रत्ननगर चितवन १५ श्रावण ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नंं ७ स्थित ढोकुन थार्वालिङ्ग बौद्ध गुम्बाद्वारा रत्ननगर नगरपालिका, जयमङ्गला स्थित श्रीराम वैदिक संस्कृत गुरुकुलम्लाई आज सहयोग गरिएको छ । सो गुरुकुलमा मुठी दानबाट संकलित खाद्यान्नबाट सो गुरुकुलम्मा अध्ययन गर्ने विद्यार्थीलाई भोजनको व्यवस्था भएको थाहा पाई गुम्बाको तर्फबाट ५ बोरा चामल सहयोग गरिएको हो । “हामी ओमकार परिवार” नामक संस्थाको समन्वय र अष्ट्रेलिया निवासी अनुप्रभा तिवारीको सहयोगमा सो सहयोगमा गुरुकुलम्लाई चामल सहयोग गरिएको हो । गुम्बामा आयोजित हस्तान्तरण कार्यक्रममा लामा गुरुहरु र गुरुकुलम्का ब्राह्मणहरुले वेद र पुराणका पाठ गर्नुका साथै विश्व शान्ति, स्वस्ती शान्तिको समेत कामना गर्दै पाठ गरेका थिए । कार्यक्रममा लामा गुरुले गुरुकुलम्का पण्डित एवम् विद्यार्थीहरुलाई सो चामल हस्तान्तरण गरेका थिए ।
४६ जना विद्यार्थी आवासीय रुपमा अध्ययनरत गुरुकुलम्मा ६ कक्षा देखि १० कक्षासम्मको अध्यापन गराईन्छ । वेद, कर्मकाण्ड, व्याकरण, भाषा साहित्य, आधुनिक विषयहरु समेत पढाई हुने गुरुकुलम्मा कुनै पनि दिगो आम्दानीको श्रोत नरहेको गुरुकुलम्का सह–प्राचार्य रामकृष्ण दुवाडीले जानकारी दिए । गुरुकुलम्मा आजीवन सदस्यता शुल्क अक्षय कोष, मुठी दान र विभिन्न पर्व तथा जन्मोत्सवहरुमा सहयोगी दाताबाट भोजन गराइने गरिएको र गुरुकुलम्लाई सहयोग गर्न दाताहरुलाई अनुरोध समेत गरिएको दुवाडीले बताए । २०६४ सालमा स्थापना भएको सो गुरुकुलम्मा मुठी दानबाट संकलित चामल दिन पाउँदा खुशी लागेको गुम्बाका अध्यक्ष कमल कुमार लामाले बताए । हिन्दु, बौद्ध, किरात, शिख, जैन, झाक्री सबै ओमकार परिवारको रहेको र सबै धर्मप्रति हामीले माया, सद्भाव गर्नुपर्छ भन्ने उद्देश्यका साथ गुरुकुलम्लाई सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गर्ने लक्ष्य रहेको हामी ओमकार परिवार नामक संस्थाका अध्यक्ष मोहन लामाले बताए ।
No comments:
Post a Comment