काठमाडौं, १४ माघ । मंगलबारदेखि बंगलादेशमा सुरु भएको यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ । बङ्गलादेशको फल्तुल्लाहस्थित खानसाहेब ओसमान अलि रङ्गशालामा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको न्यूजिल्याण्ड ४७.१ ओभरमा सबै विकेट गुमाएर २०६ रनमा समेटियो । न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन बनाए । जोश फिनीले ३७ रन जोडे । नेपालका दिपेन्द्र ऐरीले न्यूजिल्याण्डका ३ र प्रेम तामाङले २ विकेट झारे भने सुनिल धमला र सन्दिप लामिछानेले समान १–१ विकेट लिए । यसअघि व्याटिङ गरेको नेपालका लागि कप्तान राजु रिजालले ४८ रनको योगदान दिए भने सन्दिप सुनार र आरिफ शेखले समान ३९–३९ रन जोडे । त्यस्तै, कुशल भुर्तेलले अविजित ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्र सिंह कार्कीले ६ रन जोडे भने प्रेम तामाङ चार रनमा अविजित रहे । प्रतियोगितामा ओपनरद्वय सन्दिप सुनार र सुनिल धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । प्रतियोगितामा समूह ‘डी’ मा रहेको नेपालले आजको जितसँगै आफ्नो विश्वकप यात्रालाई बोलियो बनाएको छ । त्यस्तै, न्युजिल्याण्डका नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए भने क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रवीन्द्र र जोस फिन्नीले समान एक- एक विकेट लिए । नेपालले यसअघि सन् २००६ मा भएको खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियनको उपाधि जितेको थियो । मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै विश्वकपको लागि छनोट भएको थियो ।
No comments:
Post a Comment