Saturday, December 26, 2015

सिटौला भन्छन्- सरकारको विकल्प खोज्ने बेला भएको छैन

krishna-sitaulaचितवन, १२ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम गर्नुपर्ने बेला भएकाले सरकारको विकल्प खोज्नेतर्फ लाग्न नहुने बताउनुभयो ।

काँग्रेस अहिले सत्ताको खेलमा प्रवेश नगर्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा हुँदै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म पहिलो चरणमा संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले यी सबै काम गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री सिटौलाले भूकम्पपीडितको अवस्था दयनीय बन्दै गएको हुँदा त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

काँग्रेस अहिले महाधिवेशनको तयारीमा जुटेको भन्दै उहाँले १३औँ महाधिवेशनले नयाँ दृष्टिकोण र विचार ल्याउने पनि बताउनुभयो । पत्रकारको जिज्ञासामा महामन्त्री सिटौलाले आफ्नो उम्मेदवारीको विषय सार्वजनिक गर्ने समय नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “बोलेर पत्याउने समय आएपछि मात्र उम्मेदवारीको घोषणा गर्छु ।”

मधेससी दलसँगको वार्ता छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सीमाङ्कनको विषय तत्काल टुङ्गिन नसक्ने बताउनुभयो । राजनीतिक समिति बनाएर त्यहीँका जनताको राय÷सुझाव लिएर मात्रै सीमाङ्कन हेरफेर गर्न सकिने उहाँको भनाइ थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...