Sunday, February 28, 2016

नेपाली काँग्रेस सभापतिमा पौडेल कि देउवा ?

Agni Chaulagain

नेपाली काँग्रेसको १३ औँ महाधिवेशन नजिकिने क्रम सँगै पार्टी भित्र नेतृत्वका लागि तीव्र ध्रुविकरण सुरु भएको छ । पार्टीमा नेतृत्व लिनको लागि विगतका अधिवेशनमा समेत होडबाजी चलेको थियो भने यस पटक नयाँ ढङ्गमा बहस चल्दै नयाँ नेतृत्व चयनको प्रक्रियामा जानु स्वभाविक रूपमा लिन सकिन्छ । कोइराला परिवार भन्दा बाहिर काँग्रेसको नेतृत्व जान लागेको कारणले पनि विगतका अधिबेशनहरु भन्दा यो पृथक् रूपमा रहेको छ । संस्थापन पक्षबाट रामचन्द्र पौडेल र देउवा समूहबाट स्वय शेरबहादुर देउबाले उम्मेदवारी दिने लगभग पक्का जस्तै भईसकेको कारणले पनि यस्लाई पुष्टि गरेको छ । दुवै समूह आफ्नो प्यानललाई कसरी मुर्तरुप दिन सकिन्छ भनी दौडधुप गरिरहेका छन् ।
दुवै समूहमा लाग्नेहरु कति सिद्धान्तको लागि कटिबद्ध भएर लागिपरेका छन् भने कतिपय पदको लागि आज यता त भोलि उता गरिरहेका छन् । स्व. सुशील कोइरालाको स्वर्गारोहण पश्चात् रिक्तता रहेको संस्थापन पक्षबाट रामचन्द्र पौडेल, शशांक कोइराला, सुजाता कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिहं जस्ता नेताहरू उठ्ने चर्चा भई रहेको थियो भने देउवा पक्षबाट शेरबहादुर देउवा चर्चामा रहेका छन् । संस्थापन पक्षले रामचन्द्र पौडेललाई सभापतिमा राख्दै चर्चामा रहेका अन्य नेताहरूलाई सम्मानपुर्वक पदाधिकारी पदमा उठाउने चर्चा समेत चलिरहेको छ ।
तल्लो तहदेखि प्रतिस्पर्धा भइरहेको यस महाधिवेशनमा केही ठाउमा नेताहरूले आफू अनुकूल नतिजा ल्याउनको लागि पैसाको खोलो बगाएको बाहेक सही प्रजातान्त्रिक अभ्यास भइरहेको सुनिएको छ । तल्लो तह देखि चुनिदै आएका नेताहरूले पार्टी र देशको लागि सही नेतृत्व चयन गर्न सक्ने देखिन्छ ।
यस पटक महाधिवेशन प्रतिनिधि छान्ने क्रममा धेरै नेताहरूको असली हैसियत कार्यकर्ताहरूले देखाई दिएका छन् । मिडियामा सदैव सर्वाधिक लोकप्रिय भनेर प्रचारमा आइरहने नेताहरूको आफ्नो जिल्लामा आफ्नो समर्थक वा नजिकिया भनेर चिनिनेहरुले व्यहोर्नुपरेको पराजयबाट कार्यकर्ताहरू सदैव कसैको नामबाट हैन उसले गरेको त्यागको आधारमा चुन्ने गर्दछन् भन्ने पुष्टि गरेको समेत बताएकाछन । महाधिवेशन प्रतिनिधि चयनमा नाम चलेका कैयन नेताहरूले हार व्यहोर्नु पर्‍यो भने धेरै प्रचारमा आउने सेलिब्रिटी नेताको खासै उपस्थिति देखिन सकेन ।
धेरै आकांक्षीका बिचबाट पार्टीको बागडोर लिन कम्मर कसेका दुवै नेताहरू कोही भन्दा कोही कम छैनन् । दुवै नेताहरूले गरेका त्याग, पार्टीका विभिन्न जिम्मेवारीहरु सफलतापुर्वक पुरा गर्दै पार्टीलाई नयाँ उचाइमा पुरयाएको इतिहास छ ।
