Friday, March 25, 2016

चीनसँगको सम्झौता सन्तुष्टीकोलागि मात्रै

pragya

भारतको लागि पूर्व नेपाली राजदुतथ समेत रहिसक्नु भएका बरिष्ठ कुटनीतिज्ञ प्राडा लोकराज बराल नेपाल र भारतवीचको सम्बन्ध र घटनाक्रमलाई राम्ररी बुझेका कुटनीतिज्ञ हुन । नेपाल चीन र भारत सम्बन्धलाई राम्ररी तुलना गर्न सक्ने उनीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमण, त्यहाँ भएका सम्झौता, त्यसले भारतसँगको सम्बन्धमा पार्न सक्ने प्रभाव लगायतका विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी

चीनसँगको सम्झौतापछि भारतको नेपालप्रतिको दृष्टिकोण कस्तो रहला ?
भारतले आफ्नो कुरा पहिलादेखि गर्दै आएकै छ । उसले संविधान आएको राम्रै हो । तर अलिकति बाँकी रहेको मुद्दा जस्तो मधेसको सवाललाई पनि सल्टाएर जानु राम्रो हुन्छ, सबैको हितमा हुन्छ, भोली अस्थिरता आउँदैन भनेर पहिलादेखि भन्दै आएको छ । त्यसैकारण त्यस्तो कुनै फरक पर्ला जस्तो लाग्दैन ।

भारतले समर्थन नगरेको संविधानलाई चीनले ऐतिहासिक कदम भनेर स्वागत गरेको छ, नेपाल चीन सम्बन्ध सुमधुर बनिरहेको अवस्थामा भारतको मनमा शंका उत्पन्न हुने हो कि ?
यस्तो कुराहरु हामीले नेपालको ४०–५० वर्षको ईतिहासमा हेर्दै आएका छौ । राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव गरेपछि चीनले सर्वप्रथम स्वागत गर्यो, संसारका करिब ११५ मुलुकले स्वागत गरे तर अन्तमा गएर अमेरिकाले पनि के भन्यो भने सैद्धान्तिक रुपले राम्रै हो तर तिम्रो छिमेकले त्यसलाई मान्नु पर्छ अनिमात्रै त्यो बास्तविकतामा परिणत हुन्छ । भारत र चीनको कुरा धेरै हिसावमा तुलनै हुन सक्दैन ।

किन चीन र भारतको तुलना हुन सक्दैन ?
किनकी भारतसँगको हाम्रो यति ब्यापक, गहिरो सम्बन्ध छ । भुगोलले नै त्यो हुन दिदैन । चीनसँग हाम्रो सम्बन्ध राम्रो हुनु पर्छ त्यो अर्को छिमेकी हो । चीनले जहिले पनि यस्तो कुराहरुलाई स्वागत गर्दै पनि आएको छ । उसले स्टेट टु स्टेट रिलेसनमा कहिल्यै पनि तलमाथि गर्दैन । भारतको चाँही विभिन्न किसिमका लगावहरु हुन सक्छन, त्यस्तै खाले सम्बन्धहरु छन । औपचारिक, अनौपचारिक सम्बन्धहरु भएको अवस्थामा उसले विभिन्न समयमा विभिन्न सर्तहरु राख्ने गर्छ । त्यही आधारमा अहिले चीनले स्वागत गरेपनि भारत र चीनको विचमा पनि फरक पर्दैन नेपाल र भारतको सम्बन्धमा पनि अहिले जस्तो छ त्यस्तै हुन्छ त्यसमा खासै फरक पर्दैन ।

नेपाल र चीनले जारी गरेको १५ बुँदे संयूक्त बक्तब्यमा सार्क र संयूक्त राष्ट्र संघमार्फत सहकार्य अगाडि बढाउन सहमति गर्छौ भनिएको छ यसलाई कसरी लिनु हुन्छ ?
चीन यति सर्तकताकासाथ अघि बढीरहेको छ कि उसले भारतलाई जहिले पनि अगाडि हेरिरहेको छ । चीनीया राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिसकेका छन कि त्रिपक्षीय सम्बन्ध राम्रो हुनु पर्छ, विकासमा त्रिपक्षीय सम्बन्धलाई अगाडि बढाउनु पर्छ । त्यो बास्तवमा अहिले हाम्रो लागि पनि फाईदाजनक छ । दुबै सम्पन्न र शक्तिशाली मुलुक हुँदैछन । त्यसैले त्यहाँ भएका विकासबाट हामीले फाईदा लिनु पर्छ । नेपालको लागि चीनले भारतलाई त्याग्न सक्दैन । चीनको भारतमा धेरै ठूलो स्वार्थ छ । आर्थिक स्वार्थ छ, भारतको बजारको स्वार्थ छ । भारतमा चीनको ठूलो लगानी भईरहेको छ । त्यसैले उसले तीनवटै मुलुक मिलेर जाऔ । नेपालमा अस्थिर भईदियो भने भारतको पनि अहित हुन्छ, चीनलाई पनि अहित हुन्छ भन्ने सोच राखेर उसले नेपाल सम्बन्धी नीति तयार गर्छ । त्यसैकारण हामीलाई केही फरक पर्छ जस्तो मलाई लाग्दैन ।

