Wednesday, April 20, 2016

आधनक सचर मधयमम अनलईन मडयक वसवसनयत -परकश शरषठ

unnamed

करिव २५-३० बर्ष पहिला हाम्रो गाउँघर तिर पत्रपत्रिकाको बारे त्यती सारो जानकारी थिएन । तापनि मेरो गाउँ सदरमुकाम बाट त्यती दुर्गम नपर्ने र गाउँमा बलेवा बाग्लुङ एर्पोर्ट पनि संचालन रहेकोले अक्कल -झुक्कल गोरखापत्र नामको पत्रिका जुन नेपालको सरकारी स्वामित्वमा संचालित पुरानो पत्रिका भने देखिन्थ्यो । त्यो पनि एर्पोर्टमा काम गर्ने कर्मचारी अधिकृतहरुले कार्यालयमा मगाउने गरेका र मेरो आफ्नै घरमा कृषि विकास बैक साना किसान विकास आयोजनाको कार्यालय भाडामा बसेको र त्यस कार्यालयका कार्यालय प्रमुखसँग ती एर्पोर्टका हाकिमहरुको पनि दोस्ती भएकोले तिनाहरुले पढि सकेपछि ती पत्रिकाहरु साना किसान विकास आयोजनाका हाकिम सम्म आउने र त्यस अफिसमा प्रायः विहान-वेलुका र अन्य समयमा समेत मेरो हाकिमसँग राम्रो संगत भएकोले पत्रिका पुरानै डेटको भएपनि पढ्न पाईन्थ्यो । पछि बहुदल आएपछि भने घटना र विचार साप्ताहिक र देशान्तर साप्ताहिक नामको पत्रिका साना किसान विकास आयोजनाको अफिसमा समेत साप्ताहिकरुपमा आउन थाले पछि भने सहजरुपमै पत्रिका पढ्ने मौका मिल्यो र ती पत्रिका खासमा राजनितिक खुराकहरु समेटिएका पत्रिका थिए र भरखरै बहुदलीय व्यवस्था आएकोले पनि राजनितिक घर्माघर्मीका समाचार र लेखहरुनै ती पत्रिकाका मुख्य आकर्षक सामाग्रीहरु हुने गर्थे । खासगरी वि.सं. २०५३/५४ सम्म गाउँघरमा रेडियो नै सुचना र संचारको भरपर्दो माध्यम थियो । नेपाल टेलिभिजन शहरमा मात्रै सिमित थियो । गाउँघरमा विस्तारै विद्युत प्रसारण लाईनहरु विस्तार हुनेक्रम जारी थियो । खासै वि.सं. २०६० तिरमा भने गाउँघर तिर पनि विस्तारै एन्ट्ना , डिस्क र केवुल सिस्टमबाट टेलिभिजनहरु हेर्ने चलन चल्न थालेको थियो ।

विस्तारै समय बित्दै जाँदा कान्तिपुर लगायतको पत्रिकाहरु पनि गाउँमै पढ्ने अवसर पाईयो र पछि कलेजको पढाई पढ्ने ताका भने पोखरा र काठमाण्डौ शहरमा विभिन्न नामका धेरै थरी अखवार र अन्य साप्ताहिक , पाक्षिक , मासिक पत्रिका पढ्ने मौका पाईयो । त्यतीवेला अहिलेको जस्तो न त मोवाईल फोनको नै पहुँच थियो न त ईन्टरनेटमा आजको जस्तो छ्याप्छ्याप्ती अनलाईन पत्रिकाहरुनै पढ्न पाईन्थ्यो । वि.