Saturday, July 30, 2016

चिनियाँ टिभी सिरियल ‘सि यउ चि’ को प्रसारण सुरु

काठमाडौँ, १५ साउन । लोकप्रिय चिनियाँँ टिभी सिरियल ‘सि यउ चि’ (पश्चिमतिरको यात्रा) नेपाली भाषामा अनुवाद र डबिङ भई नेपालमण्डल टेलिभिजनबाट शुक्रबारदेखि प्रसारण सुरु भएको छ ।

प्रसिद्ध बौद्ध चिनियाँ भिक्षु स्यीयान चङ (हुएन साङ) चीनबाट भारत आई बौद्ध ग्रन्थ लिएर गएको घटनालाई मुख्य कथावस्तु बनाई करिब ५०० वर्ष अघि चिनियाँ उपन्याशकार ऊ छङ्एनले लेख्नुभएको शास्त्रीय उपन्याश ‘सि यउ चि’मा यो सिरियल आधारित छ र यसमा केही दन्त्यकथा र काल्पनिक घटना पनि जोडिएका छन् ।

यो टिभी सिरियल चीनमा मात्र विभिन्न टिभी स्टेसनबाट तीन हजार पटकभन्दा बढी प्रसारण भइसकेको बताइएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अरनिको समाजको संयोजकत्वमा नेपाली भाषामा अनुवाद र डबिङको कार्य सम्पन्न गरिएको समाजका अध्यक्ष डा सर्बोत्तम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यो सिरियल प्रसारणका प्रतिलिपि अधिकार सिसिटिभीसँग मात्र रहेको र अन्य नेपाली टेलिभिजनबाट प्रसारण अनुमतिका लागि आएको आग्रहलाई उक्त चिनियाँ टिभी कम्पनीसामु पु-याइदिने वचनबद्धता प्रकट गर्नुभयो ।

डबिङ कार्यमा सघाउनुहुने वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले चिनियाँ भाषाको ज्ञान विना नै यो योजनामा हात हाल्न पुगेर ठूलै कठिनाइको सामना गर्नुपरेको भए पनि सबैको उदार सहयोगबाट नेपालीमा डबिङ गर्ने कार्य सम्पन्न गर्न सकेको अनुभव सुनाउनुभयो ।

प्रसिद्ध डबिङ कलाकार अञ्जु देउजा र रघु गौतमले यसमा स्वर दिनुभएको छ । सिरियलका नायक वानरराजको डबिङ जनावरको स्वर निकाल्न सक्ने कलाकार उमेश मायालुले गर्नुभएको छ । श्रीराज कृष्ण श्रेष्ठले डबिङ र मिक्सिङको काम गर्नुभएको छ ।

यो सिरियल नेपाल मण्डल टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ९ बजे प्रसारण गरिने र शनिबार बेलुकी ८ः३० बजे त्यसैको पुनःप्रसारण गरिने छ । सन् १९८६ मा निर्मित २५ भागको यो सिरियल नेपालमा भने ५० भाग बनाई प्रसारण गरिने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...