Wednesday, June 22, 2016

ए निर्दयी काबुल ! हाम्रा निरपराध मान्छेको रगत पिउन छाडिदेऊ !

unnamed

अफगानिस्तानमा हाम्रा निरपराध दाजुभाइहरु जब एउटै आत्मघाती बमले एेया भन्न नपाई मर्छन् त्यसबेला नेपालका छ करोड आँखाहरु रोएको आँशुको हिशाब त कसले निकाल्ला र ? तर पनि त्यहि आँशुको भेल एकै ठाउँ बगाउन सकेको भए ती हाम्रा दाजुभाइका रगत बगाएर आफ्नो लक्ष्यमा पुग्ने चेष्टा गर्ने ती निर्दयी आतंकवादीहरुलाई डुबाएरै मार्ने थियो होला ।

जब जिन्दगीलाई सुमधुर बनाउने योजना एकै पलको बिष्फोटमा परेर समापन हुन्छ, त्यसबेला सबैभन्दा पीडा त त्यसलाई भएको होला जसले सुनौला भविष्यको सपना देखिरहेको बेला एकाएक रातो बाकसले उनीहरुकै अगाडि ती सपनाहरुको बिसर्जन भएको प्रमाण पेश गर्छ , यस्तो बेला बग्ने आँशुलाई रोक्न कसले पो सक्छ र ?

आज नेपाली दाजुभाइहरु नभएको संसारको कुनै देश छैन होला, देशमा अवसर नपाएरै होस वा अझ राम्रो अवसर खोज्न हाम्रा दाजुभाइ दिनदिनै बिदेशिरहँदा दिनदिनै भित्रिने राता बाकसहरुले पनि ती दाजुभाइलाई रोक्न सकेका छैनन् , किनकी हिजो स्वाधिनताका लागि लडेका हाम्रा शरीर अहिले सपनाको किनमेल गर्न जाँदा पराधिनताका लागि मरिरहेका छन् । काबुल घटना त्यसको पछिल्लो उदाहरण हो ।

आज नेपालीहरु काबुलमा मरिरहँदा पनि बिदेश नजानेहरुको क़बूल सुन्न सकिएको छैन, किनकी हामीमा एउटा ज़हरले भित्र भित्रै प्रभाव जमाईरहेको छ, हाम्रा स्कूल जाने कलिला नानी बाबुहरुलाई ठूलो भएर बिदेश जाने भूत चढिसकेको छ, पलपलमा मरेर बिदेशी भूमिमा कमाएको धनले नेपालमा रचनात्मक काम गर्न सकेको छैन, बिदेशमा खिचिएका सेल्फीहरुले स्वदेशमा मोजमस्तीको आभास भईरहेको छ , मान्छेहरुमा बिकल्प नम्बर एक भनेको बिदेश भएको छ ।

हो ! बिदेशिने कसैलाई रहर हुँदैन तर अहिलेका नयाँ पुस्तामा यो रहर जहर बनेर क्रमश: आफ्नो प्रभाव जमाईरहेको छ, हामी छिमेकीले ल्याएको रेमिट्यान्स देखेर भित्र भित्रै डाह गरि आफूलाई हीनताबोध गरिरहेका छौ र आफ्ना छोरा छोरीलाई कुनै न कुनै बहानामा बहिर्गमन गरिरहेका छौँ ।
हामीलाई अचेल लाज लाग्न छाडेको छ ।

मृत्युको मुखमा हामी जानाजान परिरहेका छौँ, अर्थात अभावको जिन्दगी जिउनु भन्दा हामी अत्यासको जिन्दगी जिउन राज़ी छौँ , त्यसैले हामी हाम्रा मुटुका टुक्राहरुलाई क्रमश: आफैबाट छुट्याउने धृष्टता आफै गरिरहेका छौँ, केहि जानेर त केहि नजानेरै ।

काबुल घटना पछि नेपाल सरकारले पहिलो पटक निकै तदारुकताका साथ आफ्नै बिमानमा दिवंगत दाजुभाइको पार्थिव शरीर ल्याउने र घर फर्कन चाहनेलाई एअर लिफ़्ट दिने कुराले देशमा सरकार भएको अनुभूति भएको छ, जे हुनु भई नै सक्यो तर अब त्यस्ता घटना नदोहोरिन दिन सरकार चनाखो भई कमसेकम असुरक्षित देशमा नेपाली दाजुभाइ नजाने वातावरण बनाईदिए फेरि यस्ता हृदय विदारक घटना सुन्नुपर्ने थिएन । अझै पनि हामी अरुको भूमि काबुलमा नमर्ने क़बूल गर्ने एउटै उपाय बैदेशिक रोज़गार प्रतिको मोहभंग मात्रै हो । यो कारुणिक घटना पनि बिर्सेर फेरि काबुल अर्थात (जुनसुकै देश )जाने कबोल गर्यौ भने हामी पल पल मर्ने छौ, हाम्रा आफन्त पल पल तड्पने छन् ।

तर यो प्रबृर्ति रोक्न बिदेश नजाऊ भनेर मात्रै पुग्दैन, सरकारले देश भित्र त्यस्ता संभावनाहरु पहिल्याउन सक्नुपर्छ जसले जस्तो सुकै बैदेशिक पलायनलाई रोक्न सकोस् । युवाहरु निर्यात गरेर देशमा समृद्दिको गफ हाँक्दैमा त के नै होला र ? काबुल घटनाका सबै मृतक दाजुभाइका शोक सन्तप्त परिवारमा हार्दिक समवेदना तथा मृतकका आत्माहरुको चीर शान्तिको कामना ।

सबै खाले आतंकवादको बिरोध गरौँ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...