सं २०५६/५७ तिरको कुरा मलाई राम्ररी हेक्का छ, त्यती वेला हामीलाई डिग्री कलासमा फाईनान्स विषय पढाउने सरले कलास लिईरहेको वेला एक्कासी फोनको घण्टी बज्यो र उहाँले “एसक्युज मी” भन्दै कोटको खल्टीबाट मोबाईल फोन निकालेर बोल्नु भयो र भन्नु भयो की वेला न कुवेला फोन गरेर पैसा चार्ज गर्यो । त्यो सुनेर म दंग परे किनकी मैले ल्याण्डलाईन र भिएसएफ/सिडिएमए सेट फोन बाहेक देखेको थिईन । पहिलो पटक वयरलेस सेल फोन देख्दा अचम्म परेको थिए र साथीहरुसँग बुझ्दा त्यो फोन विशेष धनाढ्य र भिआईपी सँग हुने र धेरै महंगो पर्ने भन्ने थाहाँ पाईयो ।
पछि वि.सं २०६०/६१ तिर नेपाल टेलिकमले हाम्रै जिल्ला तिर समेत पहिलो पटक पोस्ट पेड सिमकार्ड बाढेर पहिलो पटक मोवाईल फोन सहित हातमा सिमकार्ड पाउँदा संसारको ठुलो युद्ध जिते झै भएको थियो । हुन पनि किन नहोस् त्यतीवेला आवेदन दिने हजारौ व्यक्तीहरुबाट केही सय व्यक्तीहरुले मात्र सिमकार्ड पाएका थिए । पछि केही समय पछि प्रिपेड सिमकार्ड बाँढ्न थालियो । विस्तारै गाउँ-गाउँमै पसल पसलहरुमा नेपाल टेलिकम र मेरो मोवाईलको सिमकार्ड पाउन थालियो र आज आएर त हरेकको हात-हातमा अत्याधुनिक ईन्टरनेट सहित फेसवुक र अनलाईन अखवार पढ्न मिल्ने मोवाईल फोन भईसक्यो । यसरी १०/११ बर्षकै अन्तरालमा संचार क्षेत्रमा निकै परिवर्तन आएको पाईन्छ । यति सम्म की आजकल त मोवाईल फोन त सुविधाको वस्तु जस्तै भैसक्यो ।
वर्तमान समयमा आएर त केही समय देखि छिन-छिनमा न्युज र आर्टिकलहरु आईरहने साथै भिडियो समाचार सहितका अनेक खुराक समेटिएका अनलाईन मेडिया/ वेभपेज/ पोर्टल/ ब्लक र फेसवुक पेज/ गुरुप समेत संचालन भएका छन् । कुनै विषयवस्तु बारे जानकारी लिन गुगल लगायत विभिन्न सर्च ईन्जिनहरु समेत ईन्टरनेटमा सजिलै उपलब्ध हुने गरेको छ । हरेक जसो पेपर मेडियाको आफ्नै Website समेत रहेकोले ईन्टरनेट हुनेहरुले सजिलै घरमै कम्प्युटर र मोवाईलको स्क्रीनमा समाचार , लेख, खेलकुद, मनोरञ्जनात्मक सामाग्रीहरु लगायत धेरै विषयवस्तु समेटिएका सामाग्रीहरु समेत पढ्न र भिडियो दृश्यहरु हेर्न समेत सकिन्छ । यति सम्मकी टेलिभिजनको ब्रेकिंग न्युज र विभिन्न सामाग्री पनि अनलाईन र फेसवुक पेजहरुमा हेर्न पाईने पनि हुन्छ । त्यस्तै टेलिभिजनबाट प्रसारित प्रायः जसो कार्यक्रम र टेलिफिल्म तथा टेलिशिरियल समेत युट्युव च्यानलमा सजिलै हेर्न सकिन्छ । रेडियो, एफ.एम. रेडियो देखि टेलिभिजन समेत सेलफोन/ मोवाईलमा हेर्न मिल्ने भईसक्यो । कम्प्युटर र स्मार्टसेलफोनहरुमा बच्चा देखि जमान सम्मकालाई खेल्ने विभिन्न खेलहरु र मनोरञ्जनात्मक सामग्रीहरु हेर्न मिल्ने भई सक्यो । व्यापार तथा व्यवसाय देखि धार्मिक एवं सामाजिक, राजनितीक प्रचार प्रसार गर्ने माध्यमको रुपमा समेत अनलाईन पोर्टल र सामाजिक संजालहरु फेसवुक, ट्युटर , ईन्स्टग्राम आदीको व्यापक प्रयोग गरेको पाईन्छ ।
