Thursday, June 9, 2016

पीडितको सुरक्षा सुनिश्चित गरिनुपर्ने

काठमाडौँ, २७ जेठ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग एवम् सत्य निरूपण तथा मेलमिलाप आयोगले आह्वान गरेको उजुरी दर्ताका क्रममा विभिन्न धाकधम्की आउने गरेको भन्दै पीडितहरुले आफूहरुलाई संरक्षण दिइनुपर्ने माग गरेको छ ।

आयोगले सुरु गरेको उजुरी दर्ता प्रक्रियाको वैशाख २८ देखि जेठ २१ गतेसम्म गरिएको अनुगमनको प्रतिवेदन द्वन्द्वपीडित साझा चौतारीले यहाँ आज पत्रकारसामु सार्वजनिक गर्दै अनुगमन गरिएका अधिकांश जिल्लामा द्वन्द्वपीडितलाई प्रत्यक्ष तथा अप्रत्यक्ष धाकधम्की दिइएको र सुरक्षा त्रास रहेको गुनासो पाइएको बताएको छ ।

प्रतिवेदनमा भनिएको छ – ‘धाकधम्कीले पीडितलाई मात्र असर पार्दैन, धाकधम्की बेहोरेका स्थानीय शान्ति समितिको सचिवालयमा काम गर्नेहरूले पनि सुरक्षित महसुस गर्दैनन् । आयोगहरूले पीडित र स्थानीय शान्ति समितिका कर्मचारीको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।’

साझा चौतारीले उजुरी दर्ताको म्याद थप गर्न, प्रक्रियाको प्रयोजनबारे स्पष्टता गर्न, अतिरिक्त÷पूरक सूचना उपलब्धि गराउने सम्भाव्यता, घुम्ती टोली वा एकाइको व्यवस्था गर्न, भाषा अनुवादको व्यवस्था गर्न र पीडित र साक्षीलाई मनो–सामाजिक सहयोग गर्न सुझाव दिएको छ ।

चौतारीका अध्यक्ष सुमन अधिकारीले अनुगमनका क्रममा द्वन्द्वपीडितलाई उजुरी किन आह्वान गरिएको हो र उक्त उजुरीमाथि आयोगले के गर्नेछन् भन्ने बारेमा पर्याप्त जानकारी नभएको पाइएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...