Monday, October 26, 2015

काठ तस्करी कार्य झनै मौलायो

wood-650x250गाईघाट (उदयपुर), १० कात्तिक । उदयपुरको पूर्वी क्षेत्रको रामपुर ठोक्सिला वनक्षेत्र तथा कटुञ्जे बबला र मैनामैनीको जङ्गल क्षेत्रबाट अवैध रुपमा सुनसरीतर्फ काठ चोरी तथा तस्करी दिनानुदिन मौलाउँदै गएको छ ।

दसैँअघिदेखि नै सो क्षेत्रबाट काठ तस्करी सुरु भएको भए तापनि अहिले आएर राति र साँझको समयमा तीव्र रुपमा काठ तस्करी हुन थालेको स्थानीयवासी बताउँछन् ।

रामपुर ठोक्सिलाका केही सामुदायिक वन क्षेत्रमा सम्बन्धित पदाधिकारी नै वनको ढलेको रुखको काठ तस्करीमा लागेका कारण अहिले काठ तस्करी झनै मौलाउँदै गएको स्थानीयवासी देवराज कार्कीे बताउनुहुन्छ ।

रातिको समयमा सुनसरी क्षेत्रबाट खुल्ला रुपमा दर्जनौँ ट्र्याक्टर रामपुरको विभिन्न सामुदायिक वनमा छिर्ने गरेको र राति नै वनका ढलेका रुख कटान गरेर उज्यालो हुँदा सप्तकोसीको पुल तारेर सुनसरी छिराउने गरेको अर्का स्थानीयवासी केशव थापाको भनाइ छ ।

वनका कार्मचारीको उपस्थिति नहुनु र सम्बन्धित क्षेत्रका इलाका प्रहरीको पनि नियन्त्रण गर्ने चासो नहुँदा अहिले सो क्षेत्रमा काठ तस्करी दिनानुदिन मौलाउँदै गएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

यसैगरी मैनामैनी क्षेत्र तथा कटुञ्जे बबलाको सामुदायिक जङ्गल क्षेत्रबाट पनि रातिको समयमा ठूलो परिमाणमा दैनिक सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा काठ तस्करी गरेर सुनसरीतर्फ नै लगिने गरेको बबला– ७ का स्थानीयवासी धनबहादुर राईले बताउनुभयो ।

यस वर्षको जेठमा आएको ठूलो आँधीहुरीका कारण रामपुर, बबला तथा मैनामैनी क्षेत्रमा दसौँ हजारको सङ्ख्यामा रुख, बिरुवा ढलेका थिए ।

यता जिल्ला वन कार्यालय तथा इलाका वन कार्यालयले भने जङ्गलका ढलेका रुखको निगरानी गर्ने कार्य भइरहेको बताए पनि वनका कर्मचारीको उपस्थिति नहुँदा अहिले सो क्षेत्रमा काठ चोरीकार्य व्यापक बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।

काठ तस्करी कार्य दिनानुदिन वृद्धि हुँदै गए तापनि यसको नियन्त्रणतर्फ सम्बन्धित निकायको उचित ध्यान नगएको यस क्षेत्रका जनता बताउँछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...