Sunday, October 25, 2015

टेलिफोन पटक पटक बिग्रँदा ग्राहक मर्कामा

land-lineकाठमाडौँ, ९ कात्तिक । मोबाइलको बढ्दो प्रयोगसँगै कम उपयोग हुन थालेको ल्यान्डलाइन फोन बिग्रने क्रम बढेपछि काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिकाका स्थानीयवासी पीडित बनेका छन् ।

भूकम्पपछि मोबाइलको टावर राखिएका घरधनीले टावर निकालिदिएपछि काठमाडौँकै कुनाकाप्चामा मोबाइलको नेटवर्क नआउने समस्याबाट पनि ग्राहक पीडित हुने गरेका छन् ।

नेपाल टेलिकमको लाइन फोनमा पनि समस्या आउने र मोबाइलमा समेत नेटवर्क नहुने गरेकाले दैनिक जीवनको अभिन्न अङ्ग बन्न पुगेको सञ्चार सम्पर्कबाट वञ्चित हुनुपरेको स्थानीय श्याम कारञ्जितको गुनासो छ ।

“भूकम्प गएको छ महिना बितिसक्दासमेत नेपाल टेलिकमले मोबाइल नेटवर्क सञ्चालन गर्न सकेन, घरमा जोडिएको लाइन फोन पनि पटक पटक नआउने समस्याले अप्ठ्यारोमा परेका छौँ, मोबाइलमा नेटवर्क नभएका बेलामा काम लाग्छ भनी लाइन फोन नहटाए पनि चाहिएका समयमा सेवा पाउन सकिएन” – उहाँले भन्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाको गोकर्ण मन्दिरभन्दा माथिका ११ वटा वडाका लाइन फोनमा पटक पटक समस्या आउँदा पनि नेपाल टेलिकम जोरपाटी एक्सचेञ्जले वास्ता नगरेको अर्का ग्राहक ज्ञानेन्द्र भन्डारीले बताउनुभयो ।

एक्सचेञ्जका कार्यालय प्रमुख हरिकृष्ण पुडासैनी खानेपानीको पाइप हाल्ने क्रममा गोकर्णमा लाइन फोनको फाइबर काटिएकाले बेलाबेलामा समस्या आउने गरेको स्वीकार्नुहुन्छ ।

“गोकर्णको सडकमा खानेपानीको लाइन जडान गर्न डोजर प्रयोग गर्दा लाइन फोनको फाइबर काटिएछ, त्यो बनाएर फोन सञ्चालनमा आए पनि पटक पटक खुस्किने गरेकाले समस्या देखिएको हो, ट्रान्समिसनमा समस्या आएर पनि त्यस क्षेत्रको लाइन बिग्रने गरेको छ” – उहाँले भन्नुभयो ।

तेलको समस्याले बिग्रेको फोन बनाउन गाडी पठाउन नसक्दासमेत समस्या आएको एक्सचेञ्जले जनाएको छ । यो समस्याका कारण हाल यस क्षेत्रका एक हजारभन्दा बढी लाइन फोन बन्द रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...