Sunday, November 29, 2015

हतियारसहित नेपाल आएका एसएसबीका जवान रिहा

काँकडभिट्टा (झापा), १३ मङ्सिर । केचना नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेपछि आज बिहान पक्राउ परेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जवान पाँच घन्टापछि रिहा भएका छन् ।

‘भूलवश नेपाल पसेको’ भन्दै क्षमायाचना गरेपछि एसएसबीका बटालियन कमान्डर जिबी नेगीलाई पक्राउ परेका भारतीय सुरक्षाकर्मी जिम्मा लगाइएको झापाका सहायक प्रजिअ डमरु निरौलाले जानकारी दिनुभयो ।

सुपारी तस्करलाई पछ्याउने क्रममा बिहान चार थान हतियारसहित १३ जना एसएसबीका जवान सीमा छिचोलेर केचना–४ स्थित नेपाली बस्तीसम्म आइपुगेका थिए । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

“उनीहरुले गल्ती स्वीकारे”–पक्राउलगत्तै सदरमुकाम चन्द्रगढीबाट केचना पुगेका सहायक प्रजिअ निरौलाले भारतीय सुरक्षाकर्मीको रिहाइपछि भन्नुभयो, “हामीले उनीहरुको कमान्डरलाई जिम्मा लगाएर पठायौँ ।”

घटना भएको केचना भारतसँग सीमा जोडिएको झापाको दक्षिणपूर्वी सीमान्त गाविस हो । दुई दिनअघि सुपारी तस्करलाई लखेट्ने भन्दै सोही क्षेत्रमा सीमा नजिक एसएसबीले आधा दर्जन राउन्ड फायरसमेत गरेको स्थानीय बासिन्दा बताउँछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...