Thursday, May 26, 2016

हे भ्रष्टाचारी नवयुवराजहरु हो ! रविन्द्र मिश्रले जस्तै आमाको किरिया खान सक्छौ ?

SARGAM

रविन्द्र मिश्रले आमाको मुख हेर्ने औँशीको दिनमै मिडियाको सामुन्ने मेरी आमाको कसम मैले जानाजान एक पैसा भ्रष्टाचार गरेको भए आमाकै रगत पिए बराबर होस् भन्दा मिडियाभरि हलचल हुँदा कतिपय जनयुवराजहरुलाई पनि हल्लाएकै हुनुपर्छ । त्यो कठोर कसम खाईसकेपछि मलाई पनि मनमनै यस्तो लाग्यो : दाजुले यति कठोर कसम त नखाएकै भए हुने !

त्यसको हप्ता दश दिन सम्म म चुपचाप त बसेँ तर मनले मान्दै मानेन, उनको परोपकारी पत्रकारिताबाट प्रभावित म बबुरोले उनी बारे चलेका सबै चर्चाहरुलाई अक्षरश: नियालेँ अनि आफै एउटा निष्कर्षमा पुगेँ : रबिन्द्र दाजुले ठिकै गरेछन् किनकी ईमानको ईजलासमा आफ्नी आमाको कसम भन्दा ठूलो बकपत्र अरु हुनै सक्दैन ।

रबिन्द्र मिश्रको यो बकपत्र पछि पनि दिनदिनै अख़्तियारको बिज्ञप्तिमा भ्रष्टाचार, बिगो, मुद्दा, रंगेहात पक्राउ , जेल चलान जस्ता खबरहरु आईरहे । अर्को तिर राजनैतिक, ब्यक्तिगत प्रतिशोध, ठूला माछा उम्काउने खेल, पूर्वाग्रह तथा अख्तियार प्रमुखलाई महाअभियोग लगाउने सम्मका स्वरहरु जोडदार रुपमा उठिरहँदा साँच्चै यो देशमा भ्रष्टाचारीहरुकै पो बोलवाला छ जस्तो पत्याउनै भईरहेको थियो ।

परोपकारी पत्रकारिताबाटै आम युवामाझ आदर्शको पात्र बनेका रबिन्द्र मिश्रलाई रातो बंगला फ़ाउन्डेशनमा लगानी र परोपकारी अक्षयकोषको रक़मको दुरुपयोग गर्यो भनेर बारम्बार उनका स्टाटसहरुमा सान्दर्भिक र असान्दर्भिक कमेन्ट गरिरहँदा निस्वार्थ मनले समाजसेवा गरिरहेका र सबैखाले भ्रष्ट प्रबृर्ति बिरुद्द प्रहार गर्ने मिश्र आफै हिंसाको पात्र भएको मेरो ठम्याईं हो ।

तर उनको यो वकपत्र पछि एक शुभचिन्तकको हैसियतमा उनी प्रतिको मेरो बिश्वास झन् सतीसाल जस्तै उभिएको छ चाहे मलाई कसैले रबिन्द्रकै भक्त या हनुमान भनोस ।

हो सेलिब्रिटीहरु कहिल्यै गल्ती गर्दैनन् भन्ने हाम्रो मान्यता छ , मन परुन्जेल देवता बनाउने र एउटा सानो गल्ती देखियो भन्दैमा उसका सबै गुणहरुलाई छोपेर नांगेझार गर्ने पनि हाम्रै जमात हो । हिजो दिलशोभाको हाई हाई गर्नेहरु एउटा कमज़ोरी भेटेकै आधारमा पछि उनकै समाजसेवालाई बदनाम गर्नेहरु पनि हामी भित्रैबाट हौँ ।

