Wednesday, March 30, 2016

एक महिनापछि बेवारिसे शव उठे

रुपन्देही तिलोत्तमा, १८ चैत । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक महिनादेखि थुप्रिएका शव बुधबार बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ ।

अञ्चल अस्पताल बुटवलमा फागुन १५ देखि १२ वटा शव जम्मा हुँदा अस्पताल परिसरमा दुर्गन्ध फैलिएको थियो भने नयाँ शव राख्नका लागि समस्या देखिएको अस्पतालले जनाएको थियो । बुटवल उपमहानगरपालिका कार्यकारी अधिकृत धुव्रबहादुर खड्काले एक महिनादेखि थुप्रिएका शव बुधबार व्यवस्थापन गरिएको बताउनुभयो ।

उहाँले अस्थायी रुपमा ठाउँ खोजी गरेर व्यस्थापन गरिएको र स्थायी घाटका लागि जग्गाको खोजी भइरहेको बताउनुभयो । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ६ वटा शव राख्ने फ्रिज (मर्चरी च्याम्बर) रहेका छन् त्यहाँ ठाउँ अभावमा मुर्दाघरमा खुला रुपमा राख्न अस्पताल बाध्य भएको थियो । बुटवल उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शवहरु बुटवल–४ मैनाबगरमा गाड्ने गरे पनि हाल ठाउँ अभाव भएको भन्दै शवहरु उठाउन सकेको थिएन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले तत्काल शव व्यवस्थापन गर्नका लागि निर्देशन दिनुभएको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रवक्ता लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा ३३ दिनदेखि रहेका बेवारिसे १२ शवमध्ये बुधबार ११ शव उठेका छन् भने एक पुरुषको शव बाँकी रहेको छ । अस्पतालमा गत आर्थिक वर्षमा १०१ शव नगरपालिकाले व्यवस्थापन गरेको थियो भने यस आर्थिक वर्षमा २८ वटा शव व्यवस्थापन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...