Saturday, December 26, 2015

मोर्चासँगको वार्ता चाँडै टुङ्गिने प्रचण्डको विश्वास, ‘सरकार छाड्ने हल्ला गलत’

prachanda-babu1विराटनगर, १२ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज विहाने सञ्चारकर्मीसँगको घेटघाटमा उहाँले मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको र आज बेलुकी हुने वार्ता परिणामुखी हुने सम्भावना रहेको जानकारी गराउनुभयो ।

उहाँले संविधान संशोधन विधेयकलाई परिमार्जन गर्नुपर्ने मोर्चाको माग रहेकाले संसद्मा सैद्धान्तिक रुपमा छलफल हुने र संशोधन प्रस्तावको तयारीसमेत गर्न सुझाव दिइएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “संविधान संशोधन विधेयक परिमार्जन गरिएमा र संयन्त्र निर्माण गरी तीन महिनाभित्र सीमाङ्कनको विषयमा मोर्चा सुनिश्चितता गर्न सकिए वार्ता सफल हुनेछ ।”

‘सरकार छाड्ने हल्ला गलत’
सरकार छाड्ने हल्ला गलत रहेको भन्दै उहाँले बरु सरकारलाई अझ कसरी प्रभावकारी बनाउनेतर्फ पार्टी अग्रस रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले नाकाबन्दी कसरी हटाउने र मधेसी मोर्चासँगको वार्तालाई कसरी परिणाममुखी बनाउनेतर्फ मात्र ध्यान केन्द्रित रहेकाले सरकार ढाल्ने चर्चा सञ्चार क्षेत्रमा मात्र रहेको स्पष्ट पार्नुभयो ।

मन्त्रिमण्डल विस्तार र मन्त्रालय विभाजनको सम्बन्धमा उहाँले भन्नुभयो, “सरकारमा जाने बेलामा समझदारी भएको भए पनि अहिले नकारात्मक सन्देश गएको र एमाओवादीको तर्फबाट पनि राज्यमन्त्री थपिन सकिने सम्भावना छ ।”

प्रहरी र मधेसी मोर्चाको कार्यकर्ताबीच विराटनगरको रानी भन्सारनजिक शनिबार अपराह्न भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले झडपमा परी घाइते हुनुभएका मोर्चाका नेता राजेन्द्र महतोको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...