Wednesday, January 6, 2016

बेपत्ताजनको सम्झनामा प्रतीक्षालय

बागलुङ, २३ पुस । विगतको सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारले बागलुङमा यात्रु प्रतीक्षालय निर्माण गरेका छन् । बेपत्ताजनको खोजीमा राज्यलाई दबाब दिन र उनीहरुको सम्झनामा बागलुङ कालिका भगवती मन्दिर परिसरमा प्रतीक्षालय निर्माण गरिएको हो ।

धवलागिरि अञ्चलका २६ बेपत्ता परिवारको पहल र लगानीमा प्रतीक्षालय बनाइएको बेपत्ता परिवार समाजकी अध्यक्ष जशोदा शर्माले बताउनुभयो । अन्तर्राष्ट्रिय रेडक्रसको रु दुई लाख, बेपत्ता परिवारबाट आर्थिक सहयोग र ऋणसमेत गरेर रु ६ लाख ३९ हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।

आर्थिक सङ्कलन भएको पाँच लाख ४६ हजारबाहेक बाँकी ९३ हजार रुपैयाँ ऋण रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । “कालिका मन्दिर परिसरमा धेरै ठाउँका व्यक्तिको आवतजावत हुने गर्दछ, हाम्रो पीडा र आवाज बाहिरसम्म पुग्ला भनेर त्यहीँ ठाउँ रोजेका हौँ”, अध्यक्ष शर्माले भन्नुभयो । पन्ध्र वर्ष बित्दासमेत राज्यले बेपत्ताको अवस्था सार्वजनिक नगरेर अन्याय गरेको उहाँको आरोप छ ।

“हाम्रो आवाज सुनिएको छैन, हाम्रो परिवारका सदस्य कस्तो अवस्थामा छन्, कुनै अत्तोपत्तो छैन”, अध्यक्ष शर्माले भन्नुभयो, “बेपत्ता परिवार जुटेर आर्थिक सङ्कलन गरेर प्रतीक्षालय बनाएका छौँ, यसले केही सन्देश दिनेछ भन्ने हाम्रो विश्वास छ ।”

उहाँले तत्कालका लागि प्रतीक्षालयमा २६ जना बेपत्ताजनको नाम अङ्कित शिलालेख राखिएको जानकारी दिनुभयो । थप सहयोग जुटाएर बेपत्ताको तस्विरसहितको विवरण राख्ने तयारी भइरहेको उहाँको भनाइ छ । प्रतीक्षालय निर्माणले बेपत्ता परिवारको न्यायिक प्रक्रियामा दबाब सिर्जना गरेको वकालत मञ्च धवलागिरिका संयोजक राम शर्माले बताउनुभयो । राज्यले बेपत्ता परिवारको मागलाई सम्बोधन गर्न नसकिरहेको अवस्थामा यसले सकारात्मक सन्देश दिने उहाँको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...