Friday, December 25, 2015

गर्भवतीलाई क्याल्सियम र झुल

pregnant_सुरुङ्गा (झापा), १० पुस । झापाको चकचकी स्वास्थ्य चौकीले सबै सर्वसाधारणमा स्वास्थ्यको पहुँच पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्याल्सियम चक्की वितरण सुरु गरेको छ ।

सरकारले गर्भवती महिलाका लागि क्याल्सियम चक्की वितरण गर्ने कुनै कार्यक्रम नल्याए पनि उक्त स्वास्थ्य संस्थाले भने नवजात शिशुको स्वास्थ्यमा ख्याल गर्दै जिल्लामा नै पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य चौकीका प्रमुख (अहेब) लक्ष्मण साहले जानकारी दिनुभयो ।

आदिवासी, जनजाति, मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा रहेका अधिकांश सर्वसाधारण स्वास्थ्य संस्थाको पहुँचमा आउन नसकेकाले उनीहरुलाई पहुँचमा ल्याउन कार्यक्रम सञ्चालन गरिएको अहेब साहको भनाइ छ ।

स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित सहकार्यको खाका कार्यक्रमका लागि छुट्टाएको रु एक लाख ६५ हजारमध्ये केही रकमले एघार हजार ४०० वटा क्याल्सियम चक्की खरिद गरेको र गर्भवती महिलालाई स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आइरन चक्कीसँगै उक्त क्याल्सियम चक्की पनि निःशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य संस्थाका प्रमुख साहले बताउनुभयो ।

अघिल्लो आवको जेठ महिनादेखि स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि नियमित रुपमा आउने महिलालाई गर्भ जाँचको कार्डसँगै क्याल्सियम र आइरन चक्की वितरण गर्दै आएका छौँ – अहेब साहले भन्नुभयो ।

उहाँका अनुसार गर्भवतीलाई क्याल्सियम वितरण गर्न सुरु गरेसँगै स्वास्थ्य संस्था आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको र सात महिनाको अवधिमा १८२ जनालाई झन्डै एघार हजार क्याल्सियम चक्की वितरण गरिएको छ ।

यसैगरी डाँगीबारी स्वास्थ्य चौकीले पनि सहकार्यको खाकामार्फत नै गर्भवती महिलाका लागि झुल वितरण गरेको छ । ४० जनालाई झुल वितरण गरिएको स्वास्थ्य संस्थाका प्रमुख रामनारायण शर्माले बताउनुभयो । शर्माका अनुसार गर्भवती महिलालाई लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया र कालाजार रोगबाट बच्न झुल वितरण गरिएको हो ।

यस्तै शान्तिनगर स्वास्थ्य चौकीले पनि गर्भवती महिलालाई सरुवा रोगबाट बच्न झुल वितरण गरेको छ । स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटाका अनुसार आव ०७१/७२ मा २५७ जना गर्भवतीलाई झुल वितरण गरिएको छ ।

यसअघि आव ०७०/७१ म ३३३ जना र आव ०६९/७० मा २३० जना गर्भवतीलाई सुपानेट झुल वितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...