Tuesday, November 3, 2015

गाविस सचिवले तथ्याङ्क अद्यावधिक नगर्दा भत्ता वितरणमा ढिलाइ

फलेवास (पर्वत), १८ कात्तिक । सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीको तथ्याङ्क अद्यावधिक नहुँदा प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाइ भएको छ ।

गाउँ विकास समितिका सचिवले आ–आफ्नो गाविसमा रहेका सामाजिक सुरक्षा भत्ता बुझ्नेको तथ्याङ्क अद्यावधिक नगर्दा रकम वितरण गर्न ढिलाइ भएको हो । जिल्ला विकास समिति पर्वतले दसँै अगावै सामाजिक सुरक्षा भत्ता वितरण गर्न रकम निकासा गरेको भए पनि अहिलेसम्म वितरण हुन सकेको छैन । चालु आर्थिक वर्षदेखि दोब्बर भएको भत्ता पाउने व्यक्तिको नामावली र पुरानै रकम पाउनेको नामावली अद्यावधिक नहुँदा भत्ता वितरण गर्न समस्या भएको गरिमा विकास बैंकका प्रबन्धक सुन्दरसिंह भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लाभग्राहीको खातामा पैसा गइसकेको छ तर सचिवहरुबाट विवरण नआउँदा वितरण गर्न समस्या भएको छ । उहाँले भन्नुभयो–“सचिवहरुले डाटा ल्याउने बित्तिकै भत्ता वितरण सुरु हुन्छ । गरिमा विकास बैंकले मात्रै जिल्लाका २३ वटा गाविसमा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । सदरमुकाम कुस्माबजार, फलेवास र हुवास शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा पाएको हो ।

त्यस्तै मुक्तिनाथ विकास बंैक, कैलाश विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट गत आर्थिक वर्षदेखि सामाजिक सुरक्षा वितरण हुँदै आएको छ । जिल्ला विकास समिति पर्वतले चालु आर्थिक वर्षमा लाभग्राहीको तथ्याङ्क अद्यावधिक गरेर बैंक र जिल्ला विकास समितिमा बुझाउन निर्देशन दिएको बताएको छ । कतिपय गाविसका सचिवले बुझाए पनि कतिपय गाविस सचिवले आलटाल गर्ने गरेका छन् । जिल्ला विकास समिति पर्वतका सामाजिक विकास अधिकृत तथा सामाजिक सुरक्षा कार्यक्रम प्रमुख लीलाधर सुवेदीले अन्य बैंकबाट भत्ता वितरण भइसकेको तर गरिमा विकास बैंकबाट मात्र हुन नसकेको बताउनुभयो ।

उहाँले सचिवलाई अद्यावधिक गरेको तथ्याङ्क छिटो बुझाउन निर्देशन दिएका छौँ अब तिहारअघि नै सबै गाविसका बासिन्दालाई भत्ता वितरण हुन्छ । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले उक्त विषयमा जिविससँग जानकारी लिएर छिटोभन्दा छिटो सेवाग्राहीलाई भत्ता वितरणको वातावरण मिलाउने जनाउनुभयो । गाविसले सामाजिक सुरक्षा भत्तामा दुरुपयोग गरेको पाइएपछि गत आर्थिक वर्षदेखि जिविसले विभिन्न बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो । जिल्लाका चार गाविसबाहेक सबै गाविसका बासिन्दाले अहिले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।

बैंकबाट वितरण गर्नुपूर्व गाविसका सचिवले फर्जी नाम राखेर करोडाँै रुपमा दुरुपयोग गर्ने गरेको खुल्न आएपछि बैंकलाई जिम्मा दिइएको थियो । बैंकले भत्ता वितरण गर्न थालेपछि गत आर्थिक वर्षमा रु एक करोड ६० लाख फिर्तासमेत भएको थियो ।
पर्वतमा दलित, ज्येष्ठ नागरिक तीन हजार ३५६, अन्य ज्येष्ठ नागरिक सात हजार १२४, एकल महिला ६० वर्षमुनिका दुई हजार ९०८, ६० वर्षमाथिका एकल महिला तीन हजार १८५, पूर्ण अपाङ्ग २०१, आंशिक अपाङ्ग ७४ र बालबालिका पाँच हजार ६५८ का गरी २२ हजार ५०६ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...