नेजाका संस्थापक कोषाध्यक्ष गुणराज लुईटेलको अध्यक्षमा उम्मेदवारी
आदरणीय प्रिय पत्रकार साथीहरु,
विश्व प्रेस स्वतन्त्रता दिवस २०१६ को अवसरमा यहांहरु सवैमा हार्दिक शुभकामना । यस वर्ष भरि आफ्नो पेशा र ब्यवसायको सिलसिलामा अनाहकमा ज्यान गुमाउनु हुने ज्ञात अज्ञात पत्रकारहरुप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दछु । म यस नेजामा स्थापना कालदेखि नै मूल प्रवाहमा संलग्न रहंदै आएको र सदैव नेजाको विकासमा सक्रिय सहभागिता जनाउदै आएको यहांहरुमा विदितै छ । यसै सिलसिलामा नेजाको आसन्न पांचौं महाधिवेशन तथा १० औं साधारण सभामा संस्थाको अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गर्दछु । मेरो उम्मेदवारीलाई नेजाका सल्लाहकारहरु, संस्थापकहरु, वर्तमान कार्यसमितिका पदाधिकारी साथीहरु, पूर्व पदाधिकारी साथीहरु, अमेरिका र क्यानडामा रहेका नयां तथा पुराना सवै साथीहरुले सहृदयताको साथ समर्थन गर्नु हुने विश्वास लिएको छु ।
यस सम्मेलनमा भाग लिनलाई लस एन्जलस आउन लाग्नु भएका सवै साथीहरुलाई हृदयबाटै हार्दिक स्वागत गर्न चाहन्छु । साथै सदस्यता नवीकरण गरेर पनि नआउने योजना बनाउदै गरेका साथीहरुलाई पनि एक पटक पुनःविचार गरेर सकेसम्म पाल्नु हुन हार्दिक अनुरोध गर्दछु । नेजाभित्र बृहत एकता र सवल नेतृत्व निर्माण गर्न म जस्तोसुकै कदम चाल्न पनि कटिबद्ध भएको जानकारी पनि मेरा अग्रज, समकक्षी तथा सहकर्मी साथीहरुमा निवेदन गर्दछु र तपाइहरुको पनि यसमा ठोस भूमिका रहने विश्वास लिएको छु ।
साथीहरु, म अध्यक्षको पदमा आफ्नो उम्मेदवारी दिइरहंदा नेजालाई पाश्चात्य पत्रकारितासंग घुलमिल गराइ नेपाल र नेपाली पत्रकारितालाई अमेरिकी पत्रकारिताको मूलप्रवाहमा परिचित गराउन, नेजा भित्र र विविध कारणले बाहिर रहनु भएका साथीहरुलाई समेटेर उदार भावनाले एकतात्मक वातावरण सिर्जना गरी क्लवको अवधारणा विकसित गर्न, सदस्यता र संगठनलाई चुस्तदुरुस्त पार्न, नेपालमा भएका पत्रकार र नेपाली पत्रकारितासंग अझ गाढा साइनो जोड्न, नेजाको कोष सुदृढ गर्न, नेजालाई आम संचारको अन्तरराष्ट्रिय गैर सरकारी अभियानमा सामेल गराउन, योग्य साथीहरुलाई तत्तत् भूमिका एवं संमान प्रदान गर्न, नेजा संस्थापनाका आधारभूत मान्यतालाई फेरि पुनर्ताजकी दिन एवं अघिल्ला कार्यसमितिहरुले गरेका राम्रा कामहरुलाई निरन्तरता दिन र सच्याउनु पर्ने कामलाई सुधार्न जोड दिने प्रतिवद्धता जाहेर गर्दछु । कतिपय साथीहरुमा मेरो बारेमा अलिक विस्तृत कुराहरु जान्ने जिज्ञासा पनि हुनसक्ने भएकोले आफ्नै बारेमा यहां केही बताउनु पनि सान्दर्भिक ठानेको छु ।
