिएको जानकारी पनि दिनुभयो ।
परराष्ट्रमन्त्रीले नेपालले धेरै देशसँग श्रम सम्झौता गर्न चाहेको र सम्झौता भएका मुलुकमा नेपाली श्रमिकको हकहित र कमाएको पैसा सजिलै नेपाल पठाउने वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले कूटनीतिक आचारसंहिता र राजदूत नियुक्तिको मापदण्ड तयार गर्ने काम र नेपालका राजदूतावास तथा नियोगहरुको स्थितिबारे समीक्षा भइरहेको एवं नेपाली राजदूतहरुको कार्यसम्पादन पनि मूल्याङ्कन भइरहेको बताउनुभयो ।
पत्रकारको जिज्ञासामा परराष्ट्रमन्त्रीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको कामप्रति सन्तोष व्यक्त गर्दै यही हिसाबले काम अघि बढेमा नेपाल भारत सम्बन्धमा युगान्तकारी घटना हुने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो,“विगतमा सत्ता टिकाउन वा प्राप्त गर्न भएका जमानीको स्वामित्व लिँदैनौँ, दलगत स्वार्थमा भएका कुराको जवाफदेही हुँदैनौँ ।” (रासस)
Sunday, June 3, 2018
नेपाल सार्कको विकल्प खोज्ने पक्षमा छैनः परराष्ट्रमन्त्री
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment