Thursday, June 9, 2016

रूसी महाकवि पुश्किनको आवक्ष–प्रतिमा अवलोकन

Pushkin Pratima 06.06.2016

मास्को, ६ जून २०१६ (सोमवार) । आधुनिक रूसी साहित्यिक भाषाका प्रवर्तक मानिने विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र सेर्गेएभिच पुश्किनको २१७–रौं जन्मजयन्तीको पावन अवसरमा मास्कोका प्रसिद्ध मूर्तिकार एवं चित्रकार ग्रिगोरी भिक्तोरोभिच पोतोत्स्कीको शिल्पशालामा पुगेर उनले रूस–नेपाल सहयोग तथा मैत्री समाजको तर्पmबाट काठमाडौंमा स्थापना गर्नका लागि भर्खरै निर्माण गरेको रूसी महाकविको आवक्ष कांस्यमूर्तिको दर्शन गर्ने सुअवसर जुटेको थियो ।

Pushkin lai Smark kavita. KPS

यहाँनेर सर्वप्रथम रूसी मूर्तिकारकै संक्षिप्त परिचय दिनु युक्तिसंगत हुनेछ । सन् १९८५ देखि मूर्तिकार एवं चित्रकारको रूपका कार्यरत ग्रिगोरी भिक्तोरोभिच पोतोत्स्कीको जन्म सन् १९५४ मा कुर्गान जिल्लामा भएको हो । उनले सन् १९७७ मा ओडेस्सा (युक्रेन गणतन्त्र) को ग्रेकोभ राजकीय कला संस्थानबाट मूर्तिकलामा स्नातक र सन् १९८६ मा राजकीय किशिनेभ विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर डिग्री प्राप्त गरेका थिए । उनी अन्तर्राष्ट्रिय संचार प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ, शिक्षण प्रज्ञा–प्रतिष्ठानका सहसदस्य, युनेस्को अन्तर्गत अन्तर्राष्ट्रिय चित्रकार सघका सदस्य छन् । रूसमा र विदेशमा समेत गरी उनका कलाकृतिहरूको १०० भन्दा बढी एकल र संयुक्त प्रदर्शनीहरू सम्पन्न भइसकेका छन् । उनले हाइड्रोजन बमका आविष्कारक रूसी मानवअधिकारकर्मी आन्द्रेइ साखारोभ, रूसी लेखक आन्तोन चेखोभ तथा अलेक्सान्द्र सोल्जिनित्सिन, रूसका पेट्रिआर्क किरिल्ल, दलाई लामा प्रभृति बीसौ ऐतिहासिक तथा समसामयिक सांस्कृतिक व्यक्तित्वहरूका कैयौं कांस्य मूर्तिहरूको रचना गरिसकेका छन् र उनको कलाकारिताको प्रदर्शन गर्दै संसारका विभिन्न देशहरूमा ख्यातिप्राप्त विद्वान्, कवि, लेखक, कलाकार, वैज्ञापनक, सामाजिक र सांस्कृतिक कार्यकर्ताहरूको पूर्ण कद तथा आवक्ष काँस्य मूर्तिहरू स्थापित गरिएका छन् । नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्ती (साठियौं बर्षबन्धन) को सन्दर्भमा मूर्तिकार ग्रिगोरी भिक्तोरोभिच पोतोत्स्कीद्वारा निर्मित रूसी महाकवि अलेक्सान्द्र पुश्किनको आवक्ष कांस्यमूतिरूस–नेपाल सहयोग तथा मैत्री समाजको तर्पmबाट यसै वर्ष अक्टोवर महीनामा काठमाडौंस्थित रसियाली विज्ञान तथा संस्कृति केन्द्रको परिसरमा स्थापना गर्ने तरखर भइरहेको छ । हाम्रा दुई देशबीच जनस्तरमा मैत्री सम्बन्धको विकासमा योगदान पु¥याउने यस उल्लेख्य कार्यमा रूसी मित्रहरूका साथै रूसमा बसोवास गरिरहेका नेपाली समुदायलाई एकबद्ध गर्ने संस्थाको रूपमा गैरआवासीय नेपाली संघ रूसको पनि सहभागिता रहेको छ ।

