Friday, December 25, 2015

विद्यालयलाई निःशुल्क जग्गा प्राप्त भएपछि भवन निर्माण सुरु

बर्दिवास, ११ पुस । महोत्तरी जिल्लाको हाथीलेट–१ स्थित हाथीलेट उच्च माध्यमिक विद्यालयलाई रु एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा निःशुल्क प्रदान गरेपछि विद्यालयको नयाँ भवन निर्माण सुरु भएको छ ।

धनुषा जिल्लाको बटेश्वरका बासिन्दा राममणि पोखरेलले हाथीलेट–१ औरही रोडसँग जोडिएको प्रतिकट्ठा रु पाँच लाख मूल्य पर्ने एक बिघा तीन कट्ठा जग्गा विद्यालयलाई निःशुल्क प्रदान गर्नु भएपछि नयाँ भवन निर्माण सुरु भएको हो ।

विद्यालयमा भवन निर्माणका लागि जमिनको अभाव भएपछि स्थानीय बासिन्दाको आग्रहअनुसार पोखरेलले विद्यालयसँग जोडिएको सो जग्गा निःशुल्क प्रदान गर्नुभएको विद्यालयका शिक्षक रुद्र सुस्लिङ्ले जानकारी दिनुभयो ।

कक्षा १२ सम्म पढाइ हुँदै आएको हाथीलेट उच्च माविको नाममा यसअघि छ कट्ठामात्र जग्गा थियो । जग्गा थोरै हुँदा विद्यालयमा नयाँ भवन निर्माण गर्न समस्या हुँदै आएको थियो । विद्यालयमा पर्याप्त कक्षा कोठा र डेक्स बेन्चसमेत नहुँदा हाथीलेट उच्च माविका विद्यार्थी खुल्ला चौरमा बसेर पढ्दै आएका छन् ।

पोखरेलले प्रदान गर्नुभएको जग्गामा जिल्ला शिक्षा कार्यालय महोत्तरीको आर्थिक सहयोगमा विद्यालयले आठ कोठे नयाँ भवन निर्माण सुरु गरेको छ ।

आफू हाथीलेटको निवासी नभए पनि यस ठाउँको शैक्षिक विकासमा मद्दत हुने विश्वासले जग्गादान गरेको जग्गादाता पोखरेलको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...