लक्ष्मी काफ्ले/झापा
डा. भगवान कोइराला अर्कालाई प्राणदान दिने, जीवनदान दिने कर्मठ नेपाली हुन् । पाल्पाको एउटा साधारण गाउँमा हुर्किएर सङ्घर्षका पाइलाहरु अघि बढाउँदै मुलुकमा कार्डिक सर्जरी (हृदय शल्यचिकित्सा)को क्षेत्रमा असाधारण योगदान गर्ने अनि असाधाारण क्षमतावान डाक्टर हुन् कोइराला ।
शहिद गंगालाल हृदय केन्द्रमा कार्यरत डा. कोइराला ती नेपालीहरुमध्ये पर्दछन्, जो आफ्नो निम्ति मात्र बाँचेका छैनन् । उनको जीवनले समाजलाई उज्यालो दिएको छ । समाजका उज्यालो हुन् भगवान । कतिपय निमुखाहरुलाई उनले जीवन दिएका छन् । नेपालमा हृदय शल्यचिकित्साको एउटा इतिहास बनाउन ठूलो योगदान गरेका छन् डा. कोइरालाले । उनको नाम मात्र भगवान होइन, बिरामीहरुले उनलाई साँच्चिकै भगवान मान्छन् ।
एकजना आफन्तले उनको नाम ‘भगवान’ राखिदिएका रहेछन् । कारण, उनी सानोमा कोहीसँग बोल्दैनथिए, पढिरहन्थे, ज्ञानी थिए । उनै भगवान अहिले विश्वमै चिनिन्छन् टप कार्डियोलोजिष्टका रुपमा । तर उनी नामसँग कुनै तुक छैन भन्छन् । विरामीको सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् भगवान । मुटुको उपचार ढुक्कले नेपालमै गर्न उनी सुझाव दिन्छन् । भन्छन्, ‘आफ्नै देशको प्रविधि, उपचार र जनशक्तिमा विश्वास नगर्ने हो भने चाहिँ हाम्रो केही लाग्दैन ।’
हाल नेपालमा वार्षिक १९ हजारदेखि २० हजारजनाको मुटुको शल्यक्रिया हुने गरेको छ । भनिन्छ कोही मान्छे मुटुबाट निर्देशित हुन्छन्, कोही मस्तिष्कबाट । तर, १४/१५ हजारवटा मुटु प्रत्यक्ष हेरेका भगवानले मुटुभित्र कतै दिल देखेनन् । मुटुको कुनै कुनामा इमोशन र सम्वेदना पनि देखेनन् उनले । उनी कानुनको पालना गर्न अस्पतालहरुलाई सुझाव दिन्छन् । कानुन पालना नभएकै कारण संस्थाहरु चलाउने बेलामा उनी छोड्न पनि तयार हुन्छन् कहिलेकाहीँ । ‘कानुन नमानेसम्म म एक इन्च पनि अगाडि बढ्न तयार छैन’, भन्छन्, ‘बिरामी मरेको हेरीहेरी, अस्पताल बन्द भएको हेरीहेरी, भ्रष्टाचारमा ल्याप्चे लगाउनुपर्ने सिचुएसन हेरीहेरी मचाहिँ बस्न सक्दिनँ ।’
डा कोइरालाका अनुसार मुटुरोग तीन थरिका हुन्छन् । अन्य विभिन्न तरिकाका मुटुरोग पनि हुन्छन् । मुटुको नलीको रगत ब्लक हुने, जसका कारण हृदयघातसम्म हुन सक्ने उनी बताउँछन् । हाल नेपालमा १५ देखि २० जना मुटुको शल्यचिकित्सक छन् । पछिल्ला वर्षहरुमा शल्यचिकित्सकहरुको सङ्ख्यामा वृद्धि भएपनि अझै पर्याप्त नभएको उनको बुझाई छ ।
यीनै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले शनिबार बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलको भ्रमण गरे । ‘धेरै बेर त होइन, तर केही घण्टा बी एण्ड सीलाई हेरेँ मैले’, उनले भने ‘मूलतः पूर्वाधारको हिसावले चाहिँ यो पूर्ण रुपमा नै प्लानिङ गरिएको रहेछ ।’ निमार्णका केही चरण बाँकी रहेको र अझै केही उपकरण थप्नुपर्ने आवश्यकता उनले देखे । ठूल्ठूला हस्पिटलहरु काठमाडौँमा मात्र भएर नहुने उनको धारणा छ । यस्ता संस्थाहरु समाजको आवश्यकताअनुसार ठीक तरिकाले, पारदर्शी हिसावले, कानुन सम्मत र न्यायोचित तरिकाले चलाउनु पनि त्यतिकै जरुरी रहेको उनले बताए । यसरी अगाडि बढेमा यस्ता संस्थाहरुले समाजमा अत्यन्तै ठूलो भूमिका निभाउने उनी बताउँछन् । बी एण्ड सी लाई सघाउन आफू तयार रहेकोसमेत उनले प्रष्ट पारे ।
राजधानी बाहिर पनि ठूल्ठूला अस्पतालहरुले स्वास्थ्य सुविधा प्रदान गरिरहेको हुँदा नयाँ बन्ने स्वास्थ्य नीतिले त्यस्ता अस्पतालहरुलाई समेट्नुपर्ने उनी बताउँछन् । अस्पताल चलाउन सजिलो नभएको बताउँदै आएका उनी पारदर्शी र कानुनसम्मत ढंगले चलाउन सक्नुपर्ने धारणा राख्छन् । दुरदर्शी हिसावले सोचेर बी एण्ड सीलाई सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । ‘यो क्षेत्रमा त पेइङ क्यापासिटी भएका जनता पनि छन्, धान्न सजिलै हुन्छ होला’, उनी भन्छन्, ‘एकैपटक धेरै कम्लिकेटेड रोगहरुमा जम्प गर्नुभन्दा चरणबद्ध रुपमा विकसित गर्दै लानु नै उपयुक्त हुन्छ ।’ समाजकै एउटा हिस्सा भएको नाताले गुणस्तरीय सेवा दिनु हस्पिटलको दायित्व भएको उनी बताउँछन् । सुरुका २/४ वर्ष गाह्रो भएपनि ठीक तरिकाले चलाएमा अस्पताल अगाडि बढ्ने उनको विश्वास छ ।
पछिल्लो समय शहरी क्षेत्रमा मुटुरोगीको सङ्ख्या बढिरहेको छ । मोटोपना, पर्याप्त व्यायामको कमी, धुवाँधुलो, खानपान लगायतका कारणले मुटुका विरामी बढेको हुनसक्ने उनको भनाइ थियो । गर्भवती महिलाले धुम्रपान, मद्यपान गरे बच्चाको मुटुमा असर गर्ने कोइराला बताउँछन् ।
डा. कोइरालाले केही समयपछि बी एण्ड सी मा सेवा दिने विषयमा कुराकानी चलिरहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिएका छन् ।
No comments:
Post a Comment