Nelli.Pototski.Nekrasov

नेपालको राजधानीमा रूसी महाकविको प्रतीमा उद्घाटन समारोहमा रूसमा बसोवास गरिरहेका सबै इच्छुक नेपालीहरूका साथै रूसी मित्रहरूको पनि उपस्थिति हुन नसक्ने तथ्यलाई ध्यानमा राखेर मास्कोमा अलेक्सान्द्र पुश्किनको २१७–रौं जन्मजयन्ती मनाउने क्रममा मास्कोको केन्द्रमा रहेको पुश्किन चोकमा स्थित रूसी महाकविको सालिकतिर नलागी नजिकै महाकविकै समकालीन लेखक निकोलाई गोगोलको सालिक रहेको उद्यानपथस्थित मूर्तिकारको शिल्पशालामा भेला भयोैं ।

197A8871

मूर्तिकार ग्रिगोरी पोतोत्स्कीले रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ, उपाध्यक्ष डा. मणिराज पोखरेल तथा भ्लादीमिर फेदोतोभ, महासचिव बोरिस भेर्शिनिन, सदस्यहरू नेल्ली स्तेपानोभा, आल्ला नोभिकोभा, एभ्गेनी कोजोरेजोभ, कवि भिक्टर जुएभलगायत रूसी मित्रहरूका साथै गैरआवासीय नेपाली संघकी केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय सदस्य एवं विश्वनेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूस राष्ट्रिय समन्वय परिषद् एवं विनेसाम रूस शाखाका महासचिव डा. मनमूर्ति भुर्तेल र यसै पंक्तिकारलगायत सबै उपस्थित अतिथिहरूको हार्दिक स्वागत गर्दै आपूmले बनाएका चित्र र मूर्तिकलाका कृतिहरूको अवलोकन गराएका थिए । उनको शिल्पशालामा एउटा कक्षमा चित्रकलाका कृतिहरू त अर्को कक्षमा चाहिं मूर्तिकलाका कृतिहरू लहरै सजाएर राखिएका थिए ।

197A8869

मूर्तिकारसित मेरो पहिलो भेटपरिचय भएकोले मैले उहाँको व्यक्तित्व र कृतित्वबारे विस्तृत रूपमा जनकारी लिन चाहेकोले मेरो प्रश्नहरूको जवाफमा उनले नजिकै एउटा टेबुलमा राखिएका किताबहरूबाट एक प्रति लिएर ‘भगवान्का मित्र कृष्णलाई’ भन्ने अभिलेखसहित हस्ताक्षर गरेर ‘यसमा सबै लेखिएको छ’ भन्दै बाक्लो गातामा अमूर्त शैलीको एक कलाकृतिको छविचित्रमुन्तिर मूर्तिकारको थरनाम समेत नौलो पाराले अङ्कित भएको र भित्र मुखपृष्ठमा ‘आत्माको समलेखन’ (रूसी भाषामा ‘इजोग्राफिया दुशी’) भन्ने शीर्षक छापिएको ओल्ना बारेद्वारा लेखिएको सचित्र पुस्तक उपहार दिए । ठूलो साइजको ३३६ पृष्ठको पुस्तक एकै छिनमा पढ्न सकिने त कुरै भएन । पुस्तकको शीर्षककै अर्थ ठम्याउन घोरिंमै सर्सर्ती पाना पल्टाएर जेदाई मूर्तिकारको शिल्पशालामा राखिएका र भित्तामा प्रदर्शित कतिपय छविचित्रहरूको प्रतिलिपि हेर्न लागें । मूर्तिकारबाट तिनको छोटो परिअथ पाइसकेको हुँदा शीर्षककै अर्थ खुट्याउनमा घोत्लिएँ ।