आज राज्यकोषबाट २० हजार तलब खाने कर्मचारीहरुको जीवनशैली हेरौँ, आज कुनै पेशा ,ब्यवसाय नभएका बिभिन्न पार्टीका नेता कार्यकर्ता हेरौँ, राज्यलाई कर्मचारीसंग मिलेर कर छल्ने ब्यापारीहरुलाई हेरौँ , प्रहरी र सेना हेरौँ, राज्यको मुहार फेर्न भनेर बिधानमै उल्लेख गरेर सपथ लिने दिने राजनैतिक पार्टीहरुका आम्दानी र खर्च हेरौँ, त्यसैगरी न्यायालय हेरौँ, पत्रकारहरु हेरौ, संस्थानहरु हेरौ, ग़ैर सरकारी संस्थाहरु हेरौँ , भ्रष्टाचारको आरोपमा जेल भोगेर निस्केर पनि दुधले नुहाएजस्तै स्वांग गर्ने स्वाँठहरु हेरौँ : जताततै भ्रष्टाचार मौलाएकै छ ।

बिरगंज भंसारमा कार्यरत एउटा राजपत्र अनंकित कर्मचारीले भागवन्डामा अतिरिक्त मासिक पाँच लाख सम्म कमाउँदै आएको कुरा उसकै नातेदारबाट खुल्छ खरिदार सरहको गा. बि. स. सचिवले बर्षेनी घर जग्गा किनिरहेको कुरा उसकै ससुरालीमा गाईँगुई चल्छ । यातायात , मालपोत , आन्तरिक राजष्व , सडक , सिंचाई र पर्यटन कुन कार्यालयका कर्मचारी टिठलाग्दा देख्नुभएको छ ? भन्नुहोस कहाँ भ्रष्टाचार छैन ? गा. बि. स., जि. बि. स., नगरपालिका कहाँका कर्मचारीले दुधले नुहाएका छन् ? कहाँका ठेकेदार र दलालहरु कंगाल भएको देख्नुभएको छ ?

महिनाको तीस चालिस हजार तलब खाने प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई करोडौँको धरौटी राख्ने पैसा कहाँबाट आउँछ ? भन्सारमा कार्यरत मुखियाको काठमांडौमा माथि हेर्दा टोपी खस्ने महल कसरी बन्छ ? तिनीहरुको कार्यकाल भरिकै तलबको हिशाब गर्ने हो भने पनि तिनीहरुले तिर्ने बिगो त के तिनीहरुले बनाएको घरको आधा खर्च समेत उठ्दैन । तिनीहरुकै बराबरको एकसरो तलब खाने ‘अनाकर्षक’ कार्यालय ( कर्मचारीकै भाषामा) का कर्मचारी र शिक्षकको अवस्था कस्तो छ ?

राजनीतिकर्मीहरु हेर्नुस : कुन कुन पार्टीको आम्दानी र खर्च पारदर्शी छ , कुन नेताले चढ्ने गाडीले पारदर्शी धुँवा फाल्छ ? कुन सरकारको पालामा भनसुन बिना नै जनताको काम भएको छ ?

हो , सबैतिर बेईमानी डुंगडुंग्ती गन्हाएको बेला सामाजिक संजालमा रबिन्द्र मिश्रले गरेको परोपकारी कामलाई पनि प्रश्न चिन्ह तेर्स्याउनु कुनै अनौठो कुरा होईन, भोलि धुर्मुस सुन्तलीले गरेको समाजसेवामा पनि औला उठाउनैहरु प्रशस्त देखिएलान्, तर एउटा ज्यान जो अहोरात्र अरुकै लागि केहि गरिरहेको छ, गर्न खोजिरहेको छ, जसको आफ्नै आम्दानीले सानदार रुपले आफ्नो जीवन चलिरहेको छ, जसले आफ्नो संस्थाको वेवसाईटमा सबै बिवरणहरु अद्यावधिक गरिरहेको छ, उसैको बारेमा आधारहीन कुराहरुले दोषारोपण गरिरहने हो भने भोलि हामीले कसलाई बिश्वास गर्ने ? बिरोध जायज़ होला तर बिरोधका आधारहरु के ? हामी आफैले पनि केहि नगर्ने, गरिरहेकाहरुको खेदो खनिरहने हो भने हाम्रै जीवनकालमा कसरी परिवर्तन संभव होला ?