आफू सोह्र वर्षको उमेर हुँदा देखि बि.पी कोइरालासंग प्रजातन्त्र पुनर्स्थापनाको लागि आन्दोलन गरेका पौडेलले विभिन्न समयमा गरी पन्ध्र वर्ष भन्दा बढी जेल जीवन बिताउनुका साथै कयौ पटक गिरफ्तारीमा परेको इतिहास छ । पार्टीका विभिन्न पदमा बसी अनवरत कार्य गरिरहेका पौडेल हाल नेपाली काँग्रेसको कार्यवाहक सभापति छन् भने २० जुन २००९ मा शेर बहादुर देउवालाई पराजित गर्दै नेपाली काँग्रेस संसदीय दलको नेता समेत चुनिन सफल भएका थिए ।
१३ जुन १९४६ मा जन्मेका ६९ वर्षीय देउवा १२ सेप्टेम्बर १९९५ देखि १२ मार्च १९९७, २६ जुलाई २००१ देखि ४ अक्टुबर २००२ र ३ जुन २००४ देखि १ फेब्रुवरी २००५ सम्म गरी तीन पटक प्रधानमन्त्री भए । नेपालमा संकटकाल लगाउने विषयमा सभापति गिरिजाप्रसाद कोइरालासंग भएको विवादका कारण पार्टी बिभाजन गर्दै सन २००२ देखि २००७ सम्म नेपाली काँग्रेस प्रजातान्त्रिकको सभापति बने । १ फेब्रुवरी २००५ मा सरकार अपदस्थ गरी राजा ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा सरकार गठन गरी देउवालाई घरमा नजरबन्द गरी राखेकोमा १३ फेब्रुवरी २००६ मा रिहा भएका थिए ।
अक्टुबर १९४४ मा तनहुँ जिल्लाको एक साधारण परिवारमा जन्मिएका पौडेल सोह्र वर्षको उमेर देखिनै प्रजातन्त्रको लागि आफ्नो जीवन समर्पण गरेका, आफ्ना युवावस्थाका सुनौला दिनहरू धेरै जसो जेलमा बिताएका, सदैव पार्टीलाई सर्वोपरी राख्दै मिलेर जानु पर्दछ भन्ने संदेश कार्यकर्ता माझ दिने नेताको रूपमा चिनिन्छन । नेपाली काँग्रेसको विभाजनको समयमा पौडेल कहिले संस्थापन त कहिले देउवा पक्ष भनेर चर्चामा आएका थिए, भनिन्छ उनी नयाँ पार्टी घोषणा गर्ने स्थानमा आउंछन भन्दै निर्धारित कार्यक्रम केही घण्टा समेत सारिएको बताईन्छ । नेपाली काँग्रेस भित्र समय समयमा आएका विवादहरुमा होस् वा विभाजनको संघारमा रहँदा समेत पार्टीलाई एकढिक्का बनाएर लैजान भरमग्दुर प्रयास गरेका पौडेल सबैलाई मिलाएर लैजान सक्ने नेताको रूपमा समेत चितृत गर्ने गरिन्छ ।
कार्यकर्ता माझ देउवा आफ्ना कार्यकर्तालाई संरक्षण दिई आफ्नो समूहमा रहेकाहरुलाई टिकाइराख्न सक्ने, कोइराला परिवारको पार्टीमा दवदवा रहेको समयमा जसरी गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराईलाई पार्टी कामबाट ओझेलमा पारियो, सदैव पार्टीमा गुट नबनाई बस्ने हो भने गणेशमान र भट्टराईको झैँ हुन्छ भन्दै कोइरालासंग जुझ्दै केही सिप नलागेर पार्टी बिभाजन गरी प्रजातान्त्रिक काँग्रेस बनाएको हो भन्ने एक पक्षको जिकिर रहेको छ । देउवाले प्रजातन्त्र लगेर दरबारमा बुझाए भन्ने एक पक्ष भेटिन्छ भने अर्को पक्ष गिरिजाप्रसाद कोइरालाको हुकुमबादी चरित्रका कारण त्यो अवस्था निम्तिन गएको हो भनी उनको बचाव गर्ने समेत गरिएको छ ।
देउवा पक्षले लामो समय सम्म उठाएको कोइराला परिवारको हाबी भन्ने कुरालाई यस पटक भने स्व.सुशील कोइरालाको देहावसान पश्चात् ओझेलमा पारेको छ । काँग्रेसमा कोइराला परिवार एक पर्यायवाचीको रूपमा रहेको, पार्टी नेतृत्व लिने तहमा कुनै नेता तयार नभएको अवस्थामा शशांक कोइराला, सुजाता कोइराला लगायतले तल्लो तहमा बसेर आफूलाई भावी नेतृत्वको लागि तयार गर्दै जाने मनस्थिति समेत बनाएको देखिएको छ । पौडेल कार्यवाहक सभापति चलाउनुका साथै लामो समय सम्म पार्टीका विभिन्न पदमा बसेर काम गरी सकेका अनुभवी नेताको रूपमा चिनिन्छ भने देउवा पनि लामो समय सम्म पार्टीका विभिन्न पदमा रहेर काम गरेका अनुभवी नेताको रूपमा चितृत गरिन्छ ।
पार्टीको वर्तमान अवस्थामा हेर्दा शेर बहादुर देउवा समर्थकहरुको दरो घेरामा रहेको देखिन्छ भने संस्थापन पक्ष भने अहिले सम्म कुन बाटो वा मोडमा जाने, सबै आकांक्षिहरुलाई कसरी मिलाएर लैजाने भन्ने अन्योलग्रस्त अवस्थामा रहेका छन् ।
पार्टीमा ध्रुविकरण तीव्र भइरहेको समयमा प्रतिनिधि चयन कसरि भएको छ भन्ने कुराले समेत सभापतिको चयन निर्क्योल गर्दछ। जिल्लाहरूमा संस्थापन र देउवा पक्षका बिचमा प्रतिस्पर्धा भएको थियो । घोषित परिणाम हेर्दा अधिकांश जिल्लामा संस्थापन पक्षले बढी सभापति जितेको देखिन्छ । जिल्ला सभापतिमा भएको चुनावको समीकरण र केन्द्रीय सभापतिमा हुने चुनावी समीकरण केही हद सम्म भिन्न रहने हुँदा जिल्लाको जितले मात्र यस्ले नै बाजी मार्न सक्छ भनी प्रस्ट रूपमा भन्न सक्ने अवस्था छैन । तर, संस्थापन पक्षबाट देखिएका सबै आकाङ्क्षा राख्नेहरु पद विभाजनमा मिलेर गएमा संस्थापन पक्षले बाजी मार्नेमा भने धेरैको अड्कलबाजी छ ।
देशको सबै भन्दा ठुलो प्रजातान्त्रिक पार्टीको नेतृत्व भनेको आफैमा बढी जिम्मेवारी भएको र देशको लागि पनि महत्त्व राख्ने पद हो । नेपाली काँग्रेसमा चुनिने नेताले नेपाली काँग्रेसको मात्र नभएर सही मार्गदर्शन दिएर देशको विकास निर्माणमा समेत हातेमालो गर्न सक्दछ ।
पार्टीमा पौडेल वा देउवा कस्ले जित्ने भन्दा पनि महाधिवेशनबाट नेपाली काँग्रेसले जित्नु पर्दछ, जसले सम्पूर्ण नेता कार्यकर्ताहरूलाई सरक्षण दिँदै बि.पी.को प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई सही रूपमा कार्यान्वयन गर्दै देश विकासको एकमात्र सही पहरेदार पार्टीको रूपमा नेपाली काँग्रेसले आफूलाई स्थापित गर्न सकोस भन्ने आम कार्यकर्ताले चाहेको देखिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...