साथीहरु, मेरो जन्म भोजपुरमा सन् १९६९ मा भएको हो । म हाल अमेरिकाको भर्जिनिया राज्यमा बस्दछु र अमेरिकी सरकारको फेडेरल डिपार्टमेण्ट होमल्याण्ड सेक्युरिटीमा सूचना तथा प्रविधि विशेषज्ञको रुपमा कार्यरत छु । म विगत २९ बर्षदेखि पत्रकारिता र लेखन पेशामा संलग्न रहंदै अहिले स्वतन्त्र पत्रकारको रुपमा निरन्तर संचार, भाषा र साहित्यको विकासमा संलग्न रहेको छु । सन् २००७ सालमा नेजाको संस्थापक कोषाध्यक्षको भूमिका सफलतापूर्वक निर्वाह गर्नुको साथै नेजाको प्रथम वार्षिक साधारण सभा पेन्सिलभेनियाको ह्यारिसवर्गमा र द्धितीय साधारण सभा तथा प्रथम महाधिवेशन न्यूजर्सीको एट्लान्टिक सिटीमा सफलतापूर्वक सम्पन्न गर्नमा योगदान पुर्याएको थिएं । नेजाको वृहत्तर एकतालाई ध्यानमा राखेर विशेषतः चुनावी सभाहरुमा आफू पछाडि सरेर भए पनि एकताको प्रयासमा संलग्न हुंदै आएको छु साथै नेजाका हरेक सभा र आवधिक बैठकहरुमा लगातार संलग्न हुंदै आएको छु ।
मैले २०४४ सालदेखि दैनिक समाजबाट पत्रकारितामा प्रवेश गरे यता एभरेष्ट मासिक, पिपुल्स रिभ्यू अंग्रेजी साप्ताहिक, संरचना साप्ताहिक, प्रजातन्त्र साप्ताहिक, द कमनर अंग्रेजी दैनिक, विमर्श साप्ताहिक, कान्तिपुर दैनिक, लोकपत्र दैनिक, छानवीन साप्ताहिक, रेडियो नेपाल, स्पन्धन मासिक, सगरमाथा टेलिभिजन (अमेरिका), नेपाली पोष्ट इपत्रिका, नेपाल २४ आवोर्स, ग्लोब नेपाल, इनेप्लिज, डिसी नेपाल इपत्रिका लगायतका मिडियासंग सम्बन्धित भएर काम गर्ने अवसर प्राप्त गरें । रिपोर्टिङ, सम्पादन, स्तम्भ लेखन तथा साहित्य लेखनमै मेरो जीवनको धेरैभन्दा बढी समय लगानी भएको छ । वास्तवमा म आफ्नो परिचयको चर्चा भन्दा पनि असल काम गर्ने साथीहरुको परिचय गराउनमा रमाउने गर्दछु । नेजाको वृहत्तर विकासको लागि आफू नेतृत्वमा नहुंदा पनि कार्य सम्पादनमा उत्तिकै सक्रिय भएर लाग्नमा विगत ८ वर्षमा म कदापि पछि हटिंन ।
पहिलो जनआन्दोलन २०४६ ताका दैनिक समाज आजको कान्तिपुर जस्तो पपुलर पत्रिका थियो र त्यसको राष्ट्रिय समाचारदाता हुंदा गौरवको महसूस हुन्थ्यो । पुराना तथा वरिष्ठ पत्रकार मणिराज उपाध्याय यसको सम्पादक हुनुहुन्थ्यो । पहिलो जन आन्दोलनताका पत्रकार हिरण्यलाल श्रेष्ठले सम्पादन गर्नु भएको डेलीडायरी र विमर्श साप्ताहिकलाई रिपोर्टिङ गर्दा पुलिसले हानेका गोली कानैबाट जान्थे । अग्रज गोपालदास श्रेष्ठको त्यस बेलाको सशक्त अंगे्रजी माध्यमको पत्रिका द कमनर दैनिकमा काम गर्दा विशेषतः अन्तर्राष्ट्रिय कूटनीतिका विविध विषयमा जान्ने मौका मिल्यो भने अंग्रेजी साप्ताहिक पिपुल्स रिभ्यूको एसोसिएट एडिटरबाट खारिर्ने मौका मिल्यो । त्यसै ताका एक ठूलै भेन्चरको रुपमा