197A8866

दुई ग्रीक शब्दहरूको समासबाट पुस्तकको शीर्षकको ‘इजोग्राफिया’ शब्द बनेको हो । देसे शब्द ‘ग्राफिया’ त ‘फोटोग्राफिया’ मा पनि भएकोले सहजे अर्थ खुलेको थियो, तर पहिलो शब्द ‘इजो’ ले निकै बेर घोत्लिन बाध्य गरायो । रूसी भाषाको ‘इजोब्राजेनिए’ शब्दकै पहिलो शब्दले सम्भवतः ‘अनुकृति’ भन्ने बोध गराउँछ । यस अर्थमा ‘इजो’ शब्द प्रयोग भएको हुन सक्तछ भन्ने लाग्यो । वास्तवमै यस ग्रीक शब्दको अर्थ ‘समान’ भन्ने हुँदो रहेछ । तसर्थ नेपालीमा ‘इजेग्राफिया’ को पर्याय ‘समलेखन’ भन्नु सठीक नै हुने ठान्दछु । मूर्तिकार ग्रिगोरी पोतोत्स्कीसँग छोटो साक्षात्कार र कुराकानी पश्चात् म के भन्न सक्तछु भने काठमाडौंमा स्थापना गरिने पुश्किनको प्रतिमाका निर्माताको व्यक्तित्व र कृतित्वसम्बन्धी पुस्तकको शीर्षक ‘आत्माको समलेखन’ राखिनु पनि सार्थक नै लाग्यो । मूर्तिकारले स्वयं नै यस पुस्तकमा समेत उल्लिखित आफ्ना कतिपय कलाकृतिहरूको बारेमा हामीहरूलाई सविस्तार अवगत गराएका थिए ।

197A8848

तत्पश्चात् रूसी महाकवि पुश्किनको जन्मजथन्तीका दिन उनको सालिकनेर रसियाली कविहरूले आ–आफ्नो कविता पाठ गर्ने परम्पराको अनुसरण गर्दै कवितावाचनकने क्रम सुरु भयो । आपूm कवि नभए पनि नेल्ली स्तेपानोभाले द्वन्द्वयुद्धमा घाइते भई युवावस्थामै मृत्युवरण गर्न पुगेका पुश्किनको मृत्युमा तत्कालीन युवाकवि मिखायल लेर्मोन्तोभले तत्कालै रचना गरेको ‘कविको मृत्युमा’ शीर्षकको कविता तत्कालीन रूसी जार (सम्राट्) प्रति सम्बोधन गरिएका पंक्तिहरू सुनाएकी थिइन् ।सोभियत कालमा सम्बोधनका यी पंक्तिहरू झिकेर उक्त कविता प्रकाशित गरिने हुँदा सर्वसुलभ थिएनन् । कवि भिक्टर जुएभले पनि अलेक्सान्द्र पुश्किनको व्यक्तित्वबारे संक्षेपमा वर्णन गर्दै प्राचीन कालमो ‘ताभ्रिदा’ नामले प्रसिद्ध क्रिमियाप्रतिसमर्पित हालै प्रकाशित ‘ताभ्रिदा–प्रशस्ति’ (‘आपोलोगिया ताभ्रिदी’) शीर्षकको आफ्नो कवितासंग्रहबाट केही कविता वाचन गरेका थिए । त्यहाँ रमाइलो काव्यात्मक वातावरणमा एभ्गेनी कोजेरेजोभबाट गितारवादन गरिएको थियो भने गीतगायन र संगीतको धून पनि गुञ्जायमान भएका थिए…
रूसी कवि अलेक्सान्द्र पुश्किनको आवक्ष प्रतिमा अवलोकन समारोहको आरभ्ममै मलाई नेपालमा पुश्किनलाई अनुवादको माध्यमबाट परिचित गराउने व्यक्तिको रूपमा रूसी वा नेपालीमा रूसी महाकविको कविता वाचन गर्ने अनुरोध गरिंदा मैले रूसी भाषाबाट नेपालीमा सर्वप्रथम सोभैm अनुवाद भई प्रकाशित गरिएको कृति नै पुश्किनको खण्डकाव्य ‘जिप्सी’ भएको सूचित गर्दै मैले हस्तनिर्मित पुश्किनको कांस्यप्रतिमाको छेवैमा बसेर आजभन्दा ठीक १८० वर्ष पहिले रूसी महाकविबाट रचिएको र ठीक १५ वर्षअघि नेपालीमा अनुवाद गरिएको ‘हस्तनिर्मित हैन यो’ भन्ने पञ्चश्लोकी प्रसिद्ध ‘स्मारक’ कविताको पाठ गरेको थिएँ र अन्त्यमा त्यस कविताको बीचको तेस्रो श्लोकमा केही हेरफेर गरी रूसको सट्टा नेपालका जनजातिहरूको नृवंशात्मक नामहरू जोडेर निम्नानुसार थप श्लोक सुनाएको थिएँ :