पक्कै पनि संचारका आधुनिक साधनहरुको विकास र विस्तार हुनु आफैमा सकारात्मक काम हो तथापी आजकल रहर र सस्तो लोकप्रियता कमाउन संचालन गरेका अनलाईन मेडिया र फेसवुक पेज एवं ग्रुपले भने समाचार र अन्य समसामयिक गतिविधी बारेका सामाग्रीहरुको विस्वासनियता माथी कतिपय समयमा प्रश्न चिन्ह खडा गरिरहेको पाईन्छ। कतिपय अवस्थामा यस्ता अपत्यारिला समाचार र शिर्षक अनुसारका सामाग्रीहरु पढ्न खोज्दा नभेटिनुले पाठक वर्गहरु मर्कामा परेको गुनासाहरु पनि सुन्दै आएको पाईन्छ । स्वच्छ र निस्पक्ष समाचार एवं जानकारीहरु दिएर पत्रकारिताको धर्म निवाउनु जरुरी छ । बरु सबै क्षेत्र समेट्न सक्ने संसाधनहरु प्रयाप्त नभए निश्चित दायरा तोकेर समाचार र आवस्यक सामाग्री राख्दा पनि हुन्छ तर कुनै पनि मेडियामा प्रसारित हुने सामग्रीहरु सत्य र यथार्थपरक हुनै पर्छ साथै समाजमा अन्यौल र द्वन्द सृजना गर्ने सामग्री भने जानाजान प्रकाशित गर्नु हुँदैन ।
पत्रकारिताको आचारसमिता र मान्यता नाघेर क्षणिक प्रलोभनमा पितपत्रकारिता कदापी गर्नु हुँदैन किनकी यसलाई राज्यको चौथो जिम्मेवार अंगको रुपमा लिने गरिन्छ । संचारको माध्यम चाहे त्यो प्रिन्ट माध्यम होस् या विद्युतिय कम्तीमा सबैले सत्य-तथ्य र आधारयुक्त सही समाचार सामाग्री राख्ने प्रयास गर्नु पर्छ । त्यस्तै स्तम्भ , व्लक, आलेख , विचार जे जति नामका सामाग्री पस्किन्छ त्यो पस्किन भान्छा तयार गर्ने अर्थात् लेखक महोदयहरुले पनि आफ्नो व्यक्तिगत अभिष्टा पुरा गर्न झुट र भ्रमागत विषय र विश्लेषण पस्कने काम गर्नु हुँदैन । एकछिनको वाहवाह पाउनको लागी कसैलाई पातलमै पुराउन र कसैलाई आकाश माथी उडाउने गर्नु पनि राम्रो हैन र खाली राजनितीलाई दोष दिएर निकास पस्कन नसक्ने आर्टिकलहरुको समेत खासै अर्थ रहदैन । तपाई समस्या देखाउन जान्नेले समाधानका उपाय पनि बताउनु जरुरी हुन्छ ।
