Saturday, November 28, 2015

साताको नेप्से २७ अङ्कले नकारात्मक

nepseकाठमाडौँ, १२ मङ्सिर । दुई महिनाभन्दा बढीको लगातारको नाकाबन्दी र तीन महिनाभन्दा बढीको तराई मधेसका आन्दोलनका कारण अर्थतन्त्र कमजोर भएपछि पूँजीबजार निरन्तर ओरालो लागेको छ ।

लामो समयदेखि मुलुकको आर्थिक गतिविधि ठप्प भएपछि पूँजी निर्माण नहुँदा त्यसको गम्भिर असर पूँजी बजारमा परेको हो । सरकारले देशको समग्र आर्थिक अवस्था नकारात्मक बाटोतर्फ लागेकाले न्यून आर्थिक वृद्धि हुने जनाएको छ ।

गत साता अघिल्लो साताको तुलनामा ५.५२ अङ्कले नेप्से घटेको थियो भने यो साता २७ अङ्कले घटेको छ । निरन्तरको नाकाबन्दी र आन्दोलनका कारण लगानीकर्तामा निराशा आएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५० कम्पनीको १२ हजार ६१५ कारोबारबाट रु एक अर्ब २४ करोड १२ लाख २० हजार बराबरका २४ लाख ३६ हजार ५३० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ६३.७८ प्रतिशत बढी हो । गत साता १४३ कम्पनीको चार हजार ८६८ कारोबारबाट रु ७५ करोड ८२ लाख ३३ हजार बराबरका १५ लाख ८७ हजार तिन सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २७.३७ अङ्कले घटेर अन्तिम दिन एक हजार ४४.०१ अङ्कमा पुगेको छ । यो साता समूहगत परिसूचकमा वाणिज्य बैंक समूहमा ३२.८३, विकास बैंक समूहको १८.९९, वित्त कम्पनीको ६.२, होटल समूहको ११.४५, जलविद्युत् कम्पनीको ५५.६, विमाको सबैभन्दा बढी १३१.७ र उत्पादनमुलक समूहको ४.६५ अङ्कले गिरावट आएको छ ।

यो सता व्यापार समूह कुनै परिवर्तन आएको छैन भने अन्य समूहको परिसूचकमा ३.५३ अङ्कले सुधार आएको नेप्सेले उल्लेख गरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.९२ अङ्कले घटेर २२५.३७ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ ‘इक्विटी ओरिएन्टेड स्किम’ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको तीन लाख र नेपाल ग्रामीण विकास बैंकको ५५ लाख ७५ हजार कित्ता साधारण सेयर सूचिकृत भएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...