Monday, March 7, 2016

झापा ११ लाई हङकङ झापा मञ्चको सहयोग

footballबिर्तामोड, २४ फागुन । पछिल्लोपटक फुटबल खेलमा चर्चा कमाएको झापा ११ फुटबल क्लबलाई हङकङमा रहेका झापालीहरुको संस्था हङकङ झापा मञ्चले नगदसहित खेलकुद सामग्री प्रदान गरेको छ ।

झापाको बिर्तामोडमा सोमबार एक कार्यक्रमको आयोजना गरी मञ्चका अध्यक्ष छत्र सुब्बाले नगद तीन लाख पचास हजारसहित खेलकुद सामग्री प्रदान गरेका हुन् । क्लबका अध्यक्ष जलकुमार गुरुङलाई नगदसहित दुई सेट जर्सी प्रदान गरिएको हो ।

राष्ट्रिय लिग फुटबलमा झापा ११ ले देखाएको पर्फमेन्स र मोफसलमा भएका फुटबल प्रतियोगितामा च्याम्पियन बनेपछि हङकङमा रहेका झापालीहरुको मनोबल उच्च भएको भन्दै मञ्चले सहयोगको हात अघि बढाएको अध्यक्ष सुब्बाको भनाइ थियो ।

‘फुटबलको माध्यमबाट झापा ११ ले झापा र झापालीलाई विश्वभर चिनाएकाले हामी गर्वान्वित छौँ’, रकम हस्तान्तरणपछि खुसी देखिएका अध्यक्ष सुब्बाले भने, ‘हामी सकेसम्म वार्षिकरुपमा झापालाई सहयोग गर्न तत्पर रहनेछौँ ।’ बङ्गबन्धु कप र साग गेम्समा झापाका विशाल राई बी र अनन्त तामाङको योगदानको प्रशंसा गरेका उनले झापा खेलाडी उत्पादनको जिल्ला भएको चर्चा गरे ।

हङकङमा रहेका १२ हजार झापालीलाई फुटबलकै माध्यमबाट झापा ११ ले मन छुने काम गरेको अध्यक्ष सुब्बाको भनाइ थियो । मञ्चले खेलकुद र शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना बनाइरहेको पनि उनले जानकारी गराए ।

क्लबका अध्यक्ष गुरुङले मञ्च परिवारलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरुका कारण झापा ११ ले आफ्नो उचाइ बढाउँदै लगेको धारणा राखे । उनले मोफसलकै सर्वाधिक राशिको झापा गोल्डकप चैत तेस्रो साता आयोजना गर्न लागेको पनि जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...