Wednesday, March 30, 2016

कृषिलाई व्यावसायिक बनाउन जोड

परवानीपुर (बारा), १८ चैत । कृषि क्षेत्रलाई देश विकासको सशक्त मेरुदण्डका रुपमा विकास गर्नका लागि कृषि अनुसन्धान कार्यलाई विशेष प्राथमिकता दिनुपर्नेमा कृषि वैज्ञानिक तथा प्राविधिकले जोड दिएका छन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा बुधबार यहाँ आयोजित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका कार्यालयहरुको मध्यमाञ्चलस्तरीय दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा उहाँहरुले जलवायु परिवर्तन भइरहेको अहिलेको अवस्थामा पनि कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि कृषि अनुसन्धानमा विशेष प्राथमिकता दिनु जरुरी रहेको औँल्याउनु भयो ।

उहाँहरुले पर्याप्त बजेट र आवश्यकताअनुसार विशेषज्ञ तथा प्राविधिक जनशक्तिको पदपूर्ति नहुदाँ कृषि तथा पशुपक्षीको अनुसन्धान कामकारबाही प्रभावित भइरहेकामा पनि जोड दिनुभयो । सो अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् पशु तथा मत्स्य अनुसन्धान कार्यक्रमका निर्देशक डा सीताराम अर्यालले अन्तर्राष्ट्रियस्तरमा परिवर्तित प्रविधिअनुसार नेपाली किसानलाई पनि प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकतामाथि जोड दिँदै परम्परागत कृषिलाई व्यावसायिक बनाउन कृषिका लागि क्षमता अभिवृद्धि गर्ने कार्यमा सम्बन्धित कृषि वैज्ञानिक तथा प्राविधिकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक कैलाशप्रसाद भुडेरले केन्द्रको अनुसन्धान कार्यलाई बढी प्रभावकारी बनाउनका लागि विद्यमान बजेट र विशेषज्ञ तथा प्राविधिक जनशक्तिलाई नै अधिकतम सदुपयोग गरिएको छ भन्दै अहिलेको प्रतिकूल परिस्थितिमा पनि यस केन्द्रका विशेषज्ञ तथा प्राविधिक जनशक्तिले कृषि अनुसन्धानका लागि देखाएको उत्साह र कर्तव्यलाई केन्द्रले मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, कृषि अनुसन्धान केन्द्र बेलाचापी, राष्ट्रिय तेलवाली अनुसन्धान कार्यक्रम नवलपुर, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जितपुर, राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर, कृषि औजार अनुसन्धान केन्द्र रानीघाट, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरबाट सम्पादित कार्यको प्रगति विवरण, कार्य गर्दा आइपर्ने समस्या, चुनौती र त्यसको निराकरणका लागि अवलम्बन गरिएको प्रयासका विषयमा सम्बन्धित कार्यालयका प्रमुख तथा वरिष्ठ वैज्ञानिकले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...