यसरी हेर्दा, अनलाईन न्युज पोर्टलहरुले पनि भरपर्दो र विस्वासनिय आधार विना समाचार सामाग्री राख्न हुँदैन किनकी यस्ता सामाग्रीले समाजमा ठुलो भ्रम फैलाएर अप्रिय घटनाहरु पनि हुन सक्छन् । तसर्थ प्रत्येक प्रसारित सामाग्रीको विस्वासनियता प्रति अति सजग र जवाफदायी हुन पर्ने हुन्छ । कुनै कुरा अनुसन्धान र खोजमा आधारित हुने र विना अनुसन्धान र खोज तथ्य, सत्य बाहिर आउँदैन भने अनुमानको भरमा र बाहिरी हल्लाको भरमा समाचार बनाएर राख्नु यत्तिकै लेखको रुपमा प्रस्तुत गर्नु सामाजिक हितपरक हुन सक्दैन । अत: समाचार र प्रसारणका लागी तयार हरेक सामाग्रीलाई राम्ररी अध्ययन र विश्वास गर्ने आधार भएपछि अनलाईन मेडियामा पव्लिस गर्दा नै उत्तम हुन्छ । अझै समाचार सामाग्रीहरु आकर्षकरुपमा प्रस्तुत गर्दा दृश्य सामाग्री अर्थात् फोटोहरु र भिडियो क्लिक राख्दा अझै विस्वासनिय र मान्छेहरुको झ्याप्पै नजर समेत पर्ने गर्दछ । अनलाईन मेडियामा राख्ने समाचार, लेख , स्तम्भ, मनोरञ्जनात्मक सामाग्री, खेलकुद, स्वास्थ्य , आर्थिक, राजनितिक, समाजिक, साहित्यिक, समसामयिक अन्य सामाग्रीहरु आदीलाई आकर्षकरुपमा प्रस्तुत गर्न सके अझै पाठकहरु विच लोकप्रियता समेत बढ्न जान्छ ।
त्यस्तै कुनै लहैलहैमा नभएर दिगोरुपमा समाजमा सकारात्मक प्रभाव हुने गरि अनलाईन मेडियाहरु चलाउन सके साथै कम्तीमा Journalism को ज्ञान एवं अनुभव भएको व्यक्तीहरुबाट यस्ता मेडियाहरु संचालन हुनसकेमा राम्रो हुन सक्ने साथै विभिन्न व्यवसाय र पेशामा लागेका व्यक्तीबाट आफ्नो व्यवसाय र पेशाको प्रवर्धन गर्नको लागी पनि विज्ञापन सामग्री प्राप्त गर्न सकिने र उक्त अनलाईन पत्रिकालाई निरन्तर चलाउने आधार खडा हुन सक्ने र साथमा अरु अनलाईन टेलिभिजन, अनलाईन एफ.एम.रेडियो लगायत थुप्रै संचारका क्षेत्रमा पाईला बढाउन पनि संभव देखिन्छ । जसरी कान्तिपुर पव्लिकेशनको प्रिन्ट मेडिया देखि विद्युतिय मेडियामा एकछत्र राजनै चलिरहेको छ भन्न पनि सकिन्छ, यस्तो हुनुमा योजनावद्धढंगबाट कुशल व्यवस्थापकहरु र असल संचारकर्मीहरुकोनै हात रहेको छ भन्न सकिन्छ । वास्तवमा यसले एफ.एम.रेडियो देखि टेलिभिजन, कान्तिपुर पत्रिका र अनलाईन पत्रिका साथै अन्य बैक-विक्तिय, व्यवसायिक क्षेत्र लगायत अनेक क्षेत्रमा लगानी डाईभर्सिफाई गरेको पाईन्छ । यसले गर्दा कुनै क्षेत्रको व्यवसाय डुबेमा पनि अर्को व्यवसायबाट रिकभर हुन सक्ने हुन्छ । यसप्रकार दीर्घकालिन सोचबाट अनलाईन पोर्टल लगायतका आम संचार साधन स्थापना र संचालन हुन सके हामी जस्तो सामान्य नागरिकले सही र यथार्थ राष्ट्रिय -अन्तर्राष्ट्रिय खवर, घटना, समसामयिक परिवर्तन र अन्य समसामयिक विषयको बारे जानकारी पाउन सजिलो हुने र विश्वासनियता पनि हुने थियो ।

बाग्लुङ(हाल- बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...