प्रजातन्त्र साप्ताहिक आएको थियो जसको सम्पादक मण्डलमा वरिष्ठ पत्रकारहरु गोपालदास श्रेष्ठ, राइजिङ नेपालका पूर्व सम्पादक श्याम केसी, स्वतन्त्र बुद्धिजीवी मल्ल के सुन्दर, पर्यटन ब्यवसायी तथा लेखक कर्ण शाक्य र विद्धान राजेन्द्र बहादुर श्रेष्ठ हुनुहुन्थ्यो । पछि कान्तिपुर र लोकपत्र दैनिकमा व्यवसायिक पत्रकारितालाई स्थापित गर्न प्रयास भयो । पत्रकारिताका कालखण्डहरुमा योगेश उपाध्याय, हरिहर विरही, राजेन्द्र दाहाल, श्री आचार्य, रवि अधिकारी, रमा सिंह, ओम खड्का, सुधिर शर्मा, टिकाराम राई, हरि अधिकारी, नारायण वाग्ले, किशोर श्रेष्ठ, गिरिश पोखरेल, पुष्प प्रधान, श्रीस शम्शेर राणा, बलराम थापा, राधेश्याम लेकाली, मोहन मैनाली, घमराज लुइटेल, धु्रबहरि अधिकारी, लक्ष्मण हुमागाई, किशोर नेपाल, विजय घिमिरे, टंक पन्त, पि. खरेल, रामचन्द्र खरेल, कृष्ण धाराबासी, रघु मैनाली, तारा बराल, सानुबाबु सिलवाल, शिव विष्ट, तारा रावल, संजय घिमिरे, रघु पन्त, देवप्रकाश त्रिपाठी, गुणराज लुइटेल, ऋषि धमला, गोपाल थपलिया, कृष्ण के.सी., हरिशरण लामिछाने, ध्रुव थापा, शिव खड्का, प्रेम कैदी, अच्युत वाग्ले, निर्मला शर्मा, शिव गाउले, प्रताप अधिकारी, हरिहर पोखरेल, बिनोद ढुंगेल, श्रीराम सिंह बस्नेत, माथवर सिंह बस्नेत, सूरेश आचार्य, गोविन्द वियोगी, संजय घिमिरे, रामचन्द्र खरेल (सगरमाथा टिभी), कृष्ण कंडेल, ज्योति वैध, तरुण पौडेल, रामप्रसाद खनाल, सीता कोइराला, राजेन्द्र गौतम, अनुप थपलिया, विष्णु शितल, अंकुश नेपाल, लेखनाथ भण्डारी, राजेश मिश्र, गौतम दहाल, निदेश अधिकारी लगायतका पत्रकारहरुसंग नेपालमा रहंदा काम गर्ने अवसर मिलेको थियो । अमेरिका आइसके पछि पनि रामचन्द्र खरेलको सगरमाथा टेलिभिजन, गिरिश पोखरेलको नेपाली पोष्ट, गौतम दाहालको ग्लोव नेपाल, विश्व थापा विजय थापाको इनेपालिज डट कम, रामहरि सुवेदीको डिसी नेपाल डट कम तथा विजय पौडेल, गोविन्द गिरी, हेमन्त श्रेष्ठ, शैलेश श्रेष्ठ, कृष्ण शर्मा, आङछिरिङ शेर्पा, सूर्य थापा, किशोर पन्थी, विष्णु पौडेल, प्रदीप परियार थापा, विकाश न्यौपाने, शतिस चापागाई, अग्नि चौलागाई, सुदीप पन्त, ध्रुव थापा, रामप्रसाद खनाल, कृष्ण केसी, शैलेश पोखरेल लगायतका साथीहरुले प्रकाशन—प्रसारण गर्नु भएका छापा तथा अन लाइन पत्रिकाहरुमा मेरो प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता रह्यो । (मेरो संझनाको अभावले अरु धेरै अग्रजहरु, साथीहरुको नाम छुट्न गएको छ, म क्षमा चाहन्छु ।)