नेपालभरि नै होला चर्चा मेरो प्रतिक्षण ।
भाषामा सबको होला मेरो नै नाम गुञ्जन ।।
थारू, किरात, नेवार, गुरुङ्, तामाङ्, मगर्, खश,
हिमाल्, पाहाड्, मधेशवासी मेरो पैmलाउलान् यश ।।
काठमाडौंमा स्थापना गरिने रूसी महाकवि पुश्किनको प्रतिमा–मण्डपमा उपरोक्त श्लोक अङ्कित भएको त सायदै देख्न पाइएला । तैपनि नेपालको राजधानीमा अलेक्सान्द्र पुश्किनको प्रतिमाको अनावरण समारोहमा उनैले रचेका केही काव्य र कविताहरू गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, मेरा आत्मीय बन्धु दीनानाथ राजभण्डारीको प्रकाशन सहयोगबाट ‘रुसाल्का’ शीर्षकमा नेपाली पाठकको करकमलमा सुम्पन पाइने सम्भावनाको पूर्वानुभूतिले पुलकित छु । यो काव्यसंग्रह रूसी महाकविको द्विशताब्दीय जन्मजयन्तीको सन्दर्भमा नेपालीमा अनूदित भई प्रकाशनार्थ तयार पारिएको भए तापनि अद्यापि अप्रकाशित रूपमै थन्किरहेको थियो । तर अहिले डेढ दशकपछि मेरो सानो श्रमले पनि मूर्तरूप पाउने भएको छ ।
हस्तनिर्मित स्मारकको रूपमा नेपालको राजधानी काठमाडौंमा पुगेपछि पुश्किनले नेपाली भाषामा स्थानीय कविहरूबाट नेपाली र नेपालका जन्य भाषाहरूमा पनि प्शस्तै कविताहरूको श्रवण गर्न पाउने छन् । तर मास्कोमै पहिलोपल्ट उनको बगलमै नेपालीमा गुञ्जेको ‘स्मारक’ शीर्षकको उनकै प्रसिद्ध कविता यहाँ नेपाली पाठकसमक्ष प्रस्तुत गर्न चाहन्छु :

रचें स्मारक आप्mनो नै, हैन यो हस्तनिर्मित ।
लाग्नेछ लोकको लाम त्यस्तर्फ पथमा नितः ।।
ठाडै माथि उठाएको छ उस्ले शिर गर्विलो ।
गिराई नूर त्यो भव्य अलेक्सान्द्रीय स्तम्भको ।।

अहँ, मर्दिन पूरै म, आत्मा बाँच्नेछ पावन
वीणाको स्वरमा नित्य, चाहे होस् भष्म यो तन ।
सर्वत्र फैलिंदै जाला मेरो संसारमा छवि,
रहेसम्म यहाँ ज्यूँदो यौटा मात्र कुनै कवि ।।

विशाल रुसमा होला चर्चा मेरो प्रतिक्षण,
भाषामा सबको होला मेरो नै नाम गुञ्जन ।
गर्विला स्लाभ औ फिन, हाल बर्बर तुंगुस
औ काल्मिक स्तपीवासी मेरो पैmलाउलान् यश ।।

सदैव जनतामाझ सम्मानित हुनेछु म ।
दिव्य वीणा बजाएर छर्थें सद्भाव नित्य म ।।
आफ्नो क्रुर जमानामा गाएथें मुक्तिसंगीत,
तुच्छमाथि दया राख्ने गरें आह्वान नै नितः ।।

दैवेच्छा हो भनी ठानूँ, काव्यदेवी, निरन्तर ।
चाहिन्न जयको माला, नहोस् संघातको डर ।।
निरपेक्ष रह्ूँ नित्य, प्रशंसा होस् कि भत्र्सना,
मूर्खको तर्कको कैले नपरोस् गर्न सामना ।।
ई.सं. १८३६
अनु. कृष्णप्रकाश श्रेष्ठ (१९ जून २००१०

फोटो सौजन्य: बोरिस भेर्शिनिन,
दिनाङ्क : ७ जून २०१६, मास्को, रूस महासंघ ।

197A8846 197A8844 197A8841 (1) 0000-2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...