Wednesday, June 22, 2016

मेवाखोला हाइड्रोपावर असार अन्तिममा सञ्चालन हुने

download (1)खोटाङ, ९ असार । जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको हो ।

सत्तरी प्रतिशत बैंकको लगानी तथा ३० प्रतिशत उपभोक्ताको सेयरबाट सञ्चालन गर्न लागिएको हाइड्रोपावरका लागि मेसिन जडानको मात्र काम बाँकी रहेकाले असार अन्तिममा सञ्चालन गर्ने तयारी गरिएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिनुभयो । केन्द्रीय लाइनमा जोड्ने गरी उत्पादन गर्न लागिएको सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौँले समेत लगानी गरेको छ ।

साप्सु कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा उत्पादन हुन लागेको हाइड्रोपावर निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन हुने जनाइएको छ । हाइड्रोपावरबाट उत्पादित विद्युत् बुइपास्थित केन्द्रीय लाइनको सबस्टेसन पु¥याएर प्रवाह गरिने कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिनुभयो ।

हाइड्रोपावरमा चारवटा कम्पनीले कन्ट्र्याक्टमा काम गरिरहेका छन् । हाइड्रो मेकानिकलका लागि महाशक्ति हाइड्रोपावर कम्पनी, ट्रान्समिसनका लागि शाह इलेक्ट्रोनिक प्रालि, सिभिलका लागि पेसिफिक बिल्डर्स र इलेक्ट्रोमेकानिकलका लागि चिन्सीले जिम्मा लिएका छन् । हाइड्रोपावर सञ्चालन भएपछि जिल्लामा विद्युत् सञ्चालन भएका सबै गाविसमा विद्युत्भार कटौती नहुने जनाइएको छ । केन्द्रीय विद्युत् प्रयोग हुँदै आएको जिल्लामा अहिलेसम्म ३८ गाविसका उपभोक्ताले विद्युत् उपभोग गर्दै आएका छन् ।

गत असोजबाटै सञ्चालनमा ल्याउने गरी काम थालिएको हाइड्रोपावर गत साल असार १९ गतेको भीषण वर्षापछि आएको बाढीले हाइड्रोपावरको सर्वे मेसिन, मकी जेम्पर, वेल्डिङ सामान, गिट्टी, बालुवा, सिमेन्ट, फलामको रड लगायतका सामान बगाएर रु ४० लाखभन्दा माथिको क्षति गरेको थियो । त्यसपछि गत सालकै चैत अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि भारतीय नाकाबन्दीका कारण सामान ढुवानी गर्न नसक्दा काम प्रभावित भएको कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...