रौतहट, २१ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानका अन्तरवस्तु बुझाउन नसक्दा तराई मधेसमा आन्दोलन चर्किनु स्वाभाविक भएको बताउनुभएको छ । नेपाली काँग्रेस चन्द्रपुर नगर समितिद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलामा उहाँले संविधान जारी गर्ने विषयमा नेपाली काँग्रेस अत्यन्तै निष्ठावान तरिकाले लागेको बताउनुभयो । उहाँले निर्वाचनक्षेत्र, समानुपातिक, समावेशी प्रतिनिधित्वलगायत विषयवस्तु दलहरूको आपसी सहमतिमा मिलाउन सकिने उहाँको भनाइ थियो । विवादित विषयवस्तु संविधान संशोधनबाट समाधान गर्न सकिने भन्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब दजगजाबाट होइन संसदबाट समस्या समाधान गर्न पहल गर्नुपर्छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले तराई मधेसको अधिकारको मामिलामा अझै के गर्न बाँकी छ त्यसबारे नेपाली काँग्रेस त्यो गर्न तयार रहेको बताउनुभयो । उहाँले अहिलेसम्मकै नेपालको राजनीतिमा सवैभन्दा बढी उपलब्धी संविधान जारी गर्दाका वखत भएको भन्दै संविधानले सबैखाले विभेदको अन्त्य गरेको बताउनुभयो । प्रदेश र सीमाङ्कनका सवालमा अझै वैज्ञानिक र व्यावहारिक मोडल आए नेपाली काँग्रेस मान्न तयार रहेको बताउनुभयो । रासस
No comments:
Post a Comment