काठमाडौँ, २३ जेठ । समयमा काम नसक्ने निर्माण व्यवसायीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै घरधनीलाई पनि नछोड्ने बताएका छन् ।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणको जिम्मा लिएर काममा ढिलासुस्ती गर्ने जो कसैलाई पनि कारावाही गरेरै छोड्ने दाबी गरेका हुन् ।
प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेकोको विषयमा सञ्चारकर्मीले सोधेका प्रश्नमा गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने नेता, सांसद, नेताको घरधनी जो भएपनि नछोड्ने बताए ।
सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने उद्घोष गरेका हुन् ।
कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो ठेक्कामा सम्झौताअनुसार काम नभएको बताए । राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको उनले सुनाए ।
‘राज्यले भनिसकेको छ, जसले सम्झौताअनुसार काम गर्दैन, राज्यको ढुकुटी दुरुपयोग गर्छ, त्यो अपराध हो’ उनले अघि भने, ‘त्यसकारण कारबाही गर्नुपर्छ भन्ने कानुन छ । जो सुकै होस्, चाहे घरधनी होस्, सभासद होस् वा ठूलै नेता किन नहोस् । कानुनको उल्लंघन गर्छ, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’
निर्णय गर्ने अधिकार सम्बन्धित मन्त्रालयको भएको भन्दै गृहमन्त्री बादलले त्यसलाई कार्यान्वयन गर्न आफ्नो मन्त्रालयले सहयोग मात्र गरेको बताए । प्रचण्डका घरधनी अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।
यसैबीच, गृहमन्त्री थापाले सुन तस्करीको अनुसन्धान ठूला ‘माछा’ नजिक पुगेको बताएका छन् । प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गरेका हुन् ।
No comments:
Post a Comment