चितवन, २५ फागुन । विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा सञ्चालन भइरहेको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जिते पनि तेस्रो सेट गुमाएको पुलिसले प्रतिस्पर्धात्मक चौँथो सेट २६–२४ ले जित्दै उपाधि भिडन्त पक्का गरेको हो । तेस्रो सेट एपिएफले २५–१६ ले जितेको थियो ।
अब पुलिसले उपाधिका लागि भोलि भारतको बिएमडब्लु र बङ्गलादेशको डब्लुडिबीबीचको विजेतासँग भिड्नेछ । सेमिफाइनल हारेको एपिएफले दोस्रो सेमिफाइनल हार्ने टिमसँग भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको फाइनल जित्नेले डेढ लाख रुपैँया पाउने छ । दोस्रोले रु एक लाख र तेस्रोले रु ५० हजार पाउने आयोजक समितिका संयोजक रामहरि सेढाईले जानकारी दिनुभयो । यही फागुन २३ देखि यहाँ भलिवल शुरु भएको थियो । भारत, भुटान र बंगलादेश तथा नेपालका विभागीय टिम गरी खेलमा ६ समुहको सहभागिता रहेको छ ।
No comments:
Post a Comment