काठमाडौँ, १७ मङ्सिर । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले मुलुकको वर्तमान स्थितिमा चाँडै नै सुधार आउने अपेक्षा गरेको बताउनुभएको छ । भारतको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले दुइ देशका बीच कायम असमझदारी हटाउन यस पटकको आफ्नो भारत भ्रमणले सघाउ पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । भ्रमणका क्रममा भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत भारतीय नेता तथा पदाधिकारीसँग द्विपक्षीय सम्बन्धबारे कुरा गरेको जानकारी गराउँदै उपप्रधानमन्त्री थापाले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै केही दिनमा नै परिणाम देखिने गरी सुधार हुने छ भन्ने अपेक्षा गरेको छु ।” उपप्रधानमन्त्री थापाले देशभित्रको राजनीतिक सङ्कट, सीमामा आपूर्ति र पारवहनमा भइरहेको अवरोधका कारण झण्डै दुई महिनादेखि नेपाली जनताले भोग्नुपरेको कष्टलाई समाधान गर्नेबारेमा भारतीय नेता तथा पदाधिकारीसँग अत्यन्तैै गहन र खुला रुपले कुरा गरेको जानकारी गराउनुभयो । “भ्रमण फलदायी र सौहार्दपूर्ण रहेको मैले अनुभव गरेको छु, चाँडै नै स्थितिमा सुधार आउने अपेक्षा लिएको छु,” उहाँले भन्नुभयो – “अनुमान र हल्लाको पछि नलागी परिणामको प्रतीक्षा गर्न आग्रह गर्दछु ।” उपप्रधानमन्त्री थापाले अत्यन्तै संवेदनशील र जटिल परिस्थिति भएकाले कतिपय विषयलाई अहिले नै चर्चामा ल्याएर परिस्थिति बिगार्नुको सट्टा मुलुकको स्वाधीनताको रक्षा गर्दै समस्या समाधान गर्ने क्रममा आफूले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । रासस
No comments:
Post a Comment