Friday, January 8, 2016

विद्यालय खारेजीबाट बचाउन पोसाक वितरण

भोजपुर, २५ पुस । भोजपुरको उत्तरी बोया गाविस–७ मा रहेको सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जान थालेपछि विद्यालयनै खारेजीमा पर्ने चिन्ताले विद्यार्थीको आकर्षण बढाउन पोसाक वितरण गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी फुर्लाक्पा शेर्पाले विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई पोसाक, झोला, कापी डटपेन, खेलकुदलगायतका सामग्री वितरण गर्नुभएको हो ।

विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन भन्दै शेर्पाले आफ्नो आमाबुबाको नाममा अक्षयकोष स्थापना गरी दिनुभएको छ । हरेक वर्ष विद्यालयका प्रथम, दोस्रो, तेस्रो हुने तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्न रु ५० हजारको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालय स्थापना हुँदा ७० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा पछिल्लो समय अनपेक्षित रुपमा विद्यार्थी सङ्ख्या घटेपछि उहाँले यस्तो कदम चाल्नुभएको हो । शेर्पाले भन्नुभयो “मैले पढ्दा यो विद्यालयमा ६० भन्दा बढी विद्यार्थी थियौँ तर अहिले कल्पनानै गर्न नसकिने गरी विद्यार्थी सङ्ख्या घटेछ, त्यसैले मैले विद्यार्थीप्रति विद्यालयमा रुची जाओस् भनेर यी सामग्री वितरण गरेको हुँ ।” उहाँले भन्नुभयो “म यसलाई आगामी वर्ष पनि निरन्तरता दिनेछु ।” उहाँले विद्यार्थीका अभिभावकसामु प्रतिबद्धता समेत जनाउनुभयो ।

पोसाक पाएपछि विद्यार्थी दङ्ग थिए । उनीहरुले विद्यालयमै पाएको पोसाक लगाए र झोलामा किताब हाले । विद्यार्थीका अभिभावक पनि दुर्गम ठाउँको विद्यालयमा पहिलोपल्ट यस्तो सहयोग पाएकोमा खुसी देखिन्थे । उनीहरुले सहयोगदाता शेर्पालाई अबीर र खादा लगाएर सम्मान समेत गरेका छन् ।

ग्रामीण समुदायमा रहेको सो विद्यालयमा हाल ३ कक्षासम्म पढाइ भइरहेको छ । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको सो विद्यालयमा अधिकांश शेर्पा तथा तामाङ समुदायका विद्यार्थी पढ्ने गर्छन् । जाडोको समयमा विद्यार्थीलाई विद्यालय आउन जान नै समस्या पर्ने गरेको छ । नजिकै अर्को विद्यालय नहुँदा सानासाना विद्यार्थी दुई घन्टासम्म हिँडेर विद्यालय पुग्ने गरेका छन् । विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको विद्यालयले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको कारण छोरालाई बोर्डिङ र छोरीलाई गाउँमै पढाउने क्रमले पनि विद्यालयमा छात्राको सङ्ख्या बढेको हो । शेर्पाले भन्नुभयो, “छोरालाई २÷४ महिनाको लागि सहर लगेर पढाउने भन्दा पनि दिगोरुपमा अध्ययन हुने ठाउँमा पढाउन सके यो विद्यालय पनि खारेजी हुन सक्दैन । यो विद्यालय खारेज भएमा सानासाना विद्यार्थी ४÷५ घन्टा लगाएर अर्को विद्यालय जानुपर्छ । त्यसैले हामी सबैले विद्यालय खारेजीबाट बचाएर स्तरोन्नति गर्नुपर्छ ।”

विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि आगामी वर्षबाट घरदैलो कार्यक्रम गरी विद्यार्थी सङ्ख्या बढाउने तथा विद्यार्थी केन्द्रित सहयोग सङ्कलन कार्यलाई पनि तीव्रता दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा शेर्पाले बताउनुभयो । “गाउँमा विद्यार्थी नभएको होइन तर अभिभावकलेनै टाढाको अन्य विद्यालयमा लगेर विद्यार्थीलाई पढाउनाले समस्या भएको हो त्यसैले हामी ती अभिभावकलाई भेटेर विद्यार्थीलाई नजिकैको विद्यालयमा पढाउन अनुरोध गर्छौं ।” उहाँले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक विनोद दाहालले विद्यार्थीलाई हौसला बढाउने खालको सहयोग प्राप्त भएकाले आगामी वर्षबाट विद्यार्थी बढ्ने अनुमान गर्नुभयो । कक्षा–३ पास गरेपछि अर्को विद्यालय जानै पर्छ भनेर अभिभावकले टाढा भए पनि माविमै लगेर भर्ना गराइदिनाले पनि सो विद्यालयमा विद्यार्थी घटेको प्रअ दाहालको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...