Tuesday, March 29, 2016

झापा गोल्डकपको तयारी पूरा

IMG_0540

लक्ष्मी काफ्ले
बिर्तामोड१६, चैत । बिहीबारबाट सुरु हुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिता ‘झापा गोल्डकप २०७२’ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको मुल आयोजक समितिले मङ्गलबार पत्रकार सम्मेलन गरी ९० प्रतिशत तयारी पूरा भएको जनाएको हो ।

चैत २७ गतेसम्म सञ्चालन हुने नकआउट चरणको प्रतियोगितामा भारतका २ टिमसहित १० वटा टिमको सहभागिता रहने पत्रकार भेटघाटमा जनाइयो । आयोजक झापा ११, मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, रुपन्देही ११, कास्की ११ तथा भारतका गोर्खा ब्वाइज र साङ्ली डिस्ट्रिक्ट फुटबल एसोसिएसन प्रतियोगितामा सहभागि हुने वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामाले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन थाइ फुड्सले ८ लाख रुपैयाँ सहयोग गरेको मूल आयोजक समितिका महासचिव गणेश पोखरेलले बताए । प्रतियोगिताका लागि हालसम्म करिव ७ लाख रुपैयाँ सङ्कलन भइसकेको जनाइएको छ । दाताबाट २५ लाख रुपैयाँ सङ्कलन हुन बाँकी रहेको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता सञ्चालनबाट बचत भएको रकमले झापा ११ फुटबल क्लवको स्तरोन्नती गरिने एन्फाका केन्द्रीय सदस्य एवम् झापा ११ का अध्यक्ष जलकुमार गुरुङले बताए । साउदी अरवमा कार्यरत नेपाली युवाको समूह ‘झापा ११ फुटबल फ्यान साउदी अरब’ले प्रतियोगिताका लागि १ लाख ३३ हजार ६२० रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उद्घाटन खेल आयोजक झापा ११ र भारतको साङ्ली डिस्ट्रिक्ट फुटबल एसोसिएसनबीच हुने छ ।

तस्वीरः प्रतियोगिताका लागि तयार गरिएको प्याराफिट ।

गोल्डकपलाई स्वागत गर्दै सरसफाई
गोल्डकपलाई स्वागत गर्दै बिर्तामोड नगरपालिकाले मङ्गलबार नगर सरसफाई गरेको छ ।

IMG_0576

काङ्ग्रेस झापाका सभापति उद्धव थापाले सरसफाई कार्यक्रमको उद्घाटन गरे । सरसफाई कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको नेतृत्वमा सम्पूर्ण कर्मचारी, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठन, मारवाडी युवा मञ्च बिर्तामोड, वाणिज्य संघ बिर्तामोड, मित्रनगर टोल सुधार समिति, त्रिवेणी टोल सुधार समिति, पाथीभरा टोल सुधार समितिलगायत संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

एमाले बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाई, एमाओवादी बिर्तामोडका अध्यक्ष अरुण श्रेष्ठ, सुरक्षा निकाय र सर्वसाधारणसमेतको उपस्थिति रहेको बिर्तामोड नगरपालिकाका प्रसाशन शाखा प्रमुख मेघराज बाँस्तोलाले बताए । कार्यक्रममा सहभागिले हातमा झाडु लिएर करिव डेढ घण्टासम्म नगरको सरसफाई गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...