अमेरिकामा मैले धेरै पल्ट आफ्नै अनलाइन पत्रिका चलाउने विचार पनि गरें । धेरै मेरा पत्रकार र सुभेच्छुक साथीहरुले मलाई पत्रिका निकाल्न दबाब नदिनु भएको पनि हैन । तर मेरो सोचाइ के छ भने वास्तवमा धेरै जसो हामीले यो परदेशमा पेशा अर्कै गर्नु पर्छ अनि समय थोरै छ । त्यसैले अर्को पत्रिकाको बाढी लगाउनु भन्दा निस्किइ रहेका सवै पत्रिकाहरुलाई सहयोग गर्नु र ब्यापक कोअर्डिनेसन गरेर काम गर्नु ठीक हुन्छ । सोसल मिडियामा पनि छ्यास्यछुस्स त भइरहेकै हुन्छ । नेपालमै पनि त सवै पत्रकारहरुले आफ्नै पत्रिका चलाएका छैनन् नि । बरु म पत्रकारहरुको साझा संस्थालाई अलिक दह्रो बनाएर लैजान तन, मन र धन लगाएर पूर्णतः समय दिन चाहन्छु ।
गाइ चराउने र हलो जोत्ने स्थानबाट आज अमेरिकाको उच्च सरकारी अफिसमा आफनो क्षमतालाई प्रयोग गरेर सेवा प्रदान गर्न पाउदा कताकता गौरव महसूस हुन्छ र यस ल्याण्ड अफ अप्परच्यूनिटीमा शरीर जुर्मुराएर मेरो आफ्नै क्षेत्र पत्रकारितामा थप योगदान गर्न उत्प्रेरणा मिल्दछ । आबद्धताको कुरा गर्दा २०४६ सालमा नेपाल पत्रकार महासंघको साधारण सदस्य तथा २०४७ मा केन्दीय परिषद सदस्य, २०५१ मा नेपाल श्रमजीवी पत्रकार संघको संस्थापक महासचिव (अध्यक्ष पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेस आचार्य, उपाध्यक्षमा हाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट र सचिव पत्रकार टंक पन्त), २०५० सालमा नेपाली पत्रकारहरुको झापा महाधिवेशनमा केन्दीय सदस्यमा प्रतिष्पर्धा गर्दै पत्रकार दाइ रवि अधिकारी र पत्रकार मित्र ज्योति वैधको समर्थन गरेको, साथै सन् २००७ मा अमेरिका नेपाल पत्रकार संघको संस्थापक कोषाध्यक्ष, अध्यक्ष जर्नालिष्ट अगेन्स्ट एड्स इन नेपाल, नेपालमा विभिन्न साहित्यिक, लेखकीय संस्थासंग आवद्ध हुंदै सन् २००२ देखि अनेसासको साधारण सदस्य । सन् २०११ मा अनेसास डिसी मेट्रो च्याप्टरमा महासचिवको दायित्व निर्वाह गर्नुको साथै २०१४ मा अनेसास डेलावर च्याप्टरको संस्थापनामा सहयोग । २०११ सालमा एएनए केन्द्रीय आयोजक समितिमा प्रचार प्रसार संयोजक, एनआरएन आजीवन सदस्य, अनेसास आजीवन सदस्य, नेजा आजीवन सदस्य, एनइसीसीका आजीवन सदस्य, लक्ष्मी प्रतिष्ठान आजीवन सदस्य । नेपालबाट पत्रकारितामा स्नातक, समाजशास्त्र र राजनीतिशास्त्रमा मास्टर्स डिग्री तथा बिएलसम्मको अध्ययन तथा अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटी (सीएमयु) बाट इन्फरमेसन टेक्नोलजीमा सर्टिपिकेसन कोर्स मेरा औपचारिक शिक्षाका गहना हुन । तपाईहरु सवैको मलाई पूर्ण समर्थन र सहयोग रहने विश्वासका साथ ।
Tuesday, May 3, 2016
नेजाका संस्थापक कोषाध्यक्ष गुणराज लुईटेलको अध्यक्षमा उम्मेदवारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment