Saturday, March 26, 2016

काङ्ग्रेसमा दलको नेता बन्न रस्साकस्सी

26032016091014NC-1000x0

काठमाडौँ, १४ चैत । काङ्ग्रेस नेता रामचन्द्र पौडेलले दलको नेता आफूलाई दिन आग्रह गरिरहेका बेला पार्टी सभापति शेरवहादुर देउवा भने सांसदहको जोडघटाउमा तल्लिन छन् ।

विधानको व्यवस्था र परम्परागत अभ्यास अनुसार संसदीय दलकै नेता प्रधानमन्त्री हुने गरेकाले यतिबेला देउवा आफ्नो विकल्प खोज्न तयार छैनन् । आफ्नै मित्र पौडेललाई पार्टी सभापतिमा पराजित गरेपछि देउवा कांग्रेसको मात्रै नभई राष्ट्रिय राजनीतिको शक्ति केन्द्र बनेका छन् । दलको नेता पौडेललाई दिएर देउवा पार्टीभित्रै अर्को शक्तिकेन्द्र खडा गर्न चाहँदैनन । पौडेल पक्षले पदीय बाँडफाँडको जतिसुकै अनुनय गरे पनि देउवा संसदीय दलको नेता आफू बन्ने तयारीमा रहेको उनी निकट नेता बताउँछन् । त्यसका लागि देउवाले आफू र निकट नेताहरूमार्फत पौडेल पक्षका सांसदहरुलाई आफ्नो पक्षमा ल्याउने कसरत समेत सुरु गरेका छन् ।

पौडेल पक्षमा भने उम्मेदवार को हुने भन्ने नै अन्यौल छ । पौडेललाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रयासमा लाग्दै आएका केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, रामशरण महत सहितका नेताहरु चुनावी प्रतिस्पर्धामा भने उनलाई अघि बढाउन नहुने पक्षमा छन् ।

‘सर्वसम्मत हुने अवस्था आए ठिकै छ, नत्र हार्ने चुनावमा पौडेललाई अघि बढाउन हुन्न,’ पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने, ‘यस्तो अवस्थामा सिंह या महतमध्ये एकजनालाई उम्मेदवार बनाउन उचित हुन्छ ।’ केन्द्रीय सदस्य सिंहका अनुसार दलको नेतामा सर्वसम्मत हुने अवस्था नभए कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा आइतबार छलफल गरिनेछ । ‘हाम्रो पक्षको आइतबार बैठक छ । सभापतिको निर्वाचनमा पनि मैले सल्लाह अनुसार नै रामचन्द्र दाइलाई अन्तिम अवस्थामा छाडेको हो,’ सिंहले भने, ‘दलको नेतामा पनि कसलाई अघि बढाउने भन्ने बिषय सल्लाह अनुसार नै अघि बढ्छौँ ।’

पौडेलको पहिलो प्राथमिकता सभापति देउवालाई फकाएर दलको नेता लिने प्रयास गर्ने, सम्भव नभए आफै प्रतिस्पर्धा गर्ने मुडमा छन् । देउवासँग दुई पटक भएको भेटमा पौडेलले आफूनो सक्रियतालाई हेरेर काम गर्ने ठाउँ दिन आग्रह गर्दै आएका छन् । तर, देउवा पार्टी सञ्चालन र पछि सरकारको नेतृत्व लिने अवस्थामा सल्लाह अनुसारनै आफू अघि बढ्ने बताउदै दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । पार्टीको सभापतिपछि दलको नेतामा पनि देउवासँग प्रतिस्पर्धा गर्न पौडेल आफै अघि बढ्ने सुरमा छन् । उनले दलको नेता जित्न नसकेपनि आफ्नो समूहको सुरक्षाका लागि प्रतिस्पर्धा गर्नुपर्ने तर्क गर्दै आएका छन ।
कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...