Sunday, April 24, 2016

ईश्वरले घरघरलाई मन्दिर बनाउँदै

ईश्वर कृष्ण महाराजको धार्मिक महोत्सवको तस्वीर 3

देवर्षि, नवलपरासी/चितवन । घर-घरलाई मन्दिर बनाउने, भूकम्प पीडित तथा असहाय बालबालिका लगायत सबै जातजातिका बालबालिकालाई अध्ययन गर्न विज्ञान र धर्म–अध्यात्मको फ्युजन भएको गुरुकुलको निर्माण गर्नेलगायतका उद्देश्यहरू राखी बालव्यास ईश्वरकृष्ण महाराजले यही २०७३ बैशाख १ देखि १५ गतेसम्म सञ्चालन हुने गरी नवलपरासी जिल्लाको गैंडाकोट नारायणी नदी किनारमा हिन्दूधर्म संरक्षण धार्मिक महामहोत्सव महायज्ञ गर्नु भएको छ ।

ईश्वर कृष्ण महाराजको धार्मिक महोत्सवको तस्वीर 1

धर्म संस्कृतिलाई समायानुकूल तरिकाले सदुपयोग पूर्वक अवलम्बन गर्नुपर्छ भन्ने मान्यता राख्ने ईश्वरकृष्णका महायज्ञहरू केही पृथक शैलीका हुने गर्छन् । यसै क्रममा यस पटक सञ्चालन भएको महायज्ञमा घरघरलाई मन्दिर बनाउने अभियान सञ्चालन भएको छ । जसमा मान्छेहरूको आर्कषण बढी देखिएको महामहोत्सवका महासचिव खगराज आचार्यले न्यूज टिमलाई बताएका छन् ।

ईश्वर कृष्ण महाराजको धार्मिक महोत्सवको तस्वीर 2

यसै गरी भूकम्पमा पीडित लगायतका असहाय बालबालिका एवं कुनै पनि जातजातिका बालबालिकालाई अध्ययन गर्न ढोका खुल्ला राखी विशिष्ट खालको गुरुकूल चितवनको देवघाटमा निर्माण शुरु भएको र सो गुरुकूलको लागि महामहोत्सवमा जम्मा भएको यज्ञशेषको सदुपयोग गरिने लक्ष्य रहेको महोत्सवका संयोजक अमृत भट्टचनले जानकारी गराउनु भएको छ ।

ईश्वर कृष्ण महाराजको धार्मिक महोत्सवको तस्वीर 4

बैशाखको गर्मीमा महायज्ञ/महामहोत्सवमा प्रत्यक दिन दर्शनार्थीको घुईचो लागिरहेको देखिन्छ । महोत्सवको दर्शनको लागि प्रमुख सेनापति राजेन्द्र क्षेत्री, प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी कर्मचारीहरूको आगमन भएको आयोजकले बताएका छन् । त्यस्तै नेपाली काँग्रेसका सांसद तथा नेता सशाङ्क कोइराला लगायतका राजनीतिक क्षेत्रका व्यक्तित्त्वहरू पनि यज्ञमा उपस्थिति भएको बुझिएको छ ।

ईश्वर कृष्ण महाराजको धार्मिक महोत्सवको तस्वीर

कलिलो उमेरमै धर्मसंरक्षणको क्षेत्रमा विभिन्न खालका उल्लेखनीय कार्य गरी प्रसिद्धि बटुलीसकेका ईश्वर कृष्ण नेपालमा मात्रै नभएर विश्वमै परिचित हुनुहुन्छ । २०७० सालमा नेपालको लुम्बिनी भैरहवामा गरिएको महायज्ञ जसलाई भारतीय टेलिभिजन आस्थाबाट प्रत्यक्ष प्रसारण गराई विश्वलाई भगवान बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सत्–आवाज पुर्याएर र गत वर्ष जेठमा भारतको नयाँ दिल्लीमा नेपाल महिमा महायज्ञ गरेर भारतीयहरूको नेपालप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उहाँले पहल गर्नुभएको थियो । यसै गरी राष्ट्र–राष्ट्रियताको भावनालाई बोकेर क्यानडा लगायतका मुलुकहरूमा समेत ईश्वरले धार्मिक याज्ञिक अनुष्ठान सम्पादन गरिसक्नु भएको छ ।

विश्व जागरण महाअभियान ट्रष्ट मार्फत सनातन धर्म ॐ कार परिवारसँग सहकार्य तथा पारिवारिक भावनाको अभिवृद्धि गर्दै समाजमा वैदिक धर्मको संरक्षणका लागि योगदान पुर्याउँदै आउनु भएका ईश्वरकृष्णको घर–घरलाई मन्दिर बनाउने अभियानले सार्थकता पाएमा समाजमा वास्तविक रूपमा धर्म संस्कृतिको महत्त्व पुनर्जागृति हुनसक्ने सहज अनुमान गर्न सकिन्छ । त्यस्तै उहाँको उद्घोष अनुसारको गुरुकूल निर्माण भएमा शिक्षाको सर्वाङ्गिण विकासमा ठूलो मद्दत पुग्ने देखिन्छ ।

ईश्वर कृष्ण महाराज

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...