Tuesday, December 1, 2015

सचिव गाउँ नजाँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

खोटाङ, १६ मङ्सिर । जिल्लाको दक्षिणी गाविस छितापोखरीका लक्षित वर्गले पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म पनि पाउन सकेका छैन ।

गाविस सचिव गाउँ नगएपछि लक्षित वर्गअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, ६० वर्षमाथिका दलित, पाँच वर्षमुनिका दलित बालबालिका, अपाङ्ग लगायतले गत दसैँअघि पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।

गाविस सचिव सोमप्रसाद आचार्यले साउनदेखि कात्तिकसम्मको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण नगरेको स्थानीयवासी युवराज तामाङले बताउनुभयो । “गाविस सचिव गाउँ नै आउँदैनन्”–उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता त के, नागरिकताको सिफारिस लिनसमेत सदरमुकाम पुग्नुपर्ने अवस्था छ ।”

विविध कारणवश आफू समयमा गाविस पुग्न नसकेको सचिव आचार्यले स्वीकार गर्नुभयो । “आफू गाविस नगए पनि सेवाग्राहीको काम रोकिएको छैन”–उहाँले भन्नुभयो, “भत्ता वितरणको काम भने केही ढिला भएको छ, अब तत्काल गएर वितरण गर्छु ।” सचिवले काम नगरेपछि यसअघि गाविसवासीले आचार्यलाई हटाएर अर्को व्यक्ति पठाउन माग गर्दै जिल्ला विकास समितिमा निवेदन दिएका थिए । आचार्य भने राजनीतिक आडमा गाविस नै नगई सोही गाविसको जिम्मेवारी लिएर बसिरहेको स्रोतको दाबी छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...