हो , एक ईमान र नैतिकता भएको ब्यक्तिले आफू निर्दोष छु भनेर कसम खानु पर्दैनथ्यो भन्नेहरुको तर्क पनि ठिकै होला तर जब जब अघोषित संगठित जमातले न त उनका बिरुद्दमा भ्रष्टाचार गरेको प्रमाण सहित मुद्दा नै दायर गर्छ तर कार्यालय होस या चौतारीमा बसेर हाई काढ्दै या भट्टीमा रक्सीको चुस्की लगाउँदै राम्रो काम गरिरहेका बिरुद्द बिषवमन गरिरहन्छ, जसले न प्रमाण दिन्छ न प्रमाण हेर्छ , न आफूले गर्छ न गर्न दिन्छ , न सुत्छ न निदाउन दिन्छ त्यस्तो बेला हिलोमा कमल फूलाउन मरिमेट्ने सबै रबिन्द्रहरुको मन असाध्य दुख्छ अनि अनायासै कठोर कसम मुखबाट झर्छ : ”आमा कसम मैले जानेर एक रुपैयाँ खाएको छैन ।”

तर ईमान हराएका सबै भ्रष्टहरुले चोखिनैका लागि आमा कसम भन्दै जाने हो भने तिनीहरु सबैलाई बिश्वास गर्न सकिन्न किनकी जन्मभूमि लुट्नेले आफ्नी आमाको कसम नखाला भन्न सक्दैन ।

मेरो चुनौति सबै नवयुवराजहरुलाई : के हाम्रा प्रधानमन्त्री, मन्त्री, न्यायाधिश ,प्रशाशक, दल, दलका नेता, कार्यकर्ता, पत्रकार , वकील, उद्योगी, ब्यापारी, समाजसेवी, मानवअधिकारवादी र सबै प्रत्यक्ष परोक्ष जनउत्तरदायी ब्यक्तिहरुले रबिन्द्र मिश्रले जस्तै आमाकै मुख हेर्ने औँशीकै दिन आमाको शिर छोएर आमा कसम ! मैले जानाजान एक पैसा भ्रष्टाचार गरेको भए आमाको रगत पिए बराबर होस भन्ने हिम्मत राख्छन् ?

किनकी आमा भन्दा ठूलो नाता अरु कुनै पनि छैन र एउटा नैतिक मान्छेलाई आमाको कसम कुनै गीता बाईवल या क़ुरान छोएर खाएको कसम भन्दा हजारौँ गुना कठोर हुन्छ ।
त्यसैले ए जनयुवराजहरु ! आउनुहोस के तपाईहरुले पनि आफ्नी आमाको शिर छोएर रबिन्द्र मिश्रले जस्तै हिम्मत गरेर भन्न सक्नुहुन्छ ? “आमा कसम …..मैले जानाजान एक पैसा भ्रष्टाचार गरेकै छैन ।” यदि सक्नु हुन्न भने कसैले गरेको कामको प्रशंसा गर्न सिक्नुहोस, सके सपार्नुहोस, नसके नबिगार्नुहोस ।

बरु अब शंसोधन हुने संबिधानमा प्रमाणित भष्टाचारीलाई कम्तीमा ज्यानमुद्दा सरह वा बिभिन्न देशहरु सिंगापुर,उत्तर कोरिया, चीन, भियतनाम र ताईवानमा जस्तै फाँसीको सजाँय राख्न किन दवाव नदिने ? भ्रष्टाचारीलाई कीरा परोस् भनेर श्राप दिनुभन्दा कानूनमै ब्यवस्था गरेर त्यस्तो सजाँयको ब्यवस्था गर्न दवाव दिन सर्वत्र जरुरी भईसकेको छ । के लोकतन्त्र भन्दैमा देश लुटेर मोटाउने छुट दिन मिल्छ ? हामी सचेत नागरिकहरुले भन्न सक्नुपर्छ: भ्रष्टाचारी जेल परोस, भ्रष्टाचारीलाई मृत्युदण्ड होस् । जय देश ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...