Friday, December 4, 2015

संविधानले सबै समुदायको पहिचान समेटेको छ: मन्त्री पोखरेल

ananda-pokhrelइलाम, १८ मङ्सिर । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नयाँ संविधानले नेपालका सबै क्षेत्र, समुदाय र संस्कृतिका नागरिकको पहिचानलाई समेटेको बताउनुभएको छ ।

इलामको बाँझोमा किराँत धर्मगुरु आत्मानन्द लिङदेनको ६२औँ जन्मोत्सव कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले नयाँ संविधान अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गर्नुभयो ।

उहाँले संविधानको विषयलाई लिएर तराई मधेसका नागरिकमा अझै पनि केही असन्तुष्टि देखिएको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “हामी सबै मिलेर बनाएको संविधान हो, संशोधन गर्न सक्ने बाटो छ । संविधान बनाउँदा जस्तै सबै मिलेर संशोधन गरी जायज मागहरू पूरा गर्न सकिन्छ ।”

मन्त्री पोखरेलले संविधानको आँखामा नेपालका सबै धर्म, संस्कृति समान भएको बताउँदै किराँत धर्म सबै नेपालीको पहिचान बनिसकेकाले यसको संरक्षणमा नेपाली नागरिक लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले तराई मधेसको असन्तुष्टि वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले लामो समयदेखि जारी तराई मधेस आन्दोलनले कसैलाई पनि फाइदा नहुने भएकाले आन्दोलनका कार्यक्रम रोकेर संसद्बाट समस्या हल गर्न आन्दोलनरत दलका शीर्षनेताहरूलाई आग्रह गर्नुभयो । नेपालको संविधान कुनै एक क्षेत्र, वर्ग र समुदायको बलले नभई सबैको एकतामा जारी भएको बताउँदै नेम्वाङले नेपालको संविधान प्रजातन्त्र पक्षधर र विगतका पञ्चहरूको समेत सहभागितामा बनेको बताउँदै यो संविधान अहिलेसम्मकै समावेशी र विश्वकै उत्कृष्ट रहेको बताउनुभयो ।

उहाँले भारतको अघोषित नाकाबन्दी चाँडै खुल्ने सङ्केत मिलिरहेकाले अब देशको अवस्था सामान्य बनाउनेतिर सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले झापादेखि पाँचथर जिल्लाको रविसम्मको फाल्गुनन्द मार्गलाई बहुवर्षिय आयोजना मार्फत निर्माण कार्यलाई तीव्रता दिइने समेत बताउनुभयो । लारुम्बा इलामको मात्र नभएर देशकै धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यहाँ पूर्वाधार विकासमा सबै लाग्नुपर्ने उहाँले जोड दिनुभयो ।

कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङ्देनले नेपाल–भारतबीच देखिएको अहिलेको असमझदारीप्रति सङ्केत गर्दै छिमेकीबीच मनमुटावको अवस्था ल्याउन नहुने बताउनुभयो । संविधानप्रति मधेसका नागरिकले गरेको गुनासो सरकारले सुनुवाइ गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

यसैबीच, किराँत धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा कवि तथा लेखक उपेन्द्र सुब्बालाई आत्मानन्द लिङ्देन साहित्यिक पुरस्कारबाट सम्मान गरिएको छ ।

कार्यक्रम मुहिङ्गुम अङ्सी माङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङको सभापतित्वमा भएको थियो । जन्मोत्सव समारोहमा नेपाल, भारत, भुटान, हङकङ, बेलायतलगायत देशका किराँत धर्मावलम्बीको सहभागिता थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...