भारतले नेपालको राजनीतिमा चासो राख्दै आएको कारण सम्बन्धमा कहिले काँही दरार आउने गरेको हो ?
सबैले एउटा कुरा बुझ्नु पर्छ । नेपालको भौगोलिक अवस्था के छ, हामी कता तिर फर्किएका छौ , कता तिर सम्बन्ध गासिएको छ ? भन्ने कुरा । सारा आन्द्रा गासिएको एकातिर छ, औपचारिक सम्बन्ध एकातिर छ । चीन भनेको अहिले पो तिब्बत आएर बसिदियो त । तिब्बत त बफरजोन थियो चाईना त पर थियो । चाईनासँग हाम्रो सम्बन्ध र सम्पर्क नै थिएन । चाईनासँग त हाम्रो राज्य राज्य विचको सम्बन्ध मात्रै हो । औपचारिक सम्बन्ध मात्रै हो, भर्खर चाईनीजहरु पर्यटक बनेर नेपाल आईरहेका छन । भारतसँग त हाम्रो सदियौ देखिको सम्बन्ध छ । सुगौली सन्धीपछि एउटा राजनीतिक सम्बन्ध स्थापित भयो । पहिला पनि अग्रेजहरुसँगै हाम्रो सम्बन्ध बढी भयो । चीन त पिक्चरमै थिएन, कहाँ हो कहाँ पर थियो । टाढा भएकोले राम्रो भन्नु एउटा कुरा हो । भारतसँग त हाम्रो यति गहिरो, ठूलो र ब्यापक सम्बन्ध छ कि कहिले काँही तलमाथि भईरहन्छ । मेरो लागि चाँही यो अस्वभाविक होईन । भोलीको दिनमा पनि यस्तो चलिरहन्छ बेला बेलामा ।

चीन नेपालको विकास र स्थायीत्वको पक्षमा देखिन्छ तर भारत चाँही सधै राजनीतिक विषयमा चलखेल गर्छ नि ?
भारतसँगको हाम्रो ऐतिहासिक निरन्तरता छ । सुगौली सन्धीदेखिकै नेपालको ईतिहास पढ्नु भयो भने अग्रेजहरुले पनि यहाँ चियो चर्चा, चासो, यहाँ कस्ले के गर्छ भनेर सधै हेरेको छ । पहिलो अर्को शक्ति थिएन केवल अग्रेजसँग मात्रै सम्पर्क हुन्थ्यो । त्यसैकारण यो कुनै नयाँ र अस्वभाविक कुरा होईन । भारतले नेपालको विकास चाहदैन भन्ने होईन । उसले रातो दिन नेपालमा स्थायीत्व विकास नै हाम्रो लागि महत्वपूर्ण हुन्छ भनेर दोहोर्याईरहेको छ ।

तर त्यो कुरा चाँही ब्यवहारमा देखिएन नि ?
हाम्रो आन्तरिक कारणले गर्दा उ कहिले काही गासिन पुग्छ । कहिले काँही उसको रणनीति पनि हुन सक्छ । श्रीलंकामा पनि तामिलको विषयलाई राजिब गान्धीले हस्तक्षेप नै गरे, लडाईनै लडे । यस्तो हुन्छ तर यो राम्रो कुरा चाँही होईन ।

नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न भारत सधै आतुर नै देखिन्छ नि ?
त्यस्तो गर्नु पर्छ भन्ने त होईन तर ठूला शक्तिहरुले आफ्नो स्वार्थकोलागि विभिन्न खाल्को उसको दृष्टिकोण हुन्छ त्यसलाई कायम राख्न उसले गर्न खोज्छ । तर हामीले हाम्रो घर बलियो बनाउनु पर्छ । घर बलियो बनायौ भने यस्तो हुदैन । नेपालमा संविधान घोषणा भईसकेको छैन, हामीले संसोधन गर्छौ भन्यौ । पहिला नै त्यो कुरा मिलाउन लचिलो भईदिएको भए मधेसको मुद्दा आउने नै थिएन । अलिकति उनीहरुको माग पुरा गरिदिएको भए के विग्रन्थ्यो र । यो मुलुक टुक्रिदैन, कोही पनि टुक्राउने पक्षमा छैन । अब हाम्रो मानसिकता पनि परिवर्तन गर्नु पर्छ । अब भारतको पनि मानसिकता परिवर्तन गर्नु पर्छ । पुरानो औपनिवेशिक माईण्ड सेट राख्नु हुँदैन । त्यसकारण पहिला हामीले हाम्रो घर बलियो बनाउनु पर्यो । राजनीतिक रुपमा अहिले पनि हामी अस्थिर नै छौ ।

त्यसो भए राजनीतिक नेतृत्व कमजोर भएको हो ?
हो, नेतृत्व कमजोर भयो, पार्टीहरुको सोचाई भएन । पुरानो मानसिकताले हामी चलेका छौ । भारतप्रतिको नेपालको नीति पनि त्यही हो । अलिकति लचिलो भई दिदा नरेन्द्र मोदी आईदिदा त्यत्रो वाहवाही भयो । त्यहाँ पनि मोदीले गर्दा मात्रै हुने रहेन छ । मोदीले निर्णय गर्न खोज्छन तर त्यहाँ पनि अर्कोकिसिमको सञ्जाल छ । त्यसले पनि प्रभावित गरेको हुन्छ । त्यसकारण पहिला हामीले हाम्रो घर नै बलियो बनाउनु पर्छ ।

उपप्रधानमन्त्री भीम रावलले नेपाल चीन सम्झौताले भारत झनै खुसी भएको छ भन्नु भएको छ, तपाईलाई कस्तो लाग्छ ?
भारतको यो हाम्रो पुरानो क्षेत्र हो, यसमा अरुको चलखेल नहोस भन्ने उसको भित्रि ईन्छा हुन्छ तर अहिलेको जमानामा त्यो मात्रै भनेर हुँदैन । चीन र भारतवीच यत्रो सहकार्य भईरहेको छ । भारत खुसी भएको छ कि छैन त्यो चाँही थाहाँ छैन तर यसमा म के कुरामा सहमत छु भन्दा खुसी चाँही हुनु पर्छ । भारतको चासो र स्वार्थको विरुद्ध हामीले हस्तक्षेप गर्यो भने उसले चलखेल गर्ने, गुनासो गर्ने कुरा गर्छ । होईन भने यस्तो ल्याउने, ट्रान्जिट पोईन्ट खोल्ने कुरा कति सम्भव छ कि छैन, केवल कागजमा मात्रै लेखेर हुँदैन ।

पारवहन सम्झौता भएपछि अब तेस्रोमुलुक हुँदै चीनबाट सामान आउन सक्छ ?
एकथरी एकदमै उत्तेजित भएको पनि देखिन्छ । पहिला पनि काराकोरमबाट ल्याउनु पर्छ भनेर हावादारी कुरा गर्नेहरु पनि धेरै छन । राजनीति भनेको केवल सैद्धान्तिक र कागजको सम्झौताले मात्रै चल्दैन ब्यवहारमा उत्रिनु पर्दछ । त्यो अहिलेलाई त्यती सम्भव देखिदैन । त्यो संैद्धान्तिक रुपमा चीन पनि हाम्रो ईन्ट्रि पोईन्ट भयो भन्ने मात्रै हो हामीलाई सन्तुष्टीकोलागि । आईके गुजराल प्रधानमन्त्री हुँदा फुलबारी मार्ग खुलेको हो । तर त्यहाँबाट एउटा पनि ट्रक गएन । त्यसकारण हाम्रो संरचना निर्माण गर्नु पर्यो । यहाँ बाटो घाटो राम्रो बनाई दिनु पर्यो । केही बन्दै बन्दैन झगडामात्रै गरेको छ । प्रोजेक्ट केही छैन, सय वर्षमा सातसय मेघावाट विद्युत